काठमाडौँ, बैशाख २५ –
रेड स्टार स्पोर्टिङ क्लब बुद्धनगर काठमाडौँको आयोजनामा ‘रेड स्टार फूटसल खुल्ला प्रतियोगिता २०८३’ को उद्घाटन भएको छ । आज बिहान बैशाख २५ गते विहान ११ बजे ललितपुरको बंगलामुखी फूटसल मैदानमा भएको उक्त फुटसल प्रतियोगिताको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता सुदर्शनले गर्नुभएको थियो । उहाँले रेफ्रि माया तामाङलाई फुटबल हस्तान्तरण गरेपछि फुटसल कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता रहनुभएको सुदर्शनले उद्घाटन खेलको समारोहमा भन्नुभयो –‘फूटबल खेल विश्वव्यापी रुपमा लोकप्रिय भएको बेला उरुग्वेका एक जना शिक्षक जुयान कार्लोस सेरियानी नामक शिक्षकले युवाहरुले सानो ठाउँमा पनि खेल्न सक्ने गरी यसको नियम बनाएका थिए । त्यस समयदेखि फूटसलको इतिहास शुरु भएको थियो, यसलाई १९८९ मा ‘फिफा’ले मान्यता दियो । यसले युवाहरुलाई अनुशासन, मित्रता, स्वास्थ्यलाभ, आत्मविश्वास र एकताभाव ल्याउन र संगठित हनु मदत गर्दछ । त्यसैले युवाहरु यस खेलप्रति नेपालमा पनि आकर्षित भएका छन् तर सरकारले यसप्रति राम्रो लगानी र ब्यवस्थापन गरिरहेको छैन । यस खेलको लागि राम्रो व्यवस्थापन आवश्यक छ, त्यो आवश्यकता बैज्ञानिक समाजवादी व्यवस्थाले मात्र पुरा गर्नसक्नेछ ।’
यसैगरी ‘रेड स्टार स्पोर्टिङ क्लवका कानुनी सल्लाहकार फडिन्द्र कार्कीले पनि उक्त समारोहमा खेलकुद सफलताको शुभकामना दिनुभएको थियो । यसैगरी समारोहको अध्यक्षता रेड स्टार स्पोर्टिङ क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने उद्घोषण क्लवका सदस्य निशा राईले गर्नुभएको थियो । स्वागत मन्तव्य पर्शुराम राईले गर्नुभएको थियो । उक्त एक दिवसीय प्रतियोगितामा २० वटा फुटसल टोलीले भाग लिएका छन् ।
रेड स्टार फूटसल खुला प्रतियोगिता उद्घाटन : खेलकुदले आत्मविश्वास र एकताभाव पैदा गर्दछ : सुदर्शन
Comments

