भैरहवा, मंसिर १५ ।
रुपन्देहीको भैरहवामा जारी १२औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको दुई खेलमा शान्ति नमूना मावि र मणिमुकुन्द सेकन्डरी स्कूल विजयी भएका छन् । शान्ति नमूनाले लुम्बिनी वल्र्ड स्कूलमाथि ९ विकेट र मणिमुकुन्दले श्री शतिया इङ्गलिस बोर्डिङ स्कूलमाथि १० विकेटको जित दर्ज गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी वल्र्डले निर्धारित २० ओभरमा १९ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७७ रन बनायो । उसका लागि अजान जय मक्काले ३२ र अनभेष रौनियारले १० रन बनाउनु बाहके अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न शान्ति नमूनाका रुद्रान्श भट्टराईले ४, नितिषकुमार ठाकुर र सफल पाठकले २–२ तथा प्रमोद न्यौपाने र दिवस अर्यालले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको शान्ति नमूनाले ११ ओभर ३ बलमा १ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा रुद्रान्श भट्टराईले अविजित ४१ र सुशान्त सुवेदीले नटआउट २० रन बनाए । बलिङमा लुम्बिनी वल्र्डका करण पोखरेलले १ विकेट लिए । खेलमा शान्ति नमूनाका रुद्रान्श भट्टराई प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
यस्तै, अर्को खेलमा टस जितेर ब्याटिङ गरेको शतिया स्कूल १० ओभर ३ बलमा अलआउट हुँदै ५२ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न मणिमुकुन्दका अर्पण तिमिल्सिनाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुगम केसीले ३ र मिलन चापागाईंले १ विकेट हात पारे । शतिया स्कूलका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
५३ रनको सामान्य लक्ष्य पछ्याएको मणिमुकन्दले ५ ओभर २ बलमा लक्ष्य भेट्टाउँदै जित निकाल्यो । उसको जितमा अर्पण तिमिल्सिनाले अविजित १८ र विराट नेपालीले नटआउट १४ रनको योगदान गरे । खेलमा मणिमुकुन्दका अर्पण प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स भैरहवाले प्रायोजन गरेको छ ।

