काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङले वालेन सरकार नालायक सरकार भएको बताउनु भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले राजधानीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै तामाङले सो कुरा बताउनु भएको हो । तामाङले वालेन सरकार विना सूचना, विना व्यवस्थापन सुकुम्बासी वस्तीमाथि डोजर चलाइ आतंक मच्चाएर दुःख दिएको बताउँदै सरकार गरिबहरुको पक्षमा नरहेको समेत उल्लेख गर्नु भयो । १० जना विस्थापनमा पारिएका सुकुम्बासीहरुको आत्महत्या हुँदासम्म सरकारले उनीहरुको केही व्यवस्था गर्न नसकेको बताउँदै जनताको रक्षा गर्न नसक्ने सरकारले देशको रक्षा पनि गर्न नसक्ने ठोकुवा गर्नु भयो । यो सरकारको विरोधमा आन्दोलन गर्नु जनताको अधिकार भएको बताउँदै तामाङले सुकुम्बासीको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको जनाउनुभयो । सुकुम्बासीहरुको न काम छ, न बास छ ,अलपत्र पारेको छ भन्दै उहाँले सरकारले सुकुम्बासीहरुलाई आफ्नै गाउँ जाउ भनेर के गर्न खोजेको, यही व्यवस्था गर्नु पर्दैन ? भन्दै प्रश्न गर्नुभयो । वहाँले सुकुम्बासी व्यवस्थापनको जिम्मा स्थानीय तहको भए पनि एकीकृत वागमती सभ्यतालाई दिएर सरकारले सुकुम्बासीहरुलाई अलमलाउन खोजेको उल्लेख गर्नुभयो । आन्दोलनले वालेन सरकारलाई झुकाएर छोड्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौलाले सरकारले नेपाली जनतालाई देशभित्रै शरणार्थीको रुपमा रहने बनाएको बताउनु भयो । उहाँले सरकार असाह्य, गरिबहरुको संरक्षक तथा अविभावक बन्नु पर्ने बताउनु भयो । वहाँले वर्तमान सरकार आलोकाँचो तरिकाले अगाडि बढेको औंल्याउनु भयो ।
नेपाल महिला एकता समाजका केन्द्रीय सचिव धन श्रेष्ठले सरकारले आफ्नो नागरिकलाई विना विकल्प घर भत्काएर दुःख दिएको बताउनुभयो । वहाँले सरकारले सुकुम्बासीहरुलाई आफ्नो जिल्लामा जानु भन्दै दिएको उर्दीको विरोध गर्दै ‘जुन जिल्लाको हो,उही जिल्लामा जानु पर्ने’ नियम सुकुम्बासीलाई मात्रै हो या अरुलाई पनि हो ? भन्दै प्रश्न गर्नु भयो ।
सभामा सानी लामाले सुकुम्बासीको समस्यालाई समेटेर तयार पारेको कविता ‘न्याय हराएको देशमा’भन्ने शीर्षकमा कविता वाचन गर्नु भएको थियो । सभामा होल्डिङ सेन्टरमा सुकुम्बासीहरुले एक छाक मात्रै खाना खाएर बाँच्न बाध्य भएको र बच्चाहरुलाई कालो चिया र पाउरोटी मात्रै खुवाएर स्कूल पठाउन परेकोमा गम्भीर विरोध जनाउनु भएको थियो । कार्यक्रममा सुकुम्बासीहरुको पक्षमा र सरकारको सुकुम्बासीहरुप्रतिको रवैयाको घोर विरोध गर्नुका साथै न्यायको माग गरिएको थियो । कार्यक्रम माइतीघर मण्डलाबाट जुलुश शुरु भएर बिजुलीबजारमा गइ सभामा परिणत भएको थियो । सुकुम्बासीलाई न्याय दे ! , सुकुम्बासीको भत्काइएका घर टहराको उचित क्षतिपूर्ति दे !, हाम्रो आन्दोलन जारी छ ।सुकुम्बासीको संस्थागत हत्या गर्न पाइँदैन । ,वालेनको हातमा रगत छ । आत्महत्या गर्न बाध्य पारिएका सुकुम्बासीलाई शहिद घोषणा गर ! लगायत नाराहरु लगाइएको थियो।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सुकुम्बासीको अधिकारको पक्षमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । २०८३ वैशाख १२ गते पछि राजधानीका विभिन्न स्थानमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको ३५ सय घर टहरा डोजर लगाएर भत्काएको थियो । उनीहरुलाई होल्डिङ सेन्टरमा लगेर राखेर सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि बस्न नदिएर लखेटेको छ । सरकारले आ– आफ्नो जिल्लामा नै जानु भन्दै उर्दी जारी गरेको छ । यस अवधिमा १० जना सुकुम्बासीले आत्महत्या समेत गर्न बाध्य बनाइएको छ । तर सरकारले उनीहरुको उचित व्यवस्थापन ,राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सकेको छैन । विना विकल्प सरकारले आफ्नै नागरिकलाई घरबारविहीन बनाएको छ ।


