– गिरिधाल बस्नेत , सचिवालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति सल्यान
० फागुन २१ गतेकोको निर्वाचन भन्दा पहिले तपाईँलाई प्रहरीले गिरफ्तार गरेको थियो , कहिले कहाँबाट गिरफ्तार गरेको थियो ?
–प्रहरी टोलीले फागुन १२ गते सल्यान जिल्लाको नगरपालिका वडा नम्बर १० को मुखला भन्ने ठाउँबाट मलाई गिरफ्तार गरिएको थियो। म सदरमुकामबाट घरतिर फर्कँदै थिएँ। म घर पुग्न करिब ७ मिनेट मात्र बाँकी रहँदा मलाई गिरफ्तार गरिएको थियो ।
० तपाईँलाई के भनेर उनीहरुले गिरफ्तार गरेका थिए ?
–तपाईँसँग कुरा गर्नु छ , हाम्रो अफिस जिल्ला प्रहरी कार्यालयमा जाउँ भने । मलाई सदरमुकाममा डीएसपी साहबले बोलाउनु भएको छ भन्थे । के डिएसपी साहबले बोलाउनु भएको छ भन्नुहुन्छ गिरफ्तार गर्न आएका हौं भन्नु न मैले भने ।
०जिल्ला प्रहरी कार्यालयमा पुर्याएपछि तपाईँलाई के भने ?
–जिल्ला प्रहरी कार्यालयमा पुर्याएपछि तपाईँमाथि यो निर्वाचन बिथोल्न सकिने शंका भएकाले हामीले गिरफ्तार गरेका हौं भने। प्रतिबन्ध कालमा ममाथि दुईवटा मुद्दाहरू थिए। एउटा बम बम विस्फोट गराएको मुद्दा र अर्को मानहानिको मुद्दा। मुद्दा फैसला भइसकेका र टुङ्गो लगाइसकेका मुद्दा थिए। तैपनि ती पुराना मुद्दा हेरेर तपाईंमाथि फेरि शंका उब्जियो र हामीले तपाईंलाई गिरफ्तार तपाईंलाई बोलाउनु परेको हो
० जिल्ला प्रहरी कार्यालयको हिरासतमा अरु के कस्ता मान्छेहरुसँग तपाईंको भेट भयो ?
हिरासतमा थरिथरिका मान्छेहरू थिए। एकजना जुद्धसिंह थिए। उनले स्वतन्त्र उम्मेदवार पनि बनेका थिए तर उनले विभिन्न राजनीतिक दलहरूको झण्डा जलाएको अभियोगमा थिए। चोरी डकैती ठगी विभिन्न खालका अभियोगमा हिरासत परेका मान्छेहरु थिए ती मान्छेहरुसँग राजनीतिक छलफल पनि गरियो
० कहिले रिहा हुनुभयो त ?
– मलाई फा२२ – २३ गतेसम्म नै राख्ने सोचाई बनाएको थियो। तर हाम्रै साथीभाइहरु, पार्टीका साथीहरु पनि सबैको जोडबलले म १७ गते नै रिहा भएँ । मलाई ४५ हजार धरौटीमा रिहा गरियो। अहिले पनि तारिख चलिरहेको छ। मलाई झुठा मुद्दा लगाइयो । हाम्रो शान्तिपूर्ण कार्यक्रम हो । कि त यो मुद्दा प्रहरी प्रशासनले टुंगो गर्नु पर्यो कि त अब हामी आन्दोलनमा जानु पर्यो भने पछि चैत्र १५ गतेसम्म मुद्दा फैसला गरिदिन्छौं भनेको छन ।
० फागुन २१ गतेको निर्वाचन त सकियो यसलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मेरो विचारमा यो चुनाव नै होइन । यो चुनावको नाटक मात्र हो । पुँजीवादी व्यवस्थालाई विदेशी शक्ति केन्द्रहरूले यहाँ नेपालमा उनीहरूको पहुँच बढाउनका लागि गरिएको एउटा प्रपञ्च मात्र हो ।
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूलाई अबका दिनमा अगाडि कसरी बढ्नुपर्छ भन्ने बारेमा तपाईंको सल्लाह के छ?
– क्रान्तिकारी आन्दोलनमा सधैंभरि एकनास हुँदैन । कहिले शक्ति कमजोर हुन्छ । कहिले शक्ति बलियो हुन्छ । आन्दोलन उतारचढावपूर्ण तरिकाले अगाडि बढ्दछ। नयाँ युवा पुस्तालाई आकर्षित गर्ने ढंगले क्रान्तिकारीहरुले योजना बनाउनु पर्छ । 000

