महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनारले दिएको सन्देश

मनु वि.क
महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनार नेपालको राजधानी काठमाण्डौमा यही मंसीर ११ –१३ अर्थात नोभेम्बर २७–२९ सम्म सम्पन्न भयो । नेपालमा जेनजी विद्रोहको कारण सेमिनार सम्पन्न हुन सक्दैन कि भन्ने आशंकाहरु थिए तर संसारभरका महिलाहरुले नेपालमा नै गर्ने निधो गरी यो सेमिनार नेपालमा आयोजना गरिएको थियो । सेमिनारमा नेपाल सहित विश्वभरिका पुँजीवाद,साम्राज्यवाद तथा फासिवाद विरोधी महिलाहरुको उपस्थिति रहेको थियो । यो सेमिनारमा महिला आन्दोलनको विषय ,संसारभरमा देखिएको विचारधारात्मक ह्रास, समाजवादी आन्दोलन, महिला आन्दोलन तथा नारीवादी आन्दोलन,साम्राज्यवादी उत्पीडनको विषय, युद्ध, शान्ति, युद्धले विश्वभरिका महिला बालबालिकाहरुलाई पारेको नकरात्मक प्रभाव, विश्वमा देखिएको साम्राज्यवादी होड, पर्यावरण विनास, संसारभरि फैलिएको जेनजी विद्रोह र यसको असर ,प्लाष्टिकजन्य पदार्थहरुको उत्पादनले मानव स्वास्थमा पारेको प्रभाव, साम्राज्यवादी उत्पादनले स्थानीय विउ विजनमा पारेको प्रभाव, इस्लामिक धार्मिक अतिवादका कारण महिलाहरुले भोग्नु परेका उत्पीडन ,महिला स्वतन्त्रता,न्याय समानता र मानवताका पक्षमा जोडदार रुपमा आवाजहरु उठे । साम्राज्यवादी फाँसीवादको विरुद्धमा संसारभरका जुनसुकै स्थानमा रहे पनि एकताबद्ध भएर संघर्ष संचालन गर्नु पर्ने कुरामा सहभागीहरुको जोड रहेको थियो ।
सेमिनारमा संसारभरिका विभिन्न देशका महिलाहरुले महिला मुक्ति र मानवताको रक्षाकोलागि संघर्ष केन्द्रित गर्नु पर्नेकुरामा जोड दिइएको थियो । सेमिनारमा साम्राज्यवादी उत्पीडन ,पितृसत्ता,धार्मिक कट्टरता,अन्धविश्वास, लगायतका विषयहरु महिला उत्पीडनको कारण भएको बारे छलफल भएको थियो । महिलाहरुले राजनैतिक अधिकार, न्याय, समानता तथा स्वतन्त्रता पाएका भनिएका मुलुकहरुमा पनि महिलामाथि हुने गरेका उत्पीडनको अन्त्य हुन नसकेको,महिलाहरु दोस्रो दर्जाको रुपमा काम गरिररहनु परेको, महिलाहरुमाथि दोहोरो, तेहेरो जिम्मेवारी बहन गर्नु परेको विषयमा आवाजहरु उठेका थिए । संसारभरि महिला हिंसा,महिला हत्या,महिलामाथिका ज्यादतीमा कमी नआएको विषयमा महिलाहरुले एक एक गरी आफ्ना प्रतिवेदनहरु प्रश्तुत गरेका थिए ।एक्लै संघर्ष गरेर पुँजीवाद तथा साम्राज्यवादी उत्पीडनका विरुद्धमा संघर्ष गर्न गाह्रो छ । त्यसकारण संसारभरिका शोषित पीडित, उत्पीडितहरु सैद्धान्तिक रुपमा स्पष्ट हुँदै संघर्षलाई अगाडि बढाउनु पर्नेमा जोड दिइएको थियो ।

सैद्धान्तिक सेमिनार भएकोले विभिन्न देशबाट आउनुभएका अतिथिहरुले आ–आफ्नो अवधारणाहरु एक एक गरी प्रश्तुत गरिएको थियो । प्रश्तुत अवधारणाहरुमाथि सहभागीहरुको तर्फबाट आ–आफ्नो सुझावहरु राखिएको थियो । सहभागी देशहरुबाट आ–आफ्नो देशको वैचारिक राजनैतिक संघर्ष ,अधिकार र जारी संघर्षबारे जानकारी गराइएको थियो । नेपालको राजनैतिक आन्दोलन ,अधिकारप्राप्तिको आन्दोलनमा महिलाहरुले खेलेको उच्चस्तरको भूमिकाको बारेमा नेतृत्वहरुबाट जानकारी गराउने काम भएको थियो । सहभागी देशका महिलाहरु राजनैतिक आन्दोलनमा महिलाहरुले खेलेको भूमिका बारेमा जानकारी हासिल गर्न र यहाँको आन्दोलनबाट आफूहरुले पनि शिक्षा लिन आतुर रहेको कुरा बताउनु भएको थियो । नेपाली महिला नेतृत्वहरुबाट नेपालको साम्राज्यवाद तथा विस्तारवाद विरुद्धको आन्दोलन,लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा महिलाहरुले पु¥याएको अतुलनीय योगदानको बारेमा जानकारी दिने काम भएको थियो । त्यस्तै गरी विभिन्न देशहरुको जारी र विगतमा भएका आन्दोलनहरुको बारेमा जानकारी गराउने काम भएको थियो । नेपाली महिलाहरुले यो सेमिनारको अवसरमा संसारभरिमा कसरी आन्दोलन चलेको छ भन्ने विषयमा, महिलाहरु कसरी संगठित हुँदैछन् भन्ने बारेमा जान्ने मौका प्राप्त भएको थियो । संसारभरि नै साम्राज्यवादीहरुले प्राकृतिक साधन स्रोतको अत्यधिक दोहन गरेको ,विभिन्न देशहरुलाई राजनैतिक रुपमा आफ्नो इशारामा चल्ने बनाएको विषयमा जानकारी प्राप्त भएको छ । यो सेमिनारले संसारभरि नै जहाँ जहाँ छरिएर रहेको भए पनि साम्राज्यवादी, पुँजीवादी तथा फाँसीवादी उत्पीडनको अनुभूति एकै भएको,महिलाहरु संसारको जुन कुनामा रहेको भए पनि समस्याहरु एकै प्रकारको रहेको बारेमा जानकारी हासिल गराएको छ ।

