काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो मात्रामा जन,धन र भौतिक संरचनाको विनास गरेको छ। गत भाद्र १० गते विहान करिव ९ः३५ बजे आएको बाढीले अकल्पनीय क्षति पु¥याएको हो । रसुवास्थित नेपाल–चीन सीमा भन्दा उत्तरतर्फको लहेन्दे खोलामा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी लगायत नुवाकोटको वेत्रावती, देवीघाट, त्रिशुलीबजारका भौतिक संरचना, सडक,विद्यालय, निजी आवास,सरकारी कार्यालय भवनहरु विनास भएको छ। त्रिशुली नदीका पक्की र झोलुङगे पुलहरु बगाएको छ । भोटेकोशीले निम्त्याएको क्षतिको विवरण संकलन गरिरहेको नेपाल प्रहरीका अनुसार २०८३ भाद्र १६ गते दिउँसो २ बजेसम्म ४हजार५सय ३० जना घाइतेहरुको उद्धार गरिएको छ । जसमध्ये विदेशी ५८० जना छन् भने उद्धार गरिएका १४ जनाको परिचय खुल्न सकेको छैन । विस्थापितहरुलाई नुवाकोटमा २,४६६, धादिङमा २६०, रसुवामा ३९८, काठमाडौंमा २२९ गरी जम्मा ३,४५३जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । अहिलेसम्म १,०५८ जनाको शव फेला परेको छ । ५८३ जना विदेशी सहित जम्मा ४,६०६ जना बेपत्ताहरुको सूची तयार भएकोछ । वेपत्ताहरुको नामावली टिपाउने क्रम चलिरहेकाले वेपत्ताको सूची बढ्ने वालाछ र मृत्यु हुनेहरुको संस्थाको विवरण पनि अझ बढ्न सक्ने देखिन्छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वक्तव्य
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले तिब्बतको क्षेत्रबाट नेपालको रसुवागढी हँुदै आएको बाढीको विपदमा परेको जनताको उद्धारकोलागि फिल्डमा उत्रिन पार्टी सदस्यहरुलाई उक्त क्षेत्रका पार्टी पङिक्तलाई निर्देशन दिएको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८३ भदौ १० गते एक वक्तव्य जारी गर्दै सो निर्देशन दिनु भएको हो । वक्तव्यमा राष्ट्रिय विपदको यो घडीमाा फसेका जनताको उद्धार गर्न घाइतेहरुको उपचार गर्न घरबास गुमाएका मानिसहरुको तत्काल बसोबास तथा खानपिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ । विपदमा परि निधन हुन पुगेका जनहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
आज विहान करिब ९ बजेतिर चीनको तिब्बत तर्फबाट आकस्मिक रुपमा भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजार, स्याफ्रुबेसी, रसुवागढी लगायत उक्त नदीको बहाव वरिपरि रहेका रसुवा, नुवाकोट, धादिङ्, चितवन, गोर्खा लगायतका जिल्लाका गाउँ, बस्ती, प्रहरी चौकी, विद्युत गृह, बाटो, पुल सहित थुप्रै भौतिक संरचना ध्वस्त भएका छन् । अहिलेसम्म कति जनधनको क्षति भयो त्यसको विवरण आएको छैन । सयौं जना मानिसहरु मरेको, बेपत्ता तथा घाइते भएको र अरवौं रुपियाको राष्ट्रिय वा निजी सम्पत्ति ध्वस्त भएको अनुमान छ । सर्वप्रथम हाम्रो पार्टी यस दुर्घटनामा परी निधन हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र मृतकका आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ, साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
अकल्पनीय राष्ट्रिय विपदको यो घडीमा बाढीमा फसेका जनताको उद्धार गर्न, घाइतेहरुको उपचारगर्न, घरबास गुमाएका मानिसहरुको तत्काल बसोबास तथा खानपीनको व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै विपदमा परेका जनताको उद्धारका निमित्त तत्काल फिल्डमा उत्रिन मुख्यतः उक्त क्षेत्रका आम पार्टी पङ्क्तिलाई विशेष निर्देशन गर्दछ ।”
राष्ट्रिय क्रान्तिकारी मोार्चको वक्तव्य
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले तिब्बततिरबाट आएको बाढी प्रभावितहरुलाई उद्धार तथा राहतको व्यवस्था गर्न जोडदार माग गरेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीले २०८३ भाद्र १० गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा यो महाविपत्तिको यस घढीको गहिरो दुःख तथा शोक प्रकट गर्नुका गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण र परिवार जनमा समवेदना प्रकट गरिएको छ । विपदको यस दुःखद घडिमा मोर्चाका घटक पार्टीहरुका कार्यकर्ताहरु जहाँ सम्भव छ, त्यस ठाउँमा सरकार, विभिन्न संघसंस्था, नागरिक समाज सबैसित मिलेर उद्धार तथा राहत कार्यमा लागेर सेवा गर्न सबैसँग हार्दिक अपील समेत गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –“२०८३ भाद्र १० गते विहान ९ः०५मा नेपाल–चीन सिमानामा चीन तर्फबाट भीषण बाढ आएर भोटेकोशी नदी टिमुरे भन्सार, साप्रुबेशी, त्रिशुली बजार, गल्छी, बैरेनी, मलेखु हुँदै मुग्लिन, नारायणघाटतर्फ गएको बाढीले तटीय क्षेत्रका शहर तथा वस्तीहरु, पुल, सडक र ठूला विद्युत परियोजनाहरु ध्वस्त पारेको छ । राष्ट्रका अगाडि आकस्मिक रुपमा आएको यो महाविपत्ति प्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल गहिरो दुःख तथा शोक प्रकट गर्दछ ।
मानवीय क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन । तर पनि सामाजिक संजालमा आएका समाचारका आधारमा कुल मानवीय क्षति तथा भौतिक संरचना, स्कूल, क्याम्पस, विद्युत परियोजनाहरुको अकल्पनीय क्षति भएको देखिन्छ । सामान्यतः प्रहरी, कर्मचारी, पर्यटक तथा आम नागरिक समेत हजारौंको संख्यामा मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । यस शताब्दीकै महाध्वंसले गर्दा देशलाई अपूर्णीय क्षति पुगेको छ । हाम्रो मोर्चा मृत्यु हुने सबै नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । मृत्यु हुनेका आफन्त, इष्टमित्र सबैमा गहिरो समवेदना प्रकट गर्दछ ।
मोर्चाका घटक पार्टीहरुका कार्यकर्ताहरु जहाँ सम्भव छ, त्यस ठाउँमा सरकार, विभिन्न संघसंस्था, नागरिक समाज सबैसित मिलेर उद्धार तथा राहत कार्यमा लागेर सेवा गर्न सबैसँग हार्दिक अपील गर्दछ ।
देशमा आएको यो महाविपत्तिमा परेका नागरिकलाई उद्धार गर्न, घाइतेहरुको उपचार गर्न, जीवित रहेका बाढी पीडितहरुलाई खाने, बस्ने, आवासको व्यवस्था गर्न हाम्रो मोर्चा सरकारसँग जोडदार माग गर्दछ ।”
अखिल क्रान्तिकारीको वक्तव्यः
अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले एक प्रेस वक्तव्य जारी गर्दै भोटेकोशी बाढीबाट प्रभावितहरुको राहत र उद्दार कार्यमा परिचालित हुन संगठनको सम्पूर्ण पंक्तिलाई विशेष निर्देशन दिएका छन् । वक्तव्यमा यस विपदको घडीमा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “आज मिति २०८३ साल भाद्र १० गते करिब विहान ९ बजे चीनको तिब्बत तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खा लगायत जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति हुन गएको छ । यस विपदमा परी सयौ नागरिकको ज्यान गइसकेको छ भने सयौं घाइते तथा वेपत्ता भएका छन् । विद्यालय, प्रहरी चौकी, विद्युत गृह, बाटो तथा विभिन्न सार्वजनिक संरचनाहरु ध्वस्त हुनुका साथै अरबौंको निजी तथा सार्वजनिक सम्पत्ति ध्वस्त हुन पुगेको छ ।
सर्वप्रथम हाम्रो संगठन यस विपदको घडीमा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । भूगर्भविद्हरुका अनुसार उक्त क्षेत्रमा थप संकट बढ्न सक्ने चेतावनीलाई मध्येनजर गर्दै थप क्षति हुन नदिन सम्बन्धित निकायले उच्च सतर्कता अपनाउँदै यस विपदको घडीमा फसेका नागरिकहरुको उद्दार गर्न, घाइतेहरुको शिघ्र उपचार गर्न, खान बस्न तथा आधारभूत आवश्यकताहरुको तत्काल व्यवस्था गर्न हाम्रो संगठन नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, यस विषम परिस्थितिमा सम्पूर्ण नेपाली जनतालाई एकअर्काको साथ र सहयोगमा जोडिन अपिल गर्दै हाम्रो संगठनका सम्पूर्ण पंक्तिलाई राहत र उद्दार कार्यमा परिचालित हुन विशेष निर्देशन जारी गर्दछ ।”
अखिल भारत नेपाली एकतासमाजको वक्तव्य
अखिल भारत नेपाली एकता समाजले २०२६ को तीजको कार्यक्रम भारतभरी नमनाउने र बाढी पीडितलाई आर्थिक संकलन गर्ने निर्णय गरेको छ। १ सेप्टेम्बर २०२६ मा समाजका अध्यक्ष आनन्द थापाले एक प्रेस वक्तव्य जारी गरी सो निर्णयको जानकारी गराउनुभएको हो । व्तव्यमा भनिएको छ –“भारतमा रहेका नेपालीहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजले २०२६ को तीजको कार्यक्रम भारतभरी नमनाउने निर्णय गरेको छ। किनभने नेपालमा २६ अगस्त २०२६ तदनुसार २०८३ भाद्र १० गतेका दिन बिहान नेपालको रसुवागढी नाकाबाट भोटेकोशीमा आएको महाविनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदीका तटीय क्षेत्रमा रहेका गाउँबस्ती, सहर–बजार, जलविद्युत् परियोजना, प्रहरी चौकी, आर्मी क्याम्प तथा बैंक, सरकारी तथा गैरसरकारी कार्यालयहरू बगाएको र पुल पुनःनिर्माण गर्दै बगाउने क्रममा ठूलो पैमानामा धनजनको क्षति पुराएको छ।
उद्धारमा लागि नेपाल आर्मी र प्रहरीको टिम लगातार लागि रहेको छ। अहिलेसम्म करिब एक हजारको आसपासमा शव बरामद गरिएको छ भने करिब २५ सयभन्दा बढी बेपत्ता भएको जानकारी आएको छ। ज्यान गुमाउने र बेपत्ता हुनेमा विदेशी नागरिकहरू पनि रहेका छन्। बाढी पहिरोका कारण नदीमा आएको लेदो र पानीले गर्दा उद्धार कार्यमा कठिनाइ भएको छ। उद्धार गर्ने क्रममा सयौँ मजदुरहरू विद्युत् परियोजनाका सुरुङ र टनेलमा फसेको पाइएका छन्। नेपाल आर्मी, चाइना र भारतका विज्ञ उद्धार टोलीले जमिनमुनी दबेका, टनेलमा फसेका र नदीमा बगेका शवहरूको खोजी खोजी तीव्र गतिमा उद्धार गरिरहेका छन्। पानी र लेदोबाट बरामद गरिएका शवहरू छिटो बिग्रने हुँदा व्यवस्थित ढंगबाट राखेर आफ्ना आफन्तलाई बुझाउन कठिन भइरहेको छ। शवहरू धेरै दिन राख्दा रोग फैलिने डरका कारण आवश्यक डीएनए गर्न मिल्ने गरी सुरक्षित ढंगबाट सामूहिक रूपमा जंगलमा अन्त्येष्टि गरिएको छ।
नेपाल आमा यसरी घायल भई दर्दनाक पीडा व्यहोरी रहेको अवस्थामा देश तथा विदेशबाट आर्थिक, नैतिक तथा भौतिक सहयोग गरी परेको घाउमा मलमपट्टी गर्नु नै सबै नागरिकको उत्तम र सही कार्य हुने छ। त्यसर्थ हाम्रो संगठन अखिल भारत नेपाली एकता समाजले पनि २०२६ मा मनाउने महिलाहरूको महान् चाड हरितालिका तीज महोत्सवलाई रद्द गरी बाढी पीडितहरूको सम्झनामा भारतभरी क्यान्डल जलाएर शोक प्रकट गर्नुका साथै उद्धार र उपचारका लागि सक्दो आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाउने निर्णय गरेको छ। राहत कार्य संकलन कार्यक्रम जारी छ र धेरैभन्दा धेरै आर्थिक सहयोग जुटाउन हार्दिक अपिल गर्दछौँ।”
तीन किसान संगठनको आह्वान
देशमा क्रियाशील तीन किसान संगठनहरु क्रान्तिकारी किसान महासंघ नेपाल र अखिल नेपाल प्रगतिशील किसानसंघ, अखिल नेपाल किसान महासंघ –अप्फा)ले जोडदार माग गरेका छन् । क्रान्तिकारी किसान महासंघ, नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतो, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरब रेग्मीले २०८३ भाद्र १२ गते एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो आह्वान गर्नु भएको हो । वक्तव्यमा बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीबाट घाइते हुनुभएकाहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ साथै दुःखको यस घडीमा राज्यले सम्पूर्ण शक्ति एकीकृतरुपमा लगाएर खोजी, राहत र उद्धार गरोस् र क्षतिग्रस्त क्षेत्रबाट विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबासका साथै आवश्यक अन्य सबै मानबीय सेवा र सहयोग पुर्याओस् भन्दै निरन्तर राहत, उद्धार खोजीको विवरण सार्वजनिक गर्न जोडदार माग गरिएको छ ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –हिजो अचानक भोटेकोशीमा आएको भयानक विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा तथा चित्रवनका पनि कतिपय भागमा पनि जनधनको ठूलो र अपूरणीय क्षति भएर धेरै मानिसहरु बेपत्ता हुन पुगेको,कयौंको अकाल मुृत्यु भएको दुःखद स्थितिप्रति हामी तीन किसान संगठन अत्यन्तै दुःखी हतप्रभ छौ र यस भयावह घटनामा परेर अकाल मृत्युवरण गरेका सबैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । यो भयावह र त्रासद प्राकृतिक विपत्तिप्रति हामी तीन किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल र अखिल नेपाल प्रगतिशील किसान संघ गहिरो दुःख ब्यक्त गर्दै सम्पूर्ण पीडित परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं । त्यसैगरी सबै बेपत्ता भएका नेपाली दिदी बहिनी तथा दाजु भाइहकासाथै विदेशी नागरिहरुको तदारुखताकासाथ खोजतलास र उद्धार गर्न राज्यसँग जोडदार माग गर्र्दै यस कार्यमा सहयोग पुर्याउन किसान दाजुभाइ दिदी बहिनीहरुमा आह्वान पनि गर्दछौं । दुःखको यस घडीमा राज्यले सम्पूर्ण शक्ति एकीकृतरुपमा लगाएर खोजी, राहत र उद्धार गरोस् र क्षतिग्रस्त क्षेत्रबाट विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबासका साथै आवश्यक अन्य सबै मानबीय सेवा र सहयोग पुर्याओस् तथा निरन्तर राहत, उद्धार खोजीको विवरण सार्वजनिक गरोस् भन्न जोडदार माग पनि गर्दछा्रैं ।
हामी यस्तो भयानक क्षति पु¥याउने गरी बाढी आउनुको प्राकृतिक र मानवीय सबै कारणहरुको खोजी गर्न, आवश्यक सतर्कता र सुरक्षा व्यवस्था अवलम्वन गर्न र आगामी दिनमा यस्तो प्राकृतिक प्रकोप न्यू्रनिकरण गर्न, जनधनलाई क्षति हुनबाट जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्नुपर्ने सबै उपायहरुको खोजी र जन धनको सुरक्षा हुने बिश्वसनीय सुरक्षा–बातावरण सिर्जना गर्न भूगर्भबिद्, हिमताल अध्ययन अनुसन्धान विशेषज्ञहरु तथा जलवायु परिवर्तनका कारण हुनसक्ने जोखिम कम गर्न चाल्नुपर्ने कूटनीतिक लगायतका सबै कदमहरु तत्कालैदेखि चाल्ने आवश्यक कुरामा गम्भीररुपमा ध्यान केन्द्रित गर्न पनि जोडदार आह्वान गर्दछौं ।”
जलविद्युत परियोजनामा क्षति
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मोहन कुमार शाक्यले त्रिशुली नदीमा रहेका निम्न जलविद्युत परियोजनामा बाढीबाट क्षति पुगेको हाँक साप्ताहिकलाई जानकारी गराए । रसुवागढी जलविद्युत आयोजना (१११ मेघावाट), रसुवा भोटेकोशी जलविद्युत आयोजना(१२० मेघावाट), लाङटाङ जलविद्युत आयोजना (२० मेघावाट), माथिल्लो त्रिशुली –१, (२१६ मेघावाट), मैलुङखोला जलविद्युत आयोजना (५ मेघावाट), माथिल्लो त्रिशुली थ्रि.ए. (६० मेघावाट), माथिल्लो त्रिशुली थ्रिवि (३७ मेघावाट), मध्य त्रिशुलीगंगा (१५.६ मेघावाट), त्रिशुली २४,देवीघाट (१४.१ मेघावाट), सुपर त्रिशुली (१०० मेघावाट), माथिल्लो मैलुङ (१४.३ मेघावाट), चिलिमे जलविद्युत परियोजना (२२ मेघावाट) लाई बाढीले क्षति पु¥याएको छ । प्रवक्ता शाक्यका अनुसार सालासुङगी सान्जेन (१८ मेघावाट), माथिल्लो सान्जेङ (१४.८ मेघावाट), सान्जेन (४२.५ मेघावाट), यी तीन जलविद्युत आयोजनालाई खासै क्षति पुगेको छैन तर ट्रान्समिशन लाइनमा क्षति पुगेकाले ती तीन जलविद्युत आयोजनाको पनि अहिले संचालन रोकिएको छ । ट्रान्समिसन लाइन मर्मत गरेमा ती संचालन हुन सक्दछन् । त्यस क्षेत्रका २४ मेघावाटको सोलर प्रोजेक्टमा पनि क्षति भएको छ । जलविद्युत क्षेत्रको समग्र क्षतिको विवरण आउन बाँकी नै छ ।
शिक्षा क्षेत्रमा क्षतिः
शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता तथा सूचना अधिकारी वीरबहादुर धामीले दिएको जानकारी अनुसार रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयहरुलाई बाढीले क्षति पु¥याएको छ । रसुवाका पूर्ण क्षति भए ४ विद्यालयहरुः नेपाल राष्ट्रिय आधारभूत विद्यालय (गोसाइकुण्ड गापा), चिप्लेटी आधारभूत विद्यालय (उत्तरगया गापा) मोडर्न बोर्डिङ स्कूल (उत्तरगया गापा), मालिकादेवी आवासीय विद्यालय (उत्तरगया गापा) रसुवाका आंशिक क्षति भएकाविद्यालयहरु निकलण्ठ मावि (उत्तरगया गापा), श्री कोमिन श्यामेवाङफेल मावि (गोसाइकुण्ड गापा),नवविजयी मावि (उत्तरगया) । नुवाकोट जिल्लामा पूर्ण क्षति भएका ४ विद्यालयहरु– त्रिभुवन त्रिशुली मावि त्रिशुलीबजार (विदुर न.पा.), रामचन्द्र आधारभूत विद्यालय (विदुर न.पा.), त्रिशुली सामुदायिक बो. स्कूल (विदुर, नपा) उत्तरगया पब्लिक स्कूल (विदुर न.पा.) नुवाकोट जिल्ला आंशिक क्षतिभएका विद्यालयहरु–चण्डेश्वर मावि (विदुर नपा) , ज्ञानकुञ्ज बोर्डिङ स्कूल (विदुर नपा), जेवि बोर्डिङ स्कूल (विदुर न.पा) र पाइअनिअर इ.बो स्कूल (विदुर नपा) । धादिङ जिल्लामा अम्लेश्वर गुरुकुल संस्कृत वेदविद्याश्रम, गल्छीको विद्यालय भवनपूर्ण क्षति भएको ६ र ७ वटा अन्य विद्यालयहरु धादिङमा आंशिक क्षति भएका छन् । २३० जना विद्यार्थी र १० जना शिक्षकहरुले यस घटनामा ज्यान गुमाएको प्रारम्भिक रिपोर्ट शिक्षा मन्त्रालयमा आएको छ । २३० जना विद्यार्थी मध्ये २०० जना विद्यार्थीहरु निलकण्ठ मावि रसुवाकै भएका र १० जना शिषक मध्ये ४ जना शिक्षकपनि निलकण्ठ माविकै रहेको र बाँर्की विद्यार्थी र शिक्षक अन्य विद्यालयहरुका हुन् भन्ने रिपोर्ट शिक्षा मन्त्रालयलाई प्राप्त भएको छ । स्थानीय शिक्षा शाखा प्रमुख र शिक्षा विकास तथा समन्वय इकाईहरुबाट प्राप्त जानकारीका आधारमा शिक्षा मन्त्रालयले यो प्रारम्भिक रिपोर्ट संकलन गरेको छ । मन्त्रालयबाट नै प्राविधिक टोलीहरु समेत गएर तीनवटै जिल्लाको विस्तृत रिपोर्ट तयार पारेपछि पुनर्निर्माणको योजना बनाउने मन्त्रालय प्रवक्ता धामीले बताए ।
पर्यटन क्षेत्रः
नेपाल सरकार पर्यटन विभागले जनाए अनुसार देशको पर्यटकहरु अहिलेसम्म ३८९ जना हराईरहेका छन् । जसमा भारतीय १८३, नेपाली १६४,अमेरिकन ६४,युक्रेन ५४, संयुक्त अधिराज्य ३३, मलेसियाका ५५, क्यानडाका ३० ज ना, अस्टे«लिया ३५, बेलारुस १ जना, फिन्ल्याण्ड १, फ्रान्स ४, जर्मनी ८, हंगेरी १, आइरिस २, इजरायल १, लिधुआनिया १, नेदरल्याण्ड २, न्यूजिल्याण्ड ५,पोर्चुगल २,रसिया ८, सिंगापुर ९, दक्षिण अफ्रिका ६, स्पेन २, जापान ५, फिलिपिन्स १, काजाकिस्तान १, बेल्जियम २, स्वीडेन १, लाटभीया ३३, सिरिया १, स्वीटजरल्याण्ड १, इटली २, चीन २५,भियतनाम १, इस्टोनिया १ जना ।
नेपाली प्रहरी तर्फ
नेपाल प्रहरीका ३ जना प्रहरीको मृत्यु भएको र २५ जना वेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ । रसुवाका इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकीहरु रसुवागढी, स्याफ्रुबेशी, वेत्रावती, हाकु र अस्थायी प्रहरी पोष्ट मैलुङमा क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।
सडक विभागः
सडक विभागले भोटेकोशी त्रिशुलीबाढीले ३० अर्ब बराबरको सडक र पुलको क्षति भएको जनाएको छ । रसुवामा सडक विभाग मातहतको ४० कि.मि. सडक पूरै समाप्तभएको जनाएको छ । सडक विभाग अन्तर्गतका ३१ वटा पुल बगेका छन् । सडक र पुल पुनर्निर्माण गर्न अब ५० अर्ब आवश्यक पर्ने प्रारम्भिक आंकलन विभागले गरेको छ ।
चीनतर्फको क्षति
बुधबार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको चीन –नेपाल सीमामा गएको पहिरोमा शनिबार बिहान १ बजेसम्म सिजाङको ग्याइरोङमा ७ जनाको मृत्यु भएको र ५५४ जना बेपत्ता भएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्यृत गर्दै चिनियाँ संचारमाध्यम सिजिटिएनले जनाएको छ।
शुक्रबार दिउँसो ४ः३० बजेतिर, सिजाङ अग्नि तथा उद्धार टोलीका ६ सदस्यको पहिलो टोली र सिचुआन अग्नि तथा उद्धार टोलीको तालिम प्राप्त कुकुरसहित १५ सदस्यको पहिलो समूह प्राकृतिक प्रकोपग्रस्त बन्दरगाहमा पुगेको थियो।स्थानीय विपद् एजेन्सीका लाई उद्यृत गर्दै सिजिटिएनले शुक्रबार दिउँसोसम्म नेपालमा बाढीबाट मृत्यु हुनेको संख्या ५७९ पुगेको छ भने अन्य १,९२४ जना अझै बेपत्ता छन् भनेको छ ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्याइरोङ काउन्टीमा पहिरो गएपछि नेपाल र चीनले उद्धार र राहत प्रयासहरू समन्वय गर्न द्रुत गतिमा काम गरेको यस क्षेत्रको राजधानी ल्हासास्थित नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताएको सिजिटिएनले भनेको छ ।बिहीबार चाइना मिडिया ग्रुपसँग कुरा गर्दै निरौलाले कैलाश पर्वतको यात्रामा गाइरोङ बन्दरगाह हुँदै यात्रा गरेका नेपाली तीर्थयात्रीहरूलाई उचित रूपमा राखिएको र ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र सिजाङ स्वायत्त क्षेत्र सरकारबीचको समन्वयबाट आवश्यक सहयोग उपलब्ध गराइएको छ ।तीर्थयात्रीहरू पछि वैकल्पिक सीमा नाका हुँदै नेपाल फर्कनेछन्, जबकि दुवै पक्षले गाइरोङ बन्दरगाह हुँदै तीर्थयात्राका लागि चीन प्रवेश गरेकाहरूको बारेमा संयुक्त रूपमा जानकारी सङ्कलन गरिरहेका छन्।
विपद् रोकथाम र राहतमा दुई देशको सफल सहयोगको इतिहासलाई ध्यानमा राख्दै निरौलाले नेपाल र चीनले विपद्पछिको प्रतिक्रिया र अनुगमन सहयोगमा नजिकबाट काम गर्न जारी राख्ने कुरामा आफू विश्वस्त रहेको चाइना मिडिया ग्रुपसित भनेका छन् ।
रसुवा–भोटेकोशीको बाढीले निम्त्याएको विनास
Comments

