काठमाण्डौ । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा जुट मिलको अवस्था, व्यवस्थापन लगायतको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनेछन्। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहनेछन्। त्यस्तै, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुईजना विज्ञ सदस्य मनोनीत गरिनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिवसदस्य–सचिव रहनेछन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरू सहभागी रहेको बैठकले सो निर्णय गरेको हो । अध्ययन कार्यदलले उद्योग संचालनकोलागि आवश्यक पर्ने आर्थिक ,प्राविधिक तथा कानुनी पाटाहरुको विषयमा व्यापक अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यादेश प्राप्त गरेको छ । कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गर्नु पर्ने छ । सरकारले हेटौंडा कपडा उद्योगको परिक्षण उत्पादन शुरु गरेको छ । नेपाली सेनाको जिम्मामा परिक्षण उत्पादन शुरु गरिएको भए पनि सरकारले नै चलाउने गरी शुरु गरिने बताइएको छ ।