सेमिनारले सैद्धान्तिक ज्ञान विना कुनै पनि प्रकारको उत्पीडनको विरुद्धमा सशक्त आन्दोलन गर्न नसकिने विषयमा धारणाहरु स्पष्ट पार्न मद्दत गरेको छ । सेमिनारमा पुँजीवादले गरेको प्राकृतिक साधन स्रोतको अत्यधिक दोहनले पृथ्वी रित्तो हुँदै गएको, स्थानीय साधन स्रोत र ज्ञानको लोप हुँदै गएको,जलवायु परिवर्तनको असर जताततै पर्न थालेको,हिमालहरु काला पत्थरमा परिणत हुँदै गएको ,जलवायु परिवर्तनको कारण संसारभर मौसमी तथा वेमौसमी प्राकृतिक प्रकोपको वृद्धि हुँदै गएको,प्राकृतिक प्रकोपको कारण सम्बन्धित स्थानका स्थानीयहरुको वस्ती नै जोखिममा पर्न गएको जस्ता विषयहरुको बारेमा जानकारी हासिल गर्ने काम भएको छ ।

इश्लामिक राज्यहरुमा महिलाहरुले सामान्य अधिकारहरु पनि प्राप्त गर्न नसकेको कुरा जानकारी प्राप्त भयो । अफगानिस्तानमा तालिवानले महिलाहरुलाई पढ्न लेख्न र बोल्न नदिएको कुरा, सिरियामा महिलाहरुले जारी राखेको संघर्षको कुरा, इरानमा महिलाहरुमाथि भएको उत्पीडनको कुरा तथा हाल इजरायली आक्रमणमा प्यालेष्टाइनी महिला तथा बालबालिकाहरुले मारिनु परेको कुरा र महिला तथा बालबालिकाले भोग्नु परेका निकै पीडादायी कथाहरुको बारेमा एकै थलोमा जानकारी हासिल भयो ।नेपालमा अहिले सैद्धान्तिक ह्रास भइरहेको छ ।क्रान्तिकारी विचार,दर्शन र राजनीतिको केही अर्थ छैन भन्दै नेतृत्वहरु मनलागी गर्दै चुनाव केन्द्रित हुँदै कुदिरहेको अवस्था छ । संविधानले प्रदान गरेका महिला अधिकारहरु, राजनैतिक अधिकारहरु खोसिँदै गएका छन् । अधिकारहरु संरक्षण गर्न र थप अधिकारहरुको प्राप्तिको संघर्ष संसदमा गएर टुङ्गिएको छ । ठूलो पार्टी कसरी बन्ने भन्ने ध्याउन्नमा राजनैतिक पार्टीहरु लागेका छन् । देशमा क्रियाशील महिला संगठनहरु पनि त्यसै विचारको पछि लागिरहनु परेको छ ।

यो अवस्थामा सेमिनारले महिला अधिकारको कुरा मात्रै होइन राजनैतिक अधिकार प्राप्तिकोलागि सैद्धान्तिक ज्ञान दिएको छ । पुँजीवादी तथा साम्राज्यवादी उत्पीडनको विरुद्धमा संसारभरमा आवाजहरु उठ्दैछन् भन्ने सिकाएको छ । महिलाहरु बिना कुनै पनि आन्दोलन र परिवर्तन सम्भव छैन त्यसकारण महिलाहरु राजनैतिक तथा सैद्धान्तिक रुपमा स्पष्ट हुनु पर्दछ भन्ने कुरा सिकाएको छ ।सैद्धान्तिक सेमिनारमा महिलाहरु संसारभरमा आफ्नो आफ्नो खर्चमा आफ्नो आफ्नो सहयोगमा सहभागी भएका थिए । सेमिनारलाई कुनै पनि दाताहरुको सहयोगमा सम्पन्न गरिएको थिएन । यो सेमिनारमा महिलाहरुले खुला दिलले समय,खर्चको व्यवस्थापन गरेर सहभागी हुन सक्नु चाहेमा,अवसर पाएमा जुनसुकै मूल्यमा पनि मानव मुक्तिको आन्दोलनमा अगाडि बढ्न सक्छन् र संसारभरिको मुक्तिकोलागि लामबद्ध बन्न सक्छन् भन्ने हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित