अर्जुनलाल श्रेष्ठ
जिल्ला सचिव ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नुवाकोट
० भाद्र १० गते भोटे कोशीमा बाढी आउँदा रसुवा –नुवाकोट– धादिङतिर व्यापक क्षति भएको बेला तपाईं कहाँ हुनुहुन्थ्यो ?
– मेरो घर नुवाकोट जिल्लाको बिदुर नगरपालिकाको वडा नं ५ को देवीघाट भन्ने ठाउँमा हो। मेरो दुईतिर बसाई हुने गर्छ। एकातिर देवीघाटमै घर र पसल छ अर्को तर्फ आफ्नो घर व्यवहारका कारणले गर्दा हाम्रा जहान परिवारहरु ललितपुरको लुभुमा बस्दछन् । ठूलो छोराको श्रीमती अर्थात् मेरो छोरा बुहारी निर्मला राईको १० गतेकै दिन बिहान १० बजेर १० मिनेट जाँदा रोजगारीको सिलसिलामा दुबैको फ्लाइट थियो। १० बजे फ्लाइट हुनका लागि ७ बजे नै एयरपोर्ट प्रवेश गर्नुपर्दो रहेछ । बुहारीलाई छोडेर म लुभु फर्किएको थिएँ। लुभु फर्किएको बेला मेरा एकजना आफन्तले फोन गरेर तपाईँहरू कता हुनुहुन्छ यदि देवीघाटमा हुनुहुन्छ भने तुरुन्त भाग्नुस् , ठूलो बाढी आउँदैछ, भनेर जानकारी गराए र मलाई त्यो घटनाको जानकारी भयो।
० तपाईँ अहिले कहाँ हुनुहुन्छ ?
– भाद्र १२ गते काठमाडौँबाट यहाँ नुवाकोट घरमा आएँ। स्थिति एकदमै खराब छ । नुवाकोटको बिदुर नगरपालिकाको बिदुर बजार भन्दा तल त्रिशुली नदी र तादी नदीको दोभानमा देवीघाट बजार छ । देवीघाट बजार धार्मिक पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण स्थल हो। राजा पृथ्वीनारायण शाहको दाहसंस्कार पनि यही देवीघाटमा भएको थियो । ऐतिहासिक दृष्टिकोणले पनि यो ठाउँ महत्वपूर्ण ठाउँ हो। १२ गते यहाँ आइसकेपछि मेरो आफ्नो घरमा बस्ने अवस्था छैन। घरको पसलहरु सबै ध्वस्त भएको छ। नगद र गरगहनाहरु पनि सबै समाप्त भएका छन् । त्यहाँ राखिएको करिब ६२ हजार रकम र केही सुन गहनाहरु पनि समाप्त भएको छ । घरकोपिल्लर नै भाँचिएको छ । मैले एकजना साथीको घरमा कोठा लिएर बसेको छु। पार्टीका कामरेडहरू काठमाडौंबाट आकाश महर्जन, हाम्रो पार्टीको ८नम्बर व्यूरोका इञ्चार्ज रमेश पौडेल ,८नम्बर व्यूरोसचिव अमृत अधिकारी, हाम्रो पार्टीका नुवाकोट जिल्ला सचिवालय सदस्य सुदर्शन भण्डारी ,धादिङबाट राजेन्द्र कोइराला लगायतका साथीहरू यहाँ आउनुभएको छ । यहाँको स्थितिको अध्ययन उहाँहरुले गरिरहनुभएको छ। स्थानीय जनताहरूसँग भेटघाटको कार्यक्रम पनि भइरहेको छ ।
० बजारमा भएको क्षति के कस्तो पाउनुभयो ?
– यहाँ देवीघाट बजारमा आइसकेपछि मैले थाहा पाए अनुसार ११ जना यहाँका मानिसहरू बेपत्ता भएका छन्। जसमध्ये ६ जना वृद्ध आश्रमका उद्धार गर्न नसकेका वृद्धवृद्धाहरु थिए । मलाई जेष्ठ नागरिक व्यवस्थापन समितिका मानिसहरुले ६ जना वृद्धवृद्धाहरूलाई बचाउन नसकिएको र उहाँहरू बाढीमा हराएको बताउनुभयो । यहाँ देवीघाट बजारमा एकजना निरज भण्डारीको सब घरमै फेला परेको छ। मेरो ठूलो बुबाको नातिनि बुहारी गोठमा गाईवस्तुलाई घाँसको व्यवस्था गर्न जाँदा बाढीमा परेर हराइन् । एकजनाको शबको अझैसम्म पहिचान हुन सकेको छैन। बगरमा बाढी पहिरोले बगाएर ल्याएका गाई वस्तु मानिसहरूको शब यत्रतत्र छरिएका छन् र त्यो दुर्गन्ध फैलिँदै जान सक्ने अवस्था छ।
० एकजना प्रहरी हवल्दार र एकजना वडा अध्यक्षले बजारमा पुरै माइकिङ गरेका कारणले गर्दा देवीघाट बजारमा मानवीय क्षति हुन पाएन भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, के त्यो सत्य होइन?
–कतिपय समाचारहरू भ्रामक समाचारहरू पनि प्रचार गर्ने गरिएको छ। म यहीको बासिन्दा हुँ। मैले भनिहाले यहाँको स्थानीय जनताको रेकर्डमा ११ जना व्यक्तिहरु यहाँबाट हराइरहेका छन् । पक्कै पनि दिउँसो भएकाले र केही खबर पाएका व्यक्तिहरु खबर पाएर व्यक्तिहरु भागाभाग भएर आफ्नो ज्यान बचाउन सफल भए । अप्ठ्यारोको बेलामा भ्रामक समाचारहरू पनि फैलाउने गरिएको छ। मानवीय दृष्टिकोणले पनि भ्रामक समाचार प्रचारप्रसार गर्नु राम्रो होइन।
० नुवाकोटको अरु अवस्था के छ ?
– जिल्ला आयुर्वेदिक अस्पताल र स्थानीय चन्द्रज्योति आधारभूत विद्यालय दुई ठाउँमा देविघाटमा बाढी पहिरोबाट विस्थापितहरुका लागि होल्डिङ सेन्टर बनाइएको छ। २८५ जना आफ्नै घरबाट विस्थापित भएका र ४५ परिवार डेरामा बस्नेहरू विस्थापित भएका गरी जम्माजम्मी ३३० परिवारलाई अहिले ती दुई ठाउँको देविघाटमा होल्डिङ सेन्टरमा राखिएको छ।नुवाकोटमा त्रिशुली अस्पताल नजिकै कोलोनीमा एउटा होल्डिङ सेन्टर बनाइएकोछ । बट्टारमा अर्को होल्डिङ सेन्टर बनाइएको छ । त्यसरी नुवाकोटमा मात्र हजारौं परिवार विस्थापित छन् ।
्
० जनताको भनाइ के छ ?
– हुन त यस्तो विपत्तिको बेलामा कसैले कसैलाई आरोप प्रत्यारोप गर्ने यो बेला होइन। सबै मिलीजुली अप्ठ्यारोबाट पार पाउनु अहिलेको अवस्था हो। तर आम जनताको एउटा गुनासो के छ भने राज्यको सूचना संयन्त्र बलियो नभएकोले वा राज्यले बेलैमा सूचना प्रवाह गर्न नसकेका कारणले गर्दा पनि ठूलो क्षति पुग्न गयो । जनताको भनाइ छ । टिमुरेमा बाढीले हान्दा बित्तिकै छिटो छिटो जानकारी गराउन सकेको भए त्रिशुली, देवीघाट लगायतका ठाउँहरूमा यति धेरै मानवीय क्षति हुन पाउने थिएन। वास्तवमा जनताले बेलैमा राम्रोसँग सूचना पनि पाउन सकेन। विभिन्न एनजिओ आइएनजिओ सङ्घसंस्थाहरूले राहत लिएर आउने काम पनि गरिरहेकै छन्। त्यो सामान्य सहयोगको कुरा मात्रै हो। राजनीतिक दलहरुले पनि यस्तो बेलामा खासै के नै गर्न सक्छन् र मुख्य कुरा राज्यको नै हो । ।राज्यले गर्ने काम कार्यहरुमा विभिन्न राजनीतिक दलहरूको एउटा सहयोगी भूमिका नै हुने हो । यतिबेला यही देवीघाटको बासिन्दा भएकाले मलाई के लाग्दछ भने वास्तवमा देवीघाटमा जसले बस्ती बसाल्यो , यो ठीक थिएन । मलाई के लाग्दछ भने कस्तो ठाउँमा बस्ती बसाल्ने ? कसरी बस्ती बसाल्ने ? भन्ने कुरा पनि राज्यले यो घटनाबाट पाठ सिक्न जरुरी छ। देवीघाट जस्तो ठाउँमा यस्तो किसिमको स्थिति आउन सक्छ भनेर आकलन गर्न नसक्नु र बस्ती बसाल्नुकमजोरी भएको छ । विभिन्न ठाउँका आफआफ्ना प्रकारका समस्याहरु होलान् जो घर ध्वस्त भएका छन् म आफू देवीघाटको बासिन्दा भएकोले र यहाँका जनताको पनि कुरा सुन्दा मलाई के लाग्दछ भने देवीघाटमा घरवार विहीन भएकाहरुलाई राज्यले बसोबासको व्यवस्था गर्नुपर्दछ । विकासको मोडलिटीको बारेमा राज्यले पुनर्विचार गर्नुपर्दछ ।
अन्तरवार्ता लिएको मिति – २०८३ भाद्र १४ गते आइतवार विहान ८ बजे

