ईश्वरीप्रसाद गैरे
जिल्ला सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति दाङ
(राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले २०८३ वैशाख २९ गते दाङको घोराहीमा आयोजना गरेको ‘संविधान संशोधन गणतन्त्र र राष्ट्रियता ’ विषयक अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट विचार व्यक्त गर्दै ईश्वरीप्रसाद गैरे)
जहाँसम्म संविधान संशोधनको विषय छ ,संविधान संशोधनबाट आजको देशको जटिल राजनीतिक संकटको निकास सम्भव छैन। त्यसैले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल संविधान संशोधन होइन , संविधानको पुनर्लेखन हुनुपर्छ भन्ने मान्यता राख्दछ । अहिलेको संविधानलाई काटछाट गरेर संशोधन गरेर टालटुल गरेर देशका जटिल समस्याहरू समाधान हुनेछ भन्न थाल्यौँ र त्यतातर्फ लाग्यौं भने देश फेरि अर्को दुर्घटनामा जाने खतरा छ। त्यसैले हामीले स्वाधीन संयुक्त सरकार गठन गरौं र संविधानको पुनर्लेखन गरौं भनेका हौं ।
आज यहाँ देशको एकजना राष्ट्रिय व्यक्तित्व चित्रबहादुर केसी पनि यस कार्यक्रममा उपस्थित हुनुभएको छ। म उहाँलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु । एमसीसी संसदबाट पारित हुने बेलामा जम्मा ४ जना सांसदहरूले एमसीसी पारित गर्ने प्रस्तावको विपक्षमा मत जाहेर गर्नुभएको थियो । हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा सहित देशभक्त वामपन्थी शक्तिहरूले यहाँ दाङमा पनि गल्ली गल्लीमा यहाँका सडकहरूमा एमसीसी विरुद्ध संघर्ष गरेका थियौँ। त्यो संघर्षमा हामीले सहकार्य गरेका थियौ। हामीले सँगै एमसीसीका विरुद्धमा संघर्ष गरेका थियौँ। अहिले देश झन् गम्भीर संकटमा परेको छ। यहाँ अमेरिकी साम्राज्यवाद प्रवेश गरिसकेको छ । एम. सी.सी. र एस. पी.पी. मार्फत देशलाई पूरै नवऔपनिवेशीकरण तर्फ लगिंदै छ । देशलाई बचाउने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने गम्भीर चुनौती हाम्रो सामु आएको छ ।
सम्भव भएसम्म हामी क्रान्तिकारीहरू एउटै पार्टी बनेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । सकभर हामी सबै एक ढिक्का भएर अगाडि बढौं । पार्टीलाई पुनर्गठन गरेर अगाडि बढौं भन्न चाहन्छु । तत्काल पार्टी एकता सम्भव छैन भने अहिले सडकमा पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बेला आएको छ। सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढौं भन्न चाहन्छु।

