काठमाडौँ । केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार आन्दोलनमा सहयोग गर्ने र सहभागी हुने जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। २०८२ फागुन २७ गते बसेको केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठक पछि सङ्घर्ष समितिका संयोजक सीपी गजुरेलले फागुन २८ गते जारी गर्नुभएको वक्तव्य मार्फत धन्यवाद ज्ञापन गरिएको हो। वक्तव्य यस प्रकार छ –
“ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठक मिति २०८२फागुन २७ गते संयोजक कमरेड सीपी गजुरेल को अध्यक्षतामा बस्यो।
१. बैठकले केन्द्रीय संयुक्त सङ्घर्ष समितिले सञ्चालन गरेको बहिष्कारआन्दोलनको समीक्षा गर्दै बहिष्कार आन्दोलनमा सहयोग गर्ने र सहभागी हुने जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्यो। यसैगरी संयुक्त मोर्चालाई अझै सुदृढ र व्यापक बनाउँदै लैजान छलफल अगाडि बढाउने निर्णय गर्यो।
२. बैठकले, १. पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन र मूल्य वृद्धि रोक्न ,२. खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षाको तुरुन्त पहल गर्न, ३. बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनीसा बि.क.का हत्याराहरूलाई तुरुन्त कडाइइका साथ कारबाहीको दायरामा ल्याउन,४.भाद्र २३ र २४ गतेको प्रकरणको जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न राज्यसँग जोडदार माग गरेको छ।”

