काठमाण्डौ । विद्यार्थी युनियन खारेज गर्ने सरकारको घोषणा विरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार तीनधारा संस्कृत पाठशालामा पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी संगठनले चैत २७ गतेबाट आन्दोलनको घोषणा गरेका हुन् ।सरकारको सय बुँदे सूचीमा विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । विद्यार्थी संगठनहरूले घोषणा गरेअनुसार चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने र चैत ३० गतेदेखि २०८३ साल वैशाख ४ गतेसम्म ७७ जिल्लाका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लाहरूको आयोजनामा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम घोषणा गरिएको छ ।
त्यस्तै, वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया, वैशाख ७ गतेदेखि ९ गतेसम्म प्रचारप्रसार ९कलेजमा ब्यानर राख्ने, पर्चा बाँड्ने, विभिन्न प्रतियोगिता वक्तृत्वकला, वादविवाद, गीत, गजल, दोहोरी, पप ब्याटल, नृत्य, सडक नाटक, फ्ल्यास मोब आयोजना गर्ने, भित्ते चित्रहरू प्रदर्शन गर्ने० र प्रत्येक कलेजमा हस्ताक्षर संकलन गर्ने विद्यार्थीहरूद्वारा घोषणा गरिएको कार्यक्रममा उल्लेख छ ।
वैशाख ११ गते हरेक विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र दिने र वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने, वैशाख १५ गते काठमाडौँ उपत्यकामा बालुवाटार सहित देशभरि कापी–कलम सहितको प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ ।
विद्यार्थी संगठनहरुले तीनधारा संस्कृत पाठशालाबाट आन्दोलनको घोषणा गर्नुलाई इतिहाससँग दाँज्दै राणा शासनको विरुद्धमा, पञ्चायतको विरुद्धमा विद्यार्थीहरुले यहीबाट नै संघर्ष शुरु गरेर तानाशाही शासनको अत्य गरेको भन्दै विद्यार्थी संगठनलाई खारेज गर्ने वालेन्द्र पनि तानाशाही बन्न खोजेको हो ? भन्दै विद्यार्थी नेताहरुले पत्रकार सम्मेलनमा प्रश्न गरे । यदि तानाशाही बन्न खोजेको हो भने इतिहासमा विद्यार्थीहरुको आन्दोलनले त्यस्ता तानाशाहलाई ढालेको र देशमा लोकतन्त्र, गणतन्त्र स्थापना गरेको विद्यार्थी नेताहरुको भनाइ रहेको थियो । देशको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी संगठनको अविस्मरणीय भूमिका रहेको भन्दै विद्यार्थी नेताहरुले वालेन सरकारलाई त्यो इतिहास पढ्न सुझाए । नेताहरुले वालेन्द्र सरकारले विद्यालयमा अमेरिकी युथ काउन्सिल , बारबार फाउण्डेसनको संगठनहरु बन्न दिने तर देशको स्वाभिमान बचाउने संघर्षमा लाग्ने देशभक्तिको भावना विकास गराउने , देशमा आइ परेका हरेक अप्ठ्याराहरुमा देश र जनताको पक्षमा आवाज उठाउने विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने जुन निर्णय छ यो कुनै पनि हालतमा आफुहरुलाई स्वीकार नहुने धारणा राखे । पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले आफुहरुको आन्दोलनको कार्यक्रमलाई साथ सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।






