काठमाडौँ । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकालाई बाढी प्रभावित क्षेत्र नभएको भनी जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको प्रति नौकुण्ड गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष ज्ञानी वाइवाले गम्भीर आपत्ति जनाएका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका राहत तथा उद्धार टोलीसँग कुरा गर्दै प्रवक्ता वाइवाले आक्रोश र असन्तुष्टि प्रकट गरेका हुन्। प्रवक्ता वाइबाले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका टोलीसँग कुरा गर्दै भने, “७० जना मानिसहरू नौकुण्ड गाउँपालिकाबाट बेपत्ता भएका छन् । यही वडा नम्बर ४ मा मात्र १३जना बेपत्ता भएका छन् तर नौकुण्ड गाउँपालिकालाई यहाँको जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्र होइन भनेर निष्कर्ष निकाल्दा हामीलाई धेरै चित्त दुखेको छ । यो भन्दा लज्जास्पद निर्णय अर्को हुन सक्दैन । भौतिक क्षति नभएपनि यति ठूलो मानवीय क्षति भएको छ । यहाँ सरकार नै छैन जस्तो भएको छ । सरकारले तत्काल उद्धार कार्यलाई प्रभावकारी बनाउन सकेको भए कति मान्छेहरू जीवित हुनसक्ने थियो । तर सुरुङभित्रको लेदो तान्ने मेसिन अहिले बाटोमा गाडीमा लिएर आउँदैछ। बेलैमा स्थानीय तहसँग समन्वय गरेर केन्द्र सरकारले उद्धार कार्यलाई प्रभावकारी बनाउन खोजेको भए कैयौं मान्छेहरूको ज्यान बच्ने थियो । यो ठूलो लापरवाही हो। ” टोली सहित रसुवा पुगेका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता जागृत रायमाझीले आफूहरूले मेडिकल टोली सहित यस पालिकामा आएको र सबै बेपत्ता परिवारसँग पनि भेटघाट गर्ने पार्टीको योजना रहेको बताए ।

