भैरहवा, बैशाख ३१ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । बुद्धले जेआर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जित हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जेआरले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ४० रन जोड्यो । उसका लागि खडक बोहराले २६, विशाल भुसालले २४, दिनेश विष्टले २१, राज खनालले १९, बिमल भट्टराईले १४, गगन अधिकारीले ११ र अनमोल श्रीस थापाले १० रन बनाए । बलिङमा बुद्धका दिलसाद अलीले ३, विपिनप्रसाद शर्मा र अमित अग्रहरीले २–२ तथा गौतम जिसी, अजय त्रिपाठी र प्रवेज अन्सारीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुद्धले ३१ ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुरज पौडेलले २७, मिथलेश यादवले २६, दिलसाद अलीले २५, गौतम जिसीले २२ र हरिकेश मुराउले १० रन बनाए । बलिङमा जेआरका दिनेश विष्टले २ तथा घनश्याम पाण्डे, कृष्ण पन्थी, विशाल भुसाल र विनय जिसीले समान १–१ विकेट लिए । खेलमा दिलसाद अली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

