–कमला नेपाली
आज मेरो जन्मदिन रहेछ
जीवनको अर्को वर्ष थपियो
तर म वर्ष गनेर होइन
सङ्घर्ष गनेर बाँच्न सिकेकी छु ।
हिजोसम्म धेरैपटक लडेँ,
धेरैपटक रोएँ
कतिपटक त लाग्यो
अब सकिँदैन
हरेकपटक आँसु पुछेर
फेरि उभिन सिकेँ
जीवनले सिकाएको
सबैभन्दा ठूलो पाठ यही हो ।
ढल्नु हार होइन
ढलेर पनि फेरि उठ्नु
जित हो
आज म आफैँलाई
वाचा गर्छु
बाटो जति कठिन भए पनि
हिम्मत कहिल्यै हार्ने छैन
मान्छेले विश्वास तोडे पनि
आफ्नो विश्वास
कहिल्यै तोड्ने छैन ।
आजको दिनमा
भन्न मन छ मलाई
मेरो दुःखले
कमजोर बनाएन मलाई
बरु बलियो बन्न सिकायो
म जहाँ छु त्यहाँसम्म पुग्न
मेरो आँसु, पसिना र धैर्यले
दिएको छ साथ
बाँकी छ अझै धेरै
सपना पूरा गर्न
उकालो चढ्न
बाँकी छ अझै धेरै ।
मेरो हिम्मत नै मेरो परिचय हो
मेरो सङ्घर्ष नै मेरो कथा हो ।
१५ साउन, २०८३

