अनलाइन यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको माग प्रति समर्थन

काठमाडौं । अखिल नेपाल प्रगतिशील मजदुर संघले अनलाइन यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको माग प्रति समर्थन जनाएको छ । अखिल नेपाल प्रगतिशील मजदुर संघका संयोजक लक्ष्मण उप्रेतीले २०८३/०४/१९ मा एक वक्तव्य जारी गरी सो समर्थन जनाउनुभएको छ । वक्तव्य  यस प्रकार छ –

हाल देशमा पठाओ, इनड्राइभ र याङ्गो लगायतका अनलाइन यातायात क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने सरकारी नीति, पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि, विभिन्न क्षेत्रमा दोहोरो–तेहेरो कर प्रणाली तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धिले सम्पूर्ण श्रमिक वर्गको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ। न्यून आय र अन्य आय स्रोत नभएका श्रमिकहरूको जीवन निर्वाह दिनप्रतिदिन कठिन बन्दै गएको छ।

अनलाइन यातायात क्षेत्रमा कार्यरत पठाओ, इनड्राइभ र याङ्गो लगायतका श्रमिकहरूले प्रति किलोमिटर न्यूनतम रु.२७ भाडादर कायम गरियोस् भन्ने जायज र न्यायोचित माग अघि सारेका छन्। बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि, सवारीसाधनको मर्मत–सम्भार खर्च तथा जीवनयापनको लागतलाई मध्यनजर गर्दा उक्त माग पूर्णतः व्यावहारिक र उचित छ।

अखिल नेपाल प्रगतिशील मजदुर संघ उक्त माग तत्काल सम्बोधन गर्न नेपाल सरकार तथा सम्बन्धित कम्पनीहरूको गम्भीर ध्यानाकर्षण गराउँदै श्रमिकहरूको आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछ।

एकातर्फ अनलाइन कम्पनीहरूले श्रमिकमाथि चर्को आर्थिक शोषण गरिरहेका छन् भने अर्कोतर्फ राज्यले थप करको भार थोपरेर श्रमिकहरूको जीविकामाथि थप संकट सिर्जना गरेको छ। यस्ता नीतिले श्रमिकहरूको आय घटाउने, असुरक्षा बढाउने तथा श्रमको सम्मानमाथि आघात पुर्‍याउने काम गरेको छ।

यसैबीच ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेप, श्रमिक संगठनहरूप्रति अपनाइएको असहिष्णु व्यवहार, सुकुम्बासीहरूमाथि भएका दमनात्मक गतिविधि तथा श्रमिकमैत्री नीति निर्माणमा सरकारको उदासीनताले वर्तमान सरकार श्रमिक वर्गको पक्षमा नरहेको स्पष्ट भएको छ। श्रमिकका जायज मागप्रति देखाइएको बेवास्ता लोकतान्त्रिक मूल्य–मान्यता विपरीत छ।

यस्तो विषम परिस्थितिमा देशभर रहेका सम्पूर्ण मजदुर संघ, ट्रेड युनियन तथा श्रमिक संगठनहरूबीच साझा मुद्दाका आधारमा व्यापक एकता, सहकार्य र संयुक्त संघर्ष निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता बनेको छ। त्यसैले ूसंयुक्त मजदुर आन्दोलन संयोजन समितिू निर्माण गरी श्रमिक वर्गका साझा अधिकार, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी तथा न्यायपूर्ण पारिश्रमिक सुनिश्चित गर्न देशव्यापी संयुक्त आन्दोलन अघि बढाउन हामी सम्पूर्ण श्रमिक संगठनहरूलाई हार्दिक प्रस्ताव गर्दछौँ।
श्रमिक वर्गको अधिकारको रक्षा, शोषणको अन्त्य तथा सामाजिक न्याय स्थापनाका लागि सम्पूर्ण श्रमिक, मजदुर तथा श्रमप्रेमी जनसमुदायलाई एकताबद्ध भएर संघर्षमा सहभागी हुन हर्दिक आह्वान गर्दछौँ।

संघर्ष गरौँ – अधिकार सुनिश्चित गरौँ !
श्रमिक एकता जिन्दावाद !
संयुक्त मजदुर आन्दोलन जिन्दावाद ! ”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित