अहिले नै त्रिशुली करिडर पुननिर्माण सम्भव छैन, छिटो भन्दा छिटो वैकल्पिक बाटोहरुलाई सुधार्नुपर्छ

जि.बि.लामा
स्टाफ ,गोर्खा लाहारी  प्रा .लि.

0 तपाईँ बाढी पीडितहरूको सहयोगार्थ रसुवा पुगेर आउनुभयो । कसरी यो संयोग जुट्यो ?
– मैले गोर्खा लाहारी प्रा.लि.मा स्टाफको रुपमा काम गर्दछु। मार्केटिङ सेक्टरमा काम गर्ने हुँदा मैले ड्राइभिङ पनि गर्छु।  गोर्खा लाहारी प्रा.लि. कम्पनी सँग महिन्द्राको बलेरो फोरविल गाडीहरू छन् । पहाडी कच्ची रोडमा चल्ने यस्तै गाडीहरू हुन्। विश्व खाद्य कार्यक्रम (वर्ल्ड फुड प्रोग्राम) ले हाम्रो कम्पनी गोर्खा लहरी प्रा, लि. सित सामान ढुवानीका लागि गाडी मद्दत माग्यो र खाद्य सामग्रीहरु पुर्याउन जाने सन्दर्भमा मलाई पनि बाढीग्रस्त क्षेत्र रसुवा पुगेर आउने संयोग मिलेको हो।

0 तपाईँहरूको गन्तव्य कहाँसम्म थियो ?
–रसुवाको धुन्चेसम्म पुग्नुपर्ने थियो तर वर्ल्ड फुड प्रोग्रामको गोदाम घर कालिकास्थानमा भएकाले त्यहीसम्म मात्र पुगेर फर्कियौँ।

0 यात्रा कस्तो रह्यो ?
– सबैभन्दा सम्झन लायक पक्ष बाटो अत्यन्त अप्ठ्यारो छ। बिदुर, बेत्रावतीको सडक भाद्र १० गतेको बाढीले ध्वस्त बनाएको हुँदा गाडी चल्न नसक्ने हुँदा हामीले वैकल्पिक बाटोको प्रयोग गर्नुपरेको थियो । हामी १४ गते बेलुकी ६:०० बजेतिर यहाँ काठमाडौँ टोखाबाट हिँड्यौं । राति १० बजेतिर नुवाकोटको छहरे भन्ने ठाउँमा पुगेर होटेलमा दुखम सुखम रात कटायौं। हामीले एउटा टाटाको योद्धा गाडी बाहेक १० वटा महिन्द्राको बलेरो गाडी लिएर गएका थियौं । ११ वटा गाडीमा चामल, दाल, नुन, तेल जस्ता खाद्यान्नहरू बोकेर हामी हिँडेका थियौ। अनि अर्को दिन नुवाकोटको छहरेबाट रसुवाको लार्चाङ , पार्चाङ लगायतका ठाउँहरू पार गर्दै अगाडि बढयौं ।  बेत्रावती बजार, जुन बजारमा बेत्रावती खोला छ । बेत्रावती खोला रसुवा र नुवाकोटको सिमाना हो । बेत्रावती बजारलाई भदौ १० गते बाढीले समाप्त ग¥यो । बेत्रावती बजारभन्दा माथि लहरे पौवा भन्ने ठाउँमा विदुर–धुन्चे सडक भेटन पुग्यौं ।  हामी त्यहाँबाट १० किलोमिटर जति हिँडेपछि कालिकास्थान पुग्यौ र हामीले कालिकास्थानमा नै सामान  छोड्यौं, त्यहाँ विश्व खाद्य कार्यक्रमको गोदाम घर रहेछ । शासन स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर उनीहरूले ती खाद्य सामग्रीहरू वितरण गर्ने कुरा गरेका थिए । हाम्रो काम भनेको सामान ढुवानी गरेर त्यहाँसम्म पुर्याइदिने मात्र थियो  । कालिकास्थानबाट रसुवाको सदरमुकाम धुन्चे करिब २६ किलोमिटर रहेछ। हामीलाई धुन्चे पुग्नु परेन। अनि त्यसै दिन हामी फर्कियौ , हामी काठमाडौँ आउन सकिएन ,वीच बाटोमा बास बसेर तेस्रो दिन काठमाडौं फर्कियौं ।

0 रसुवामा जनताको अवस्था कस्तो पाउनुभयो ?
कैयौंको  परिवार नै समाप्त भएका छन्। खोलाको किनारमा बसेका  भाग्न सफल भएका जीवित छन्। रसुवाका मान्छेहरु सबै व्यापार व्यवसायमा लागेका छन्। त्यो क्षेत्रका मान्छेहरु सबै रसुवागढी, स्याफ्रुबेसी, बेत्रावती तिर आएर व्यापार व्यवसायमा लागेका छन्। गाउँबाट उनीहरु व्यापार व्यवसायका लागि बजारमा खोलाका किनारमा आएका छन्। त्यसले गर्दा कुनै पनि परिवार बाढी पहिरोबाट चोखो रहेन। गाउँलेहरूले कुनै पनि घर चोखो रहेन भन्थे ।  दोस्रो दिन हामीले होटेलमा खाना पकाउन लगाएर खाना खायौं । तर होटेलवालासित तरकारीमा राख्ने नुन रहेन छ । पसलमा वरपर नुन खोज्न हिडे नुन पाएनन्। अनि हामलिे लिएर गएको नुन दियौं ।

टिमुरे , स्याफ्रुबेसीमा चीनतर्फ जाँदै गरेका वा चीनबाट यता आउँदै गरेका सम्पूर्ण गाडीहरु समाप्त भए तर स्याफ्रुबेसी क्रस गरेर बेत्रावती नपुगेका बाटोमा हिँड्दै गरेका गाडीहरु अहिले  अलपत्र छन्। चीनबाट आउने ती डिब्बावाला गाडीहरूमा स्याउ लगायतका कैयौं फलफुलहरू रहेछन् ,फलफुलहरू कुहेर   बर्बाद भइरहेका छन्। फलफुलवालाहरूले हामीलाई काठमाडौं पुराइदिन अनुरोध गरे । बाटो खराब छ ,लाँदैनौ भन्दा भन्दै पनि धेरै नै अनुरोध गरेपछि  २०–४० किलो सबैले गाडीमा राखेर ल्याइदियौं । कुलेश्वरमा कन्ट्याक्ट रहेछ ,कुलेश्वरमा लिएर हामीले छोडिदियौं।  बाढीले पुर्‍याएको क्षति मान्छेले पाएका दुःखका कथाहरु भनेर साध्य छैन।

0 बाढी प्रभावित क्षेत्रमा  पुगेर फर्केपछि के गर्नुपर्छभन्ने तपाईंले ठान्नुभयो ? 
– सबैभन्दा पहिलो कुरा त खाद्य संकट हुनेवाला छ। भोकमरी नपरोस् भन्नका लागि सरकार र जनप्रतिनिधिहरु,दल,संघ संस्थाहरु सबैले विशेष ध्यान दिनुपर्छ । अहिले नै त्रिशुली करिडर पुननिर्माण सम्भव छैन। धेरै समय लाग्छ ।  त्यसले गर्दा  छिटो भन्दा छिटो वैकल्पिक बाटोहरुलाई सुधार्नुपर्छ र सजिलो बनाउनुपर्छ र सडकको पहुँचलाई व्यवस्थित गर्नपर्छ भन्ने लाग्छ ।कसैले राहत पाउने कसैले राहत नपाउने स्थिति बन्नुहुन्न । राहत वितरणमा न्यायचित हुनुपर्छ। विस्थापितहरुको बासको व्यवस्थापन गर्ने , तिनका छोराछोरीहरूको पढाइ ,लेखाई ,स्वास्थ्यका कुरातिर पनि राज्यले ध्यान दिनुपर्छ। 000

 

रसुवा वैकल्पिक बाटो

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित