सरकार गठनमा विदेशी चलखेल

काठमाडौं । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दल रास्वपाभित्र सरकार गठनको विषयमा तीव्र विवाद बढेर गएको छ । कति जनाको मन्त्री परिषद् बनाउने ? कसले कुन कुन मन्त्रालय जिम्मा लिने ? मन्त्री परिषद् गठनको विषय टुंग्याउन रास्वपाका मुख्य नेताहरु रात दिन बैठकमा केन्द्रित छन् । रास्वपाको विवादमा विदेशी  शक्ति केन्द्रहरुको चलखेल र दबाब बढेको बताइन्छ ।

गत भाद्र २३ र २४ को जेनजी विद्रोहलाई थुप्रै शक्ति केन्द्रहरुले अघोषित रुपमा नेतृत्व गरेको भए पनि मुख्य रुपले अघोषित रुपले पर्दा पछाडिबाट रास्वपाले नेतृत्व गरेको थियो । देशका महत्वपूर्ण प्रशासनिक भवन र ऐतिहासिक दस्तावेजहरु जलाउनमा अगुवाई गरेका भनी सामाजिक संजालमा देखिएका व्यक्तिहरु मध्ये ठूलो संख्यामा रास्वपाका नेता, कार्यकर्ताहरु थिए र ती मध्ये कतिपय अहिले प्रतिनिधिसभामा निर्वाचित भएर आएका छन् ।

अमेरिका र भारतको सहमतिमा बालेन साहलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको बताइन्छ । निर्वाचन अगावै प्रधानमन्त्रीको टुंगो लागेको भएपनि अर्थमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री र गृहमन्त्री जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसलाई दिनेबारे रास्वपामा सहमति जुट्न नसकेको जानकारहरु बताउँछन् । निर्वाचन अगावै स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीका रुपमा प्रचार गरिएको भए पनि भारतको दबाबमा वाग्लेलाई अर्थमन्त्री बनाउन नहुने अडान बालेन साहले राखेको भएपनि अमेरिकी पक्षले जसरी पनि स्वर्णिमलाई अर्थमन्त्रीमा ल्याउन दबाब दिइरहेको बताइन्छ ।

मन्त्री बन्न धेरै आकांक्षी बढेकाले बैठक र भेलाहरुमा पार्टी सभापति रवि लामिछानेले मुखै खोलेर मन्त्री पदको माग गर्न धेरै दुःख नगर्न आग्रह नै गर्नु परेको छ । परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंह, कानुनमन्त्रीमा सोविता गौतम, पर्यटनमन्त्रीमा धनञ्जय रेग्मीले दावी गरेका छन् । संचारमा जगदिश खरेल र मनिष झाले दावी गरेका छन् । सुदन गुरुङले आफू गृहतिरै जान पाए हुन्थ्यो भन्ने इच्छा प्रकट गरेका छन् । यदि त्यसो हुन नसकेमा भौतिक पूर्वाधारसम्म भए पनि चित्त बुझाउने मनसाय प्रकट गरेका छन् । स्वास्थ्य मन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ ।

रास्वपा प्रवेश गरेका बालेनले गत निर्वाचनमा ४० प्रतिशत र रवि लामिछानेले ६० प्रतिशत उम्मेदवार संख्या लिएका थिए । हाल रास्वपाका १२५ प्रत्यक्षबाट र ५७ समानुपातिकबाट जम्मा १८२ सांसद निर्वाचित भएका छन् । बालेनले सपथ लिंदा सांसदभन्दा बाहिरबाट पनि मन्त्री बनाउने छलफल चलेको छ । मन्त्री परिषद् गठन गर्दा रविले १० र बालेनले ८ मन्त्रालय लिनेसम्मको छलफल चलेको छ । तर मन्त्री परिषद् गठन गर्दै जाँदा कति जनाको संख्या पुग्ने हो अहिले नै भन्न सकिन्न । रास्वपा विभिन्न पार्टीमा असन्तुष्ट भएका, पार्टीबाट कार्बाहीमा परेका र फरक –फरक पृष्ठभूमिबाट आएका महत्वाकांक्षीहरुको जमघट भएकाले सरकार गठनमा व्यक्तिगत र गुटगत स्वार्थको टकराव हुने निस्चित छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित