फागुन २१ को चुनावले देश, जनता र आदिवासी जनजाति लगायत कसैको हित गर्दैन

काठमाण्डौ । अखिल नेपाल आदिवासी जनजाति महासंघले फागुन २१को चुनावले देश, जनता र आदिवासी जनजाति लगायत कसैको हित नगर्ने बताएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पवनमान श्रेष्ठले २०८२ फागुन १८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा फागुन २१ को चुनाव प्रिफिक्स म्याच जस्तै भएको बताइएको छ र निर्वाचन बहिस्कार गर्न सबैमा अनुरोध गरिएको छ । वक्तव्यको पूण पाठ यसप्रकार छ –
फागुण २१ मा हुन गइरहेको चुनावप्रति हाम्रो महासंघको धारणा पुनः सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
संसदीय व्यवस्थाका नेता, कार्यकर्ता र मुख्यतः सरकारको स्वच्छाचारीता, निरंकुशता, भ्रष्टाचार, देशघाती तथा जनघाती गतिविधि, नीति आदिले संसदीय व्यवस्था असफल भएको थियो । जनतामा यसप्रतिको चर्को आक्रोस बढिरहेको वेला अमेरिकी साम्राज्यवादको योजनामा जेन्जी आन्दोलनको कलेबरमा सच्चा तथा इमान्दार जेनजीहरु सडकमा उतार्ने काम भयो । यसमा गरिएको घुसपैठद्वारा गोली चलाउन लगाउने र सोझा तथा इमान्दार जेन्जीहरुको हत्या तथा देशमा आगजनी गरी अन्योल अवस्था सिर्जना गरेर अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको सहमतिमा बनेको शुशिला कार्कीको कठपुतली सरकारद्वारा फागुण २१ गतेका लागि संसदीय चुनाव घोषणा गरिएको हो । चुनावद्वारा पुनः साम्राज्यवाद र विस्तारवादको कृपा प्राप्त दलहरु अगाडि ल्याई जनअनुमोदित सरकारको नाममा देशको स्वाधीनतामाथि झन् ठुलठुला घात गरिने निश्चित छ । यसका लागि रवि, वालेन र कुलमानलाई एकै ठाउँमा ल्याएको कुराले स्पष्ट हुन्छ । यद्यपि कुलमान त्यहाँबाट पछि बाहिरियो । यसका साथै चुनावको मुखैमा पश्चिमाहरुबाट परिचालित नेपाली काँग्रेसका महामन्त्रीहरुको समुहद्वारा विशेष महाधिवेशन गरिएर गगन थापालाई सभापति बनाइएको र निर्वाचन आयोगद्वारा पनि काँग्रेसको आधिकारिकता सोही समुहलाई दिइएको छ । यसका विरुद्ध देउवा समुहद्वारा सर्वाेच्च अदालतमा दिइएको मुद्दाको अन्तरिम आदेश दिन अस्वीकार गरी गगन थापा नै सर्वोच्चद्वारा साथ दिइएको छ ।
लगभग हारजीत टुंगो लागिसकेको र जनताले जोसुकैलाई भोट दिएतापनि कसलाई जिताउने टुंगो लागिसकेको यो फागुण २१ को निर्वाचन (प्रिफिक्स म्याच जस्तै हो) को कुनै औचित्य छैन । यसले देश, जनता र आदिवासी जनजातिलगायत कसैको पनि समस्या हल गर्ने छैन । झन् गंभीर समस्याहरु थपिने छन् । त्यसैले हाम्रो अखिल नेपाल आदिवासी जनजाति महासंघ फागुण २१ को निर्वाचन वहिष्कार गर्न सबैमा अपील गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित