अनेकोटको यात्रा (यात्रा संस्मरण)

-धनेश्वर पोख्रेल
चैत्र ५ गते। सांस्कृतिककर्मीहरु सात ज नाको २०५५ सालमा ‘किलो सेरा टु’ नामक राज्यद्वारा संचालन गरिएको नरसंहारकारी अभियान चलाएर अनेकोटमा सेल्टरमा बसिरहेको बेला घेराहाली हत्या गरिएको दिन थियो। जनयुद्ध सुरु भइरहेको बेला सांस्कृतिककर्मीहरुले जनताको चेतना जगाउने उद्देश्यले देशभरनै सांस्कृतिक आन्दोलनलाई घनीभूत बनाइरहेका थिए । पश्चिममा ‘सिस्ने सांस्कृतिक परिवार’, जलजला ‘सांस्कृतिक परिवार’, ‘मगरात सांस्कृतिक परिवार’ पूर्वमा ‘सेनच्याङ सांस्कृतिक परिवार’, केन्द्रमा ‘सामना सांस्कृतिक परिवार’ लगायत दर्जनौं सांस्कृतिक परिवारले गीत, संगीत र गितार मादल, बाँसुरी, सारंगीको माध्यमबाट रुढीग्रस्त पुरानो सांस्कृतिक परम्परा, चिन्तनप्रणाली, वर्गहरुमा देखिएका सामाजिक विभेद तथा राज्यद्वारा गरिब, उत्पीडितवर्गहरुमाथि गरिएको शोषण, दमन र उत्पीडनका विरुद्ध सांस्कृतिक टिमहरुबाट गरिएको शंखघोषले सिंगो मुलुकलाई झकझकाएको थियो । एकातिर माओवादी पार्टी नेतृत्वमा भएका वर्गसंघर्षका घटनाहरुले शासकहरुलाई एकपछि अर्को झापड दिंदै किम कर्तव्य विमुढ बनाइराखेको थियो भने अर्कातिर सांस्कृतिककर्मीहरुको अभियानात्मक आन्दोलनले सिंगो धर्तीलाई उथलपुथल पारिरहेको थियो र त्यो अभियान तीब्र रुपमा अगाडि बढिरहेको थियो । यो अभियानले एकातिर आफ्नो कथित स्वर्गमा लुटको शासन चलाईरहेका शासकहरुलाई करेन्टको झड्का दिइरहेको थियो भने अर्कातिर यसलाई नियन्त्रण गर्ने सवालमा ठूलो चुनौती खडा गरिदिएको थियो । अर्को कुरा यो अभियानले एकातिर जनतामा विद्रोही चेतनाको विकास गराईरहेको थियो भने अर्कोतिर उनीहरुलाई जनयुद्धमा होम्मिन प्रेरित गरिरहेको थियो ।
कलाकर्मीहरुको त्यो अभियानात्मक आन्दोलन राष्ट्रिय मुक्ति तथा वर्गीय मुक्ति आन्दोलनसँग सम्बन्धित थियो । सांस्कृतिककर्मीहरुको त्यो आन्दोलन मालेमावादी विचार, सिद्धान्तबाट निर्देशित भएकाले राजनैतिक र सामाजिक रुपान्तरण तथा आमूल परिवर्तन लक्षित थियो । त्यो आन्दोलन मालेमावाद निर्देशित भएकाले पुरातनको विरुद्ध र नुतन परिलक्षित क्रान्तिकारी आदर्शमा आधारित थियो । कलाकर्मीहरुको यो आन्दोलन केवल रोमाञ्चकारी मात्र नभएर वर्गयुद्धसँग अभिन्न रुपले गाँसिएको रणनैतिक महत्वको आन्दोलन थियो । कलाकारहरुको गीत, संगीतबाट बारुदको धुँवा पुतपुताउँथ्यो भने उनीहरुका मादल, गितार, सारंगी तथा बाँसुरी जस्ता बाद्य वादनहरुबाट बम र बन्दुकको आवाज निस्कन्थ्यो । उनीहरुका नाँच र अभिनयहरुबाट युद्ध मोर्चामा भएको प्रत्यक्ष भीडन्तको झल्को आउँथ्यो । जसले गर्दा दर्शकहरुमा अहिले नै बन्दुक बोकेर युद्धमा हाम फालौं भन्ने भावोत्तेजना पैदा गरिदिन्थ्यो । जनमुक्ति सेनाको युनिफर्म (पोशाक) सहित काँधमा बन्दुक र कम्मरमा चम्किलो खुकुरी भिरेर कलाकारहरु मञ्चमा जोशिलो नाँच देखाउँदा कैयौं युवायुवतीहरु कोही स्कूलको पढाई छोडेर त कैयौं घर धन्दाको काम छोडेर जनमुक्ति सेना र कलाकारमा भर्ती हुन लामबद्ध हुन्थे ।
कलाकारहरुको यो अतुलनीय कला कौशलले शासकहरु आतंकित र भयभित मात्र भएनन् आक्रोशित पनि भए र त्यसका विरुद्ध नृसंस दमनको नीति अख्तियार गरे । यसै सन्दर्भमा उनीहरुले विभिन्न मितिमा काभ्रेको अनेकोट, रोल्पाको गुम्चाल, हार्जङ र भावाङ लगायतका स्थानहरुमा घरमा सेल्टर लिएर बसेका कलाकारमाथि हमला बोले र कतै सामूहिक त कतै एक्लै पारेर दर्जनौं कलाकारहरुको हत्या गर्न पुगे । यो उनीहरुको कायरताको प्रतीक थियो ।
जनसांस्कृतिक महासंघको कार्यालयको बैठक इन्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यालयमा बसेर २८ औं सांस्कृतिक प्रतिरोध दिवस कहाँ मनाउने भन्ने विषयमा छलफल हुँदै थियो । त्यससम्बन्धी सरसल्लाहको लागि सम्बन्धित व्यूरोका इन्चार्ज र सम्बन्धित जिल्ला काभ्रेका इन्चार्जलाई कार्यालयमा अध्यक्षले बोलाउनु भएको रहेछ । यो पंक्तिकार पनि उक्त बैठकमा उपस्थित भएकोले छलफलमा सहभागी थियो । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले कार्यक्रमबारे प्रस्ताव राखेपछि सहभागीहरुबीच छलफल भयो । बैठकमा अध्यक्ष सहित कार्यालय सदस्य सचिव मोदनाथ मरहट्टा, प्रा.डा. जगदीश भण्डारी, पूर्व अध्यक्ष मित्रलाल पंज्ञेनी, प्रा.डा. नन्दीश अधिकारी, व्यूरो इन्चार्ज सुरेस श्रेष्ठ, जिल्ला इन्चार्ज ढोगप्रसाद अधिकारी र असल पाख्रिन र यो पंक्तिकारको सहभागिता रहेको थियो ।
चैत्र ५ गतेको प्रतिरोध दिवस अनेकोटमा मनाउन सकिन्छ कि सकिन्न ? पार्टीले के कस्तो तयारी गर्न सक्छ ? भन्ने प्रस्तावमा सम्बन्धित इन्चार्जहरुबाट सहजतापूर्वक सकिन्छ र गर्नुपर्छ भन्ने सुझाव आएपछि सोही अनुसार योजना बनेको थियो । कार्यक्रममा कार्यालय सचिव स्वास्थ्यका कारण जान नसक्ने जानकारी आएपछि अरु साथीहरुको लिष्ट अध्यक्षले तयार गर्नुभयो । केही व्यवस्थापनको तयारी सहित हामी चैत्र ५ गते विहान ६ बजे कोटेश्वर चोकमा केन्द्रित भएर जाने निर्णय भयो । हामी त्यसदिन उठ्यौं । कार्यालय टीम व्यानर व्यवस्थापनको तयारीमा लाग्यो ।
चैत्र ५ गते विहान ३ बजे नै आँखा खुले । करिव एक घण्टा फिजिकल काम सकेर पौने ५ बजे इमाडोलबाट कोटेश्वर तर्फ लागियो । १५÷२० मिनेटको पैदल यात्रा पछि गाडीको यात्रा सुरु भयो । विहान सबेरैको समय भएकोले कतै जाम नपरेको हुँदा निर्धारित समय भन्दा करिव पौनेघण्टा अगाडि नै निर्धारित स्थानमा पुगियो ।
विहानको चिसो सिरेटोमा प्रतिक्षाको घडी लामो भयो । तर पनि प्रतिक्षा गर्नुको विकल्प थिएन । सबेरै भए पनि कोटेश्वर चोकमा गाडीको आवत जावत वाक्लै थियो । रिङरोडमा हिंड्ने गाडी र पूर्वबाट आउने र पूर्व भक्तपुरतर्फ जाने गाडीहरु पनि हर्न बजाउँदै ओहोरदोहोर गरिरहेका थिए । सडकको दुवैतिर साइडमा मानिसहरुको उपस्थिति बाक्लो थियो । कोही गाडीको धुनमा थिए त कोही व्यापारको धुनमा थिए । कोही सडक किनार मै चिया विस्कुट बिक्री गर्दै थिए । कतिपयले हात हातमा पानीका बोतल, गुँदपाक र अन्य सामाग्री लिएर ग्राहकको खोजीमा यताउती दौडिरहेका थिए । उज्यालो फङ्ग भई सकेको थियो । चोकमा गाडी र मानिसहरुको भीड बढ्दै थियो । साथीहरु अझै सम्पर्क स्थानमा पुग्नु भएको थिएन । म भने यताउता गर्दै साथीहरुको खोजीमा थिए । ६ः१५ बजे प्रा.डा जगदीश भण्डारी आउनुभयो र दुईजना भयौं । पछि एकपछि अर्को गर्दै सबै साथीहरु आइपुग्नु भयो र हामी ६ः४५ बजे कोटेश्वर चोकबाट बुकिङ गाडीमा अगाडि बढ्यौं । भक्तपुरदेखि बनेपासम्म साथीहरु थपिंदै जानुभयो ।
हामी बनेपा–धुलिखेल हुँदै करिव १० बजे पाँचखाल पुग्यौं र एक होटलमा सामान्य नास्ता खायौं । नास्तापछि पाँचखालको नगरपालिका नजिकैबाट पश्चिमतिर लाग्यौं । पाँचखाल अत्यन्त सुन्दर लाग्यो । त्यहाँका जमिन आलुखेतीको निम्ति प्रसिद्ध रहेछ । पूरै जमिनमा आलु थियो । किसानहरु आलु खनेर बोराका बोरा थुपार्दै थिए । खेती गर्ने तरिका आधुनिक थियो । वरिपरि डाँडाकाँडा बीचमासम्म खाल परेका जमिन, असाध्यै रमणीय लाग्यो । यहाँका भौगोलिक सुन्दरता देखेर हिजोका राणा र शाह वंशीय शासकहरु लोभिएका रहेछन् । पाँचखाल मै अमेरिकी सेना ठूलो विल्डीङ बनाएर बेसक्याम्प जमाएर बसेको सुनियो । एसएसपी योजना नवनिर्वाचित सरकारले संसदबाट पास गरेको लगत्तै एमसीसीलाई कार्यान्वयनमा लैजाने तयारी सहित ऊ बसेको पाइयो ।
हाम्रो गाडी पाँचखालबाट उकालो लाग्यो । त्यहाँबाट करिब ४ किमीमाथि उक्लेपछि हामी अनेकोट पुग्यौं, जहाँ क. च्याङवा लामा, क. चिनीमाया लामा, क. गुम्वासिं तामाङ, क. निर्मला देवकोटा, क. डम्बर श्रेष्ठ, क. सुभद्रा सापकोटा र क. मञ्जु कुँवर सहित ७ जना कलाकारहरु बसेको घर घेराहाली, उनीहरु बसेको घरमा पहिला आगो लगाई भाग्न नदिएर पुलिसहरुद्वारा सामूहिक हत्या गरिएको रहेछ । हामीले त्यो घर पनि अवलोकन ग¥यौं । यो घटना अपरान्ह करिव २ बजे घटेको गाउँलेहरुबाट बुझ्यौं । चारैतिरबाट पुलिसको घेराबन्दी भएकोले गाउँलेहरु पनि नजिक पर्न नसकेको र त्यो क्रुर पासविक दमनलाई घृणा र आक्रोशपूर्वक टाढैबाट हेर्न बाध्य भएको एक गाउँले दाजुबाट सुन्यौं । कति कायर र निकृष्ट हुँदा रहेछन् यी हत्याराहरु । मादल, गितार, सारंगी र बाँसुरीलाई आधुनिक हतियार सम्झेर तिनलाई नष्ट गर्न टाढैबाट आगो लगाउँछन् । कति क्रुर हुन्छन्् प्रतिक्रियावादी शासकहरु घरभित्र बसेकालाई थुनेर गोली चलाउँछन् । थुक्क नालायकहरु !
हामी ती महान् शहीदहरुको संयुक्त शालिक नेर मञ्च तयार गरी कार्यक्रम ग¥यौं । क. गौरी दाहालको संचालन र प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा कार्यक्रम शुरु भयो । कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली (क. सुदर्शन) हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञेनी, प्रा.डा. नन्दीश अधिकारी, पिविएम चक्रपाणि शर्मा, व्यूरो इन्चार्ज सुरेश श्रेष्ठ, पि.वि.एम. धनेश्वर पोख्रेल, पत्रकार इन्द्र राउत, अनु निरौला, व्यूरो सचिव सोमान तामाङ, नारायण शर्मा, असल पाख्रीन, फोटो पत्रकार जय दाहाल, कवियत्री आस्था घिमिरे लगायत शहीद परिवारहरु हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रारम्भमा शहीदहरुप्रति प्रमुख अतिथि लगायत सहभागीहरुबाट फुलमाला र अविर लगाउनुका साथै सम्पूर्ण शहिदहरुप्रति १ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरियो । तत्पश्चात जिल्ला सचिव ढोगप्रसादले स्वागत मन्तव्य राख्नुभयो । स्वागतपछि व्यूरो सचिव क. सोमान तामाङले छोटो मन्तव्य राख्नुभयो । तत्पश्चात् केही कवि कवियत्रीहरुबाट कविता वाचन गर्ने काम भयो । जसमा कमला तामाङले ‘युद्धको स्मरण’, धनेश्वर पोख्रेलले ‘विहानी सन्देश’ डा. नन्दीश अधिकारीले ‘अनेकोट’, आस्था घिमिरेले –‘त्याग’, मित्रलाल पंगिनीले अनेकोटलाई सलाम, प्रा.डा. जगदीश भण्डारीले प्रिय ‘शहिद’ शीर्षकमा कविता वाचन गरेर सुनाउनु भएको थियो । साथै डा. भण्डारीले घटनासम्बन्धी गहन मन्तव्य पनि राख्नु भएको थियो । कार्यक्रमको सिलसिलामा कलाकार नारायण शर्माले जोशिलो गीत सहित प्रहसन प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा पिविएम क. सीपी शर्माले वर्तमान राजनैतिक घटनाक्रम र क्रान्तिकारीहरुको दायित्वबारे संक्षिप्त गहन मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि प्रवक्ता क. सुदर्शनले वर्तमान राजनैतिक घटनाक्रम,आम निर्वाचनको समीक्षा गर्दै अहिले घरेलु प्रतिक्रियावाद र साम्राज्यवाद संयुक्त भएर आएको स्पष्ट पार्दै यसमा क्रान्तिकारीहरु सजग हुनुपर्ने कुरा राख्नु भयो । साथै बाटो विराएर जाने साथीहरुले पनि अब सोच्नुपर्ने बेला आएको छ भन्दै गहन मन्तव्य राख्नुभयो ।
कार्यक्रमको अन्तमा आफ्नो छोटो कुरा राखेर संचालक गौरी दाहालले आफ्नो मन्तव्य सहित कार्यक्रम समापन गर्न अध्यक्षलाई अनुरोध गर्दै विदा हुनुभयो । आफ्ना विचार, अनुभूतिसहित कार्यक्रममा सहभागी पार्टी नेतृत्व, अतिथि, जनसमुदाय, कार्यक्रमको लागि माइक, कुर्सी लगायत विभिन्न सहयोग गर्ने नेपाली कम्युनिस्ट पार्टीका मित्रहरु सबैलाई धन्यवाद दिंदै हिरामणि दुःखीले कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
संयोग कस्तो जुरेछ भने जुन ठाउँमा हामीले कार्यक्रम ग¥यौं त्यही ठाउँमा १ बजे पछि पूर्व माओवादी, हाल नेपाली कम्युनिस्ट पार्टीका साथीहरु कार्यक्रम गर्दै हुनुहुँदोरहेछ । सो कार्यक्रमको लागि साथीहरु आउँदै थिए । कतिपयले हाम्रो कार्यमक्रममा सहभागी भएर धैर्यतापूर्वक हाम्रा अभिव्यक्तिहरु सुने पनि । त्यसलाई सकारात्मक नै मान्नुपर्छ ।
कार्यक्रमको समाप्तीपछि हामी एकछिन फोटो शेसन सकेर महान शहीदहरुलाई लालसलाम टक्राउँदै, शहीदका सपनाहरु पूरा गरेरै छोड्ने प्रतिबद्धता जाहेर ग¥यौं । हामीले जस्तोसुकै चुनौतीको सामना गर्नु परेपनि दुश्मनको सामु घुँडा नटेक्ने र गद्दारी नगर्ने सपथ पनि खायौं । हामीले अनेकोट लगायत जनयुद्धको क्रममा वीरगति प्राप्त गर्ने हजारौं शहीदहरुले देखाएको बाटो भुल्ने छैनौं । हामीले शहीद परिवारहरुको लगानी खेरजान दिने छैनौं । हामीले घरेलु प्रतिक्रियावाद, दक्षिणपन्थी संशोधनवाद, अवसरवाद, विश्व साम्राज्यवाद तथा विस्तारवादलाई यो धर्तीबाट परास्त गरेर क्रान्ति सम्पन्न गर्दै मालेमावादमा अर्को आयाम थप्ने छौं । यही प्रतिबद्धता हामीले अनेकोटमा ग¥यौं । हामीले हाम्रा भावना र विचारहरु शहीदहरुलाई साक्षी राखेर स्थानीय जनतालाई सुनायौं ।करिव १२ बजे हामी कार्यक्रम स्थलबाट आफ्नो गन्तव्य तर्फ लाग्यौं । गाडीले हामीलाई पर्खिराखेको थियो । हामी सबै गाडी चढ्यौं । गाडी विस्तारै ओरालो लाग्यो । अनेकोटलाई विदाइका हात हल्लाएर नागबेली जस्तै ओरालो झ¥यौं । पाँचखालमा आएर खाना खायौं र एकछिनपछि हाम्रो गाडी उकालो चढ्दै आफ्नो गन्तव्य स्थानतिर लाग्यौं ।
मिति ः २०८२÷१२÷६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित