मनु वि।क।
केही दिन पहिलादेखि नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव भएको छ । खाना पकाउने ग्यासको अभावको कारण उपभोक्ताहरु निकै हैरान भएका छन् । डिपोहरुमा घण्टौंको लाइनमा बसेर ग्याँसको मात्रै पालो आउने गरेको छ । खाना पकाउने ग्यास सरकारले बजारमा पर्याप्त मात्रामा रहेको फलाकिरहेको छ तर बजारमा अभाव कायमै छ । सरकारले सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेर ग्यास वितरण केन्द्रहरुबाट ग्यास बाडेको,कृत्रिम अभाव सिर्जना गर्न खोज्नेहरुबाट ग्यास पाएको, ग्यास लुकाएर राखेकाहरुलाई कारवाही गरेको जस्ता समाचार आइरहेका छन् ।
अहिले सरकारले ग्यासको कोटा बढाएर भारतसँग माग गर्ने भन्ने कुरा पनि गरेको छ ।
खाना पकाउने ग्यासको अभाव पूर्तिकोलागि सरकारले तत्कालको लागि र दीर्घकालीन समाधानको बाटो तय गर्नु पर्दछ । ग्यास अभाव नेपालमा एउटा दीर्घकालीन रोगजस्तै भएको छ । नेपालले २०७२ को भारतीय नाकाबन्दी सह्यो । त्यो समयमा नेपालमा ग्यासको अभाव भएको थियो । ग्यासको अभावले भान्सालाई निकै तनावपूर्ण बनाएको हुन्छ । नेपालले वार्षिक रुपमा ५२ अर्ब रुपिया २१ करोड बराबरको ग्यास आयात गर्दो रहेछ । नेपालले ग्यास आयातमा ढुवानी मात्रै ६ अर्बको गर्दछ । नेपालमा घर घरमा ग्याँसको पाइप जडान गर्ने हल्ला पनि चलेको थियो ।
नेपालको दैलेख जिल्लामा ग्यासको खानी रहेकोे तथ्य केही समय पहिला पत्ता लागेको थियो । यो ग्यासको भण्डारणबाट नेपालमा ५० वर्षलाई पुग्ने ग्यास रहेको भनिएको थियो । तर पनि सोको उत्पादनकोलागि सरकारले ध्यान दिन सकेको छैन । ग्यासको विकल्प दिन सकेको छैन ।
ग्यासको विकल्प दिनकोलागि यो अभाव अवसर पनि हो । मुलुक परनिर्भर हुने मात्रै होइन । समस्याको समाधान देशले आफै खोज्नु पर्दछ । जब देशमा संकटको सिर्जना हुन्छ सबैले साधन स्रोतको उत्पादन गर्ने त्यसको विकास गर्ने गर्नु पर्दछ । उत्पादनलाई बढाएर बजार व्यवस्थित गर्ने हो भने समस्या सहजै टार्न सकिन्छ । ग्यासको विकल्पको बहस पटक पटक चलेपनि पूरा हुने सकेको छैन ।
स्वदेशी उत्पादनमा जोड दिने, ग्यासको विकल्प विद्युतको उत्पादनमा व्यापक जोड दिने,वायो ग्यासको विकास गर्ने मा ध्यान दिनु पर्दछ । नेपालीहरु केवल उपभोक्ता मात्रै हुँदै आएका छन् । उपभोक्ता मात्रै हुँदा बजारलाई सजिलो हुन्छ । अहिलेको ग्यासको अभावले मुलुक ग्यासमा अर्थात उर्जामा आत्मनिर्भरताको माग गरिरहेको छ । आत्मनिर्भरताकोलागि व्यक्ति, समाज र देशले निकै नै मिहेनत गर्नु पर्ने हुन्छ । देश विकासमा देशका जनताको ठूलो हात रहेको हुन्छ । बिजुलीको अत्यधिक उत्पादन तथा सहुलियत दरमा वितरण गर्नु पर्दछ । चुल्हो बजारमा निकै महंगो छ । महंगो चुलो किन्ने र चलाउने गर्न गाह्रो हुने परिवारलाई सहुलियत दिनु पर्दछ ।
स्वदेशमा नै बिजुलीबाट चल्ने चुल्हो बनाउनु पर्दछ । बिजुली पनि निकै महंगो भएको छ । बिजुली सस्तोमा उपलब्ध गराउनु पर्दछ । उपभोक्ता बढेमा स्थायी रुपमा आम्दानी हुने हुँदा बिजुली जतिसक्दो सस्तोमा दिँदा नै फाइदा बढी हुन्छ । हरेक अभावले सम्भावना पनि बोकेर ल्याएको हुन्छ । अहिलेको अभावबाट पाठ सिकेर उर्जामा आत्मनिर्भर बाटो तय गर्न सकेमा सदाकोलागि समस्या समाधान हुनेछ । यो अभावलाई केही क्षणकोलागि मात्रै समाधान गर्ने र फेरि पनि अभाव दोहोरिने हुन दिनु हुँदैन । विकल्पको खोजी गरेमा,स्वदेशी उत्पादनमा जोड दिएमा ग्यासको दीर्घकालीन समस्या समाधान हुने र मुलुक आत्मनिर्भर पनि बन्नेछ ।
ग्याँसको अभाव, आत्मनिर्भताको माग
Comments

