रामसिङ वि.क.
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन नेपाली जनताको हितमा भन्दा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा हुन गइरहेको देखिन्छ । उनीहरु कै इशारामा गठन भएको असंवैधानिक सरकारको मिलोमतोमा आफ्नै पक्षमा निर्वाचन गराउने कोशिश भएको देखिन्छ । त्यसकारण साम्राज्यवादद्वारा संचालित पार्टीहरुलाई आफ्नो अमूल्य भोट खेर नफालौं । अहिले समाजिक संजालमा देश विदेशबाट उफ्रि रहेका मान्छेहरुले सत्य तथ्य बुझ्न जरुरी छ । हतारमा निर्णय गर्ने फुर्सदमा पछुताउने नगरौं । करोडौंको भ्रष्टाचार गरेर देश मैले बनाउछु भनेर भाषण गर्दै हिडेकाहरु अहिले पनि नेपाली जनतालाई गुमराहमा पार्ने योजना हुदै गइरहेको छ । त्यसैले हामी नेपाली जनताहरु सचेत बनांै । यो दलाल संसदीय व्यवस्थाको भण्डाफोर गरौं । कतिपय आफुलाई सच्चा क्रान्तिकारी भन्ने पार्टीहरु दोहोरो चरित्र बोकेर लाज पचाएर जनताको घरघरमा भोट माग्दै हिडेका छन् । जनतालाई झुट्टा आश्वासन दिइरहेका छन् । तीन चार पटक चुनाव जितेर सिन्को सम्म नभाचेकाहरु अहिले हामी पुल बनाउछौं सडक कालोपत्रे गर्छौं ,स्वास्थ्य ,शिक्षा दिन्छु भनेर विकासका अनेक कुराहरु गर्दै तपाईं हामीलाई उल्लु बनाइराखेका छन् ।
पुराना जोगीले केही गरेनन् , हामी देश बनाउछांै भनेर नयाँ जोगी आएका छन् । समाजिक संजालमा विकासका अनेक सपनाहरु बाँडेका छन् । यो दलाल संसदीय व्यवस्था भनेको “जुनजोगी आयो कानै चिरेको”भनेझै यिनीहरुले पनि केही गर्ने छैनन् । यिनीहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको ईसारामा आफ्नो पक्षको सरकार बनाउने बाहेक आम नेपाली जनताको हितको लागि केही गर्ने वाला छैनन् त्यसकारण हामी समय रहदै संचेत बन्नु पर्दछ । बाहिरी होहल्लाको भरमा नलागेर नयाँ जोगीको बाारेमा राम्रोसँग बुझौं । अहिले हामीले बुझ्न सकेनौं भने हाम्रो देश नरहन पनि सक्छ अमेरिकी साम्राज्यवादको वर्षौ देखि नेपाल र नेपाली माथि गिद्दे नजर लगाइ राखेको छ । त्यसलाई कदापि सफल हुन दिनु हुदैन । खासगरी साम्राज्यवादीहरु नेपालका जडिबुटी, नेपालका नदीनाला, नेपालको हिमाल, पहाड, तराईमा आफ्नो लागि उपयोग गर्न चाहन्छ र त्यसको लागि आफ्नो हितमा काम गर्ने व्यक्ति वा राजनीति दल बनाउन चाहेको छ ।साथै केही हदसम्म त्यो कार्यमा सफलता पनि मिलेको छ ।जस्तै भदौ २३ र २४ गते जेनजी आन्दोलन द्वारा गठित सुशीला कार्कीको सरकार निर्माणमा बालेन र रविको भूमिका यसका ताजा उदाहरण हुन् । अहिले बालेन शाह र रवि लामेछानेको धेरै चर्चा चलिरहेको छ । देशव्यापी रुपमा हाम्रो जनलहर बढेको छ । हाम्रो जीत सुनिश्चित छ भनेर रा.स्व.पा. का सभापति रवि लामेछाने हिडिरहेका छन् । उनले पुराना दलहरुले केही गर्न सकेनन् भनेर प्रचार गरिहेका छन् । तर हाम्रो के मत छ भने रा.स्व.पा. कुनै भिजन र मिसन भएको पार्टी हैन । उ सित नत विचार, नत सिद्धान्त , नत दर्शन छ । नत तात्कालीक कार्यनीति छ नत दीर्घकालीन रणनीति छ । त्यसकारण राजनीति अन्योलमा छ रा.स्व.पा. ।शिक्षा ,स्वास्थ्य ,रोजगारी हामी दिन्छौं, नेपाली जनताको आवश्यकतालाई मध्ये नजर गरी आफ्नो दल गठन गरेको बताउने रा.स्व.पा.का नेता रवि लामिछाने आफै करोडौं भ्रष्टाचारमा मुछिएका छन् । सहकारी ठगी प्रकरणमा पटकपटक जेल गएका छन्। रवि लामेछाने अनि करोडौं पैसा धरौटी राखेर रिहा पनि भएका छन् । एउटा आरोप लागेको व्यक्ति यदि सही छ भने करोडौं धरौटी किन राख्नु प¥यो ? यो नेपाली जनताले राम्रोसँग बुझ्न पर्दछ । नेपालका कम्युनिस्ट भनौदाहरु पटकपटक सत्तामा गए तर नेपाल र नेपालीको लागि केही गर्न सकेनन् । बरु कम्युनिस्टको बदनाम गरे ,भ्रष्टाचार गरे, नेपाली जनताको जुन कम्युनिस्ट प्रति भरोसा थियोे त्यो गुम्दै गएको छ । त्यसैले नेपालका कम्युनिस्ट पार्टीहरु नातावाद कृपावादमा रुमलिएर पटकपटक चुनाव हुँदा नेपाली जनताहरुलाई झुटा आश्वासन बाँडेका हुन् । अहिले