काठमाडौंमा केन्द्रीय संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन

बालेन सरकारले सुकुम्बासीहरुमाथि गरेको अत्याचारको विरोध

काठमाडौं, वैशाख ३०— बालेन सरकारले सुकुम्बासीहरुमाथि गरेको अत्याचारको विरोध गर्दै केन्द्रीय संयुक्त संघर्ष समितिले आज  काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

समितिको आह्वानमा आयोजित प्रदर्शनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका नेता तथा कार्यकर्ता र सर्वसाधारण तथा समर्थकहरूको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले बिजुलीबजार देखि माइतीघर मण्डलासम्म र्‍याली निकालेका थिए। उनीहरूले वर्तमान राजनीतिक अवस्था, जनजीविकाका समस्या तथा सरकारको कार्यशैलीप्रति तीव्र विरोध  गरेका थिए।

किसानलाई मल बिउको व्यवस्था गर!

एमसीसी सम्झौता खारेज गर!

सुकुम्बासीको पहिचान गरी पुनर्स्थापना गर!

जनताको अधिकार सुनिश्चित गर !

कठपुतली सरकार मुर्दाबाद !

सुकुम्बासीहरू माथिको बरबर दमन बन्द गर!

लिपुलेख लिम्पियाधुरा कालापानी हाम्रो हो!

केन्द्रीय संयुक्त सङ्घर्ष समिति जिन्दाबाद !लगायतका नाराहरू र्यालीमा लगाइएको थियो।

दिनेश शर्मा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य दिनेश शर्माले धारणा राख्नुभयो ,“ ”हामीले यो देशमा लगातार सङ्घर्ष गर्दै आइरहेका छौं र आमूल परिवर्तनको मुद्दा उठाउँदै आइरहेका छौं । २४० वर्ष सत्तामा बसेको सामन्ती राजतन्त्रलाई घुँडा टेकाएर गणतन्त्र स्थापना गरेका थियौँ । साँच्चै नै दलित, महिला, जनजाति, मधेसी, किसान, मजदुरको पक्षमा संविधान बन्छ भनेर हामीले सोचेका थियौ तर विडम्बना वर्तमान राजनीतिक व्यवस्था जनअपेक्षाअनुसार अघि बढ्न सकेन । ”  शर्माले जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले श्रमिक, किसान र उत्पीडित वर्गको पक्षमा संघर्षलाई सशक्त बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

दीपक चलाउने ‘उदय’

नेकपा (बहुमत) का कार्यालय सदस्य दीपक चलाउने ‘उदय’ले मुलुकमा बढ्दो महँगी, बेरोजगारी र भ्रष्टाचारका विरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औँल्याउनुभयो । उहाँले जनजीविकाका सवाललाई केन्द्रमा राखेर संघर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो । चलाउनेले भन्नुभयो , ”भदौ २३ र २४ गते नेपालमा एउटा आँधी चल्यो।  आँधी मात्रै चलेन ज्वाला दन्कियो। त्यतिबेला राज्यका महत्वपूर्ण अङ्गहरू न्यायपालिका, कार्यपालिका , व्यवस्थापिकाका महत्वपूर्ण भवनहरू जले, खरानी भए । त्यतिबेला नेपाली जनताहरूले संसद भवन मात्रै जलेको छैन। एमसीसी पारित गरेको त्यो संसद भवनका एमसीसी पारित भएका दस्तावेजहरु पनि जलेका छन् भन्ने जनताले ठानेका थिए । सर्वोच्च अदालत र न्यायालयहरू जल्दा जनताले अपेक्षा गरेका थिए कि त्यहाँ सर्वोच्च अदालतको भवन मात्र जलेको होइन, न्यायलाई किनबेच गर्ने प्रवृत्ति र तौर तरिका पनि जलेको छ  भन्ने जनताले अपेक्षा गरेका थिए। यसपछि त एउटा सुशासनको युग आरम्भ हुन्छ कि भनेर जनताले अपेक्षा गरेका थिए। वर्षौँ वर्षदेखि ओतको व्यवस्था नभएका, गाँस,वास कपासको व्यवस्था नभएका सुकुम्बासीहरूले हामी केही राहत पाउँछौं कि भन्ने आशा गरेका थिए । नेपालमा निर्वाचन भयो जनताले घन्टी पार्टीलाई  भोट दिए ,जिताए ,   घन्टी पार्टीको सरकार बन्यो । महिना दिन पनि पुग्दा नपुग्दै यो सरकारले तिनै सुकुम्बासी, गरिब र निमुखा जनताको छातीमाथि डोजर चलायो। सुकुम्बासीको नाममा हुकुमबासीहरूले जग्गा लुटेका छन् भने त्यो जग्गा राज्यले लिनुपर्दछ। तर हुकुमबासीलाई हटाउने नाममा आफ्नो रोजीरोटीको लागि राज्यले केही सहयोग गर्छ कि भनेर आशा गरेर नदीको किनारमा  छाप्रोमुनि बसिरहेका जनताहरुलाई उठिबास बनाउने कुरा किमार्थ सह्रय हुन सक्दैन ।  यदि स्थिति यस्तै  रहिरहने हो भने बालेन्द्र सरकारको पनि केही महिना, केही वर्षभन्दा पर यिनको पनि आयु छैन।”

राजकुमार हिङमाङ

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका राजकुमार हिङमाङले वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जनताको मुक्ति सम्भव नहुने उल्लेख गर्दै वामपन्थी तथा क्रान्तिकारी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।राज्य व्यवस्था नै गलत भएकाले सुकुम्बासीहरूको समस्या समाधान नभएको हो। जेन जी आन्दोलनबाट सरकार आयो र यो नयाँ सरकारले जनताको समस्या समाधान गर्न भन्दा पनि जनताको दमनमा तल्लिन भयो । जनताको  राज्य व्यवस्था नल्याएसम्म सुकुम्बासीहरुको समस्या समाधान हुँदैन – हिङमाङले  भन्नुभयो।

अर्जुन कार्की

नेकपाका अर्जुन कार्कीले राज्य व्यवस्था नै गलत भएकाले सुकुम्बासीहरूको समस्या समाधान नभएको हो भन्नुभयो भयो र जनताको राज्य व्यवस्था नल्याएसम्म सुकुम्बासीहरुको समस्या समाधान हुँदैन, राष्ट्रिय स्वाधीनता, जनअधिकार र सामाजिक न्यायको पक्षमा संघर्ष जारी राख्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सत्ता सञ्चालनप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

लोकनारायण सुवेदी

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य तथा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै सबै देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिहरू साझा एजेन्डामा एकजुट हुनुपर्ने बताउनुभयो ।लोकनारायण सुवेदीले सुकुम्बासी समस्या र सुकुम्बासी माथि भएका अन्यायकाविरुद्धमा आफूहरू संघर्ष गर्ने कुरा त निश्चित नै छ त्यसको साथसाथै देशको राष्ट्रिय स्वाधीनता पनि खतरामा परेकाले हामी राष्ट्रिय स्वाधीनताको रक्षाको लागि संघर्ष गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ,उहाँले एमसीसी , एसपीपी हुँदै नेपालको राष्ट्रिय स्वाधीनता माथि पश्चिमा शक्तिहरूले हस्तक्षेप बढाएको बताउनुभयो ।  एमसीसी र एसपीपीका मुद्दाहरू चिन घेर्ने नीति अन्तर्गतआएका हुन् भन्नुभयो।

लुकुमाया तामाङ

कार्यक्रममा क्रान्तिकारी सुकुम्बासी सङ्घ काठमाडौँ वंशीघाट मूल समितिका संयोजक लुकुमाया तामाङले आफू सुकुम्बासीहरूलाई कसरी झुक्काइयो, ठगियो, बेइमानी गरियो र सुकुम्बासी बस्तीबाट लखेटियो र आज लखेटिएका सुकुम्बासीहरुले के कस्तो पीडा खेपिरहेका छन् भन्ने अनुभव सुनाउनु भएको थियो र कार्यक्रमको सञ्चालन वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका साँया किरणले गर्नुभएको थियो।

साँया किरण

फोटो – जय दाहाल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित