सिंगो देश बाढीपीडितको राहत उद्धारमा लागौं !

मनु वि.क.
२०८३ भदौ १० गते बिहान तिब्बतको भोटेकोशीबाट आएको भयानक बाढीले नेपालतर्फ रसुवाको रसुवागढी नाका हुँदै स्याफ्रुबेसी, टिमुरे बजार सहित त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । बजारका बजारहरु बाढीले बगाएको छ । मानिसहरु तल्लो तटीय क्षेत्रहरुहरु नुवाकोट, धादिङ, गोरखा चितवन लगायतका क्षेत्रहरुमा बाढीले निकै क्षति पु¥याएको छ । क्षणभर मै सुन्दर बस्ती खण्डहरमा परिणत भएको छ । सपना क्षणभर मै माटोमा मिलेको छ । मानिसहरुले कल्पना नै नगरेको बाढीको कारण देश अहिले शोकमा डुबेको छ । यो अवस्थामा सबै नेपालीहरुले राहत, उद्धार तथा प्रभावितहरुलाई पुनस्र्थापनामा विशेष ध्यान दिनु पर्दछ । यो भयानक प्राकृतिक विपत्ति हो । विपत्ति कतिबेला कसलाई आउँछ भन्ने केही थाहा हुँदैन । अहिले नेपालमा पनि यस्तै भएको छ । अहिलेसम्म कति जनधनको क्षति भएको छ भन्ने विवरण आउन बाँकी नै छ । तर पनि जो जहाँ जहाँ जिउँदो अवस्थामा छन् जो सक्ने अवस्थामा छन् उनीहरु स्वयम्ले नै सक्दो उद्धारकार्यलाई प्राथमिकता दिनु पर्दछ । सरकारले उद्धारकोलागि सबै संयन्त्रहरुको परिचालन गर्नु पर्दछ । राष्ट्रमाथि आएको यो प्राकृतिक विपत्तिमा यो वा त्यो नभनिकन उद्धारमा लाग्नुपर्दछ । सरकारले सबैमा अनुरोध पनि गरेको छ । सरकारको अनुरोधका बाबजुत मुख्य उद्धार कार्यको दायित्व सरकारको हो। सरकारले रातदिन नभनेर कामलाई तीव्रता दिनु पर्दछ ।

विपत्तिमा परेर ज्यान गुम्नेहरुको त गुम्यो जो जो घाइते अवस्थामा रहेका छन् उनीहरुको तत्काल उद्धार हुनु पर्दछ । तत्काल उद्धार गरी उपचारमा ध्यान दिनु पर्दछ । चिकित्सकहरुलाई,औषधी उपचारमा सक्दो छिटो ध्यान दिनु पर्दछ । लडाइँ ,प्राकृतिक विपत्तिमा ज्यान जोगाउनु नै प्रमुख कार्य हो । जो जो उद्धारको पखाइमा रहेका छन् उनीहरुको उद्धारमा कुनै पनि कमी कमजोरी हुन दिनु हुँदैन । बाटोहरु बन्द छन् । उद्धारकोलागि जाने गाडीहरु जान नसक्ने अवस्था छ । एम्बुलेन्स समेत जानकोलागि बाटोको राम्रो व्यवस्था हुनु पर्दछ तर तटीय क्षेत्रमा बनेका सडक पूर्वाधारमा क्षति भएका कारण यातायात नगर्न सरकारले अनुरोध गरेको छ । उद्धारकोलागि अब एकमात्र विकल्प भनेको हवाइ मार्ग मात्रै सम्भव हुने भएको छ । हवाइ मार्गबाट मात्रै उद्धारको कार्य गर्दा पीडितहरुसम्म पुग्न चाहिने जनशक्ति र साधन स्रोतको स्थिति के हुनेछ ।पर्याप्तताको अभावमा उद्धार कार्य प्रभावकारी हुन नसक्ने स्थिति आउनु हुँदैन। बाढीको जोखिम अझै उच्च रहेको भन्ने समाचारहरु आइरहेका छन् । चीनतिर थुनिएको भनिएको नदी पूर्ण रुपमा नबगेको अवस्थामा रहेकोले तल्लो क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनले जानकारी गराएको छ । अझै बाढीको खतरा टरिसकेको अवस्था छैन । विपत्ति आइसकेपछि उपचार र राहत तथा पुनस्र्थापनाको विषयलाई प्राथमिकतामा राख्नु पर्छ । विपत्तिमा परेकाहरुको जो जो बाँच्न सफल हुनुभएको छ उहाँहरुकोलागि उचित स्थानमा बसोबासको व्यवस्था मिलाउनु पर्दछ ।

सुकुम्बासीहरुको भत्किएका घरहरु ५ महिना लाग्दा समेत बन्न र सुकुम्बासीहरुले बास पाउन नसकिरहेको अवस्था छ । यो अवस्थामा प्राकृतिक विपत्तिको कारण फेरी हज्जारौं मानिसहरु घरबारविहीन हुने अवस्था आएको छ । यो अवस्थामा पीडितहरुको उद्धार तथा राहत तथा पुनस्र्थापनाको विषय निकै चुनौतीपूर्ण देखिन्छ । पीडितहरुलाई कहाँ राख्ने ? कसरी बचाउने भन्ने कुरा प्रमुख कुरा हो । अहिले सिङ्गो देश शोकमा डुबेको छ र सबैले मानवीय साथ सहयोगमा कमी नहोस भन्ने कामना गरिरहेको अवस्था छ । मनोवैज्ञानिक डरत्रास सिर्जना भएको छ । कतिपय अवस्थामा डरत्रासका कारण समेत ठूलो मनोवैज्ञानिक असर पर्न सक्छ उनीहरुलाई मनोवैज्ञानिक उपचारमा समेत ध्यान दिनु पर्दछ । प्रभावित हुन सक्ने र भएका स्थलका नदी किनार छेउछाउमा बसोबास गरेका मानिसहरुलाई सुरक्षित स्थानमा लैजानु पर्छ ।

विपदको बेला निकै सतर्कताको समेत आवश्यकता पर्दछ । मानवीय सहायता गर्ने नाममा अनेक खाले देशविरोधी गतिविधि समेत हुन सक्दछ । यसकोलागि राज्यले विशेष ध्यान दिनु पर्छ । उद्धारकालागि ड्रोनहरु उडाउन अनुमति लिन नपर्ने भन्ने खालको सुचना आएको छ । राहत र उद्धारकोलागि यो तरिका सही होइन । मानवीय सहायता पु¥याउने बेलामा देशको सार्वभौमिकता आँच आउने प्रकारका गतिविधिहरु हुन नदिन सरकारले विशेष ध्यान दिनु पर्छ ।
अहिलेको यो अवस्थामा देशमाथि देशमाथि आइलागेको यो विपत्तिको बेलामा सबैले सक्दो प्रकारको साथ सहयोग गर्नु पर्दछ । अहिले क्षतिको विवरण आइसकेको छैन । मानवीय थप क्षति हुन नदिन सबै सतर्क बनौं । भौतिक क्षति जति भए पनि मानिसले सिर्जना गरेका संरचनाहरु हुन् । तिनीहरुलाई त बनाउँदै जाउँला । तर मानवीय क्षति जो भइसकेको छ भयो यो कसैले जोगाउन सक्ने कुरा भएन तर जो जो बाँचेका छन् उनीहरुको उद्धार, राहत,उपचार तथा पुनस्र्थापनामा सबैले सहयोग पु¥याऔं । देशमाथि आएको यो विपत्तिबाट सबैको साथ र हातले उठौंला ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित