काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाए पछि नेपाली कांग्रेस फुटको दिशामा गएको अड्कल गरिएको छ ।
चैत्र १७ र १८ गते संस्थापन इतर पूर्णबहादुर खडका शेखर कोइराला समूहले काठमाडौं धुम्बाराहीस्थित एक होटेलमा सो बैठक राखेको छ । कार्य समितिका ११४ जनालाई बैठकमा बोलाइएका मध्ये ८२ जना मात्र बैठकमा उपस्थित छन् । सोही होटलमा त्यस समूहले नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुलाई चैत्र १६ गते स्वागत कार्यक्रम राखेको थियो ।
बालेन सरकारले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेको घटनालाई हेर्ने दृष्टिकोणमा फरक परेपछि कांग्रेस भित्र धाँजा चर्किँदै गएको हो ।
संस्थागत पक्ष (गगन–विश्वप्रकाश पक्ष) ले आन्दोलनमा नगएर अदालतको निर्णय पर्खने बताएको छ भने संस्थापन इतर खड्का–कोइराला समूहले लेखकको गिरफ्तारीलाई राजनीतिक र कानुनीरुपमा प्रतिवाद गर्ने बताएको छ ।
विशेष महाधिवेशनसम्म खड्का–कोइराला समूह सानेपाको कार्यालयमा थियो भने गगन विश्वप्रकाश समूह विशेष महाधिवेशनपछिको बैठक समेत कार्यालय बाहिरै बसेका थिए ।
गगन–विश्वप्रकाश सानेपा कार्यालय प्रवेश गरेपछि खडका–कोइराला समूह कार्यालय बाहिर होटलहरुमा बैठक बस्न थालेका छन् ।
खड्का कोइराला समूहले छिटै सम्भवतः (चैत्र १९ गते नै) जिल्ला सभापतिहरुको समेत बैठक बोलाएको छ । खड्का र कोइराला ४ वर्षसम्म पदीय रुपमा को माथि भन्ने विवादले एउटै मञ्चमा बस्दैन थिए । तर अहिले संस्थापन इतर समूह चलाउन दुई सम्बन्ध कसिलो बनेको देखिएको छ ।
उता संस्थापन पक्षले समानान्तर गतिविधि गर्ने नेताहरुलाई कार्वाही गर्ने जनाएको छ । छिट्टै अनुशासन विभागको बैठक राखेर निर्णय लिने जनाएको छ । खडका–कोइराला पक्षले नेपाली कांग्रेसमा यसरी बेग्लै बैठक बस्न पाउने परम्परा भएकाले अनौठो मान्नु पर्दैन भनेका छन् । उनीहरुले विशेष महाधिवेशनमा एउटा पक्ष सहभागी नभएको र अदालतले अन्तिम फैसला पनि नदिएको हुँदा छुट्टै बैठक बस्नु गलत नभएको बताएका छन् । पुनः सम्झौता गरेर पार्टी एक ढिक्का भएर जानेछ वा विभाजनको धाँजा फाट्दै गएर दुईवटा कांग्रेस बन्ने छ ? केही दिन पर्खनु पर्नेछ ।