पनि त्यही खेल भई रहेका छन । खास गरी प्रवासी नेपालीहरुलाई सधैं धोका दिँदै आएका छन्। हामीले अखिल भारत नेपाली एकता समाजको तर्फबाट धेरै चोटी प्रवासी नेपालीहरुलाई मताधिकार दिनु पर्दछ ,लाखौंको संख्यामा रहेका प्रवासीहरुलाई आफ्नो अधिकार बाट बन्चित गराउन हुँदैन भनेर ज्ञापनपत्र बुझाएका छौं प्रवासी नेपालीहरुलाई नेपालको चुनावमा भोट दिने अधिकार दिनु पर्छ । प्रवासमा बसेर आफ्नो प्रतिनिधि चुन्ने अधिकार दिनु पर्दछ भन्दै आएका छांै । तर अहिलेसम्म कुनै सरकारले पहल सम्म नगरी प्रवासी नेपालीहरुलाई अपमान गरेको छ । नेपालको अर्थतन्त्रमा प्रवासी नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको छ तर प्रवासी नेपालीहरुको लागि नेपाल सरकारले अहिलेसम्म केही गरेको छैन । खासगरी भारतमा नोकरी गर्दै आएका नेपालीहरुको पीडा बारे यो सानो लेखमा समेट्न सकिँदैन तर पनि भारतमा नोकरी गरी बसेकाहरुको जिन्दगी धेरै कष्टपूर्ण छ । कुनै नेपालीको मृत्यु हुन्छ भने लास जलाउन कानुनी प्रक्रिया पूरा गर्न धेरै अप्ठ्यारो छ । पुलिस प्रसाशनले नेपाली हो भन्ने थाहा भयो भने अनेक कुरा गर्छ ,अपमान गर्छ। किन भने नेपालमा नेपाली जनताको लागि काम गर्ने सरकार छैन । आफ्नै नातागोताको लागि मात्र सरकार छ । अहिले भारत सरकारले विदेशी भगाउ भन्ने अभियान चलाएको छ भोटर आइडि भयो भने तिम्रो बुबाको भोटर आइडि देखाउ भनेर सोधपुछ गरेको छ तिमीले भारतीय नागरिकता ( भारतीय सिटिजनसिप ) किन लागू गरेनौं भनेर सोधेको छ । दोस्रो कुरा नेपालीहरुका छोराछोरीहरु भारतमै जन्म भएर यतै पढाइ लेखाइ गरेपछि नोकरीको लागि पुलिस स्टेसनमा केही डकुमेन्ट प्रमाणित गर्नु पर्दछ भने पुलिसहरुले तिम्रो आमा बुबाहरु नेपाली भएकोले तिमीलाई नोकरीको लागि गरिने जाचबुज पेपर हामी गर्दैनौ भनेर रोक लगाएको छ । जबकि नेपाली भएपनि भारतमै जन्मेको र शिक्षा दिक्षा लिएको, भारतमा पढेको बच्चाहरुले नोकरी गर्न समस्या छ भने हामी नेपालमा जन्मेर रोजगारी गर्न आएका मान्छेको के हालत होला? आफै अनुमान लगाउन सकिन्छ । आधार कार्ड बिना केही पनि काम गर्न सकिँदैन । स्वास्थ्य चेकजाँच गर्न ,बच्चा स्कुल भर्ना गर्न , रेल वा हवाई जहाजको टिकट लिन बैंक खाना खोल्न मान्छेको मृत्यु हुदा सबै ठाउँमा आधार कार्ड बिना केही काम हुदैन । हामीले धेरै चोटी नेपाल सरकारसित प्रवास नेपालीका पीडाहरु पोख्दै आएका छांै । कहिले भारतमा रहेको नेपाली राजदूतवास मार्फत ज्ञापनपत्र दिने कहिले नेपालमै गएर प्रधानमन्त्री परराष्ट्रमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका छौं तर हामीलाई खाली अवसान बाहेक केही मिलेको छैन ।
आगामी २०८२ फागुन २१ गते आम निर्वाचन हुदैछ त्यसमा प्रवासी नेपालीहरुले प्रवासबाट भोट हाल्न पाउने छैन । अहिलेको निर्वाचन संविधान अनुसार भन्दा पनि जेनजी आन्दोलनको नाममा असंवैधानिक सुशीला कार्कीको नेतुत्वमा रहेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा चुनाव हँुदैछ । त्यसमा नक्कली कम्युनिस्टहरु सत्तामा जानकोलागि आतुर भएकाछन् । भने अर्को तिर अमेरिकी साम्राज्यवादद्वारा संचालित पार्टी पनि मरिहत्ते गरिरहेका छ । हाम्रो के मत छ भने यो दलाल संसदीय व्यवस्थाले नेपाली जनताका आधारभूत समस्या समाधान हुनेवाला छैन । त्यसकारण त्यसको ठाउँमा स्वाधीन सयुक्त जनसरकार गठन गरी त्यसको नेतृत्वमा जनसंविधान निर्माण गरेर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने हाम्रो तात्कालीन योजना भएकोले क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत ६ वटा पार्टी मिलेर यो चुनावको बहिष्कार गर्ने निर्णय गरेका छन् । यो दलाल संसदीय व्यवस्थाको भन्डाफोर गरौं जनसंविधान निर्माणको दिशामा अगाडि बढौं । आदरणीय आमाबुबा, दाजुभाइ ,दिदीबहिनीहरुमा हामी प्रदेशी श्रमजीवी नेपाली नागरिकको तर्फबाट यही नै अनुरोध छ ।
निर्वाचन बारे प्रवासीको अनुरोध
Comments

