
नयाँ दलालहरुलाई अगाडि सारेका हुन्
हरिभक्त कडेल
स्थायी समिति सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
जब देशमा गलत प्रवृत्तिहरू हावी हुँदै जान्छन्, त्यतिबेला साम्राज्यवादी शक्तिहरूले आफ्नो स्वार्थअनुकूल खेल्न खोज्छन्। पुराना संसदवादी राजनीतिक दलहरू असफल हुँदै गएको तथा लामो समयदेखि सत्तामा रहेका संसदवादी दलहरू बदनाम भई जनताको नजरमा गिरिसकेको अवस्थाको मौका छोपेर उनीहरूले नयाँ दलाल शक्तिहरूलाई अगाडि सारेका हुन्। त्यसको प्रतिनिधि पात्रका रूपमा रास्वपा अगाडि आएको हो।
हाम्रो पार्टीले आन्दोलन र समग्र राजनीतिक परिस्थितिलाई यही रूपमा बुझेको थियो। पछिल्लो एक वर्षका उनीहरूका गतिविधिहरूले हाम्रो विश्लेषणलाई सही पुष्टि गरेका छन्। यहाँसम्म कि उनीहरूका समग्र गतिविधि र राजनीतिक व्यवहारले समेत हाम्रो विश्लेषण सही रहेको प्रमाणित गरेका छन्। अमेरिकी सेना नेपालमा आउनुपर्छ भन्ने आशयका अभिव्यक्ति जिम्मेवार मन्त्रीहरूबाट आउनु ,वजेट भाषणमा गरीब निमुखालाई ङयाक्ने र धनीलाई पोस्ने , अन्य गतिविधिहरू पनि साम्राज्यवादी शक्तिको प्रभाव र हस्तक्षेपसँग जोडेर हेर्नुपर्ने विषयहरू हुन्।
कतिपय लोकप्रिय कार्यक्रमहरू सञ्चालन गरेजस्तो देखाउने, मिडियाको दुरुपयोग गरी व्यापक प्रचारप्रसार गर्ने तथा जनतालाई प्रभावित पार्ने प्रयासमार्फत उनीहरूले आफ्नो राजनीतिक सत्ता र प्रभाव जोगाउन खोजिरहेका छन्। त्यसकारण, उनीहरूका वास्तविक गतिविधि र उद्देश्यलाई जनतासामु उजागर गर्न आवश्यक छ।
देशको निम्ति आमूल परिवर्तन आवश्यक छ भन्ने कुरालाई जनताबीच स्थापित गर्न र त्यसका लागि जनचेतना तथा राजनीतिक संघर्षलाई सशक्त बनाउन अझ बढी मेहनत गर्नुपर्ने आवश्यकता छ।

भदौ २४ को घटना योजनाबद्ध विध्वंस
केपी शर्मा ओली
अध्यक्ष नेकपा (एमाले)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी र आक्रमणलाई योजनाबद्ध विध्वंसको संज्ञा दिएका छन् ।
उनले लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको परिणाम भएको आरोप लगाएका छन् । ओलीले भदौ २४ को घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्। शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने यथार्थ बाहिर ल्याउनुपर्ने उनको भनाइ छ।
भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने र उनीहरुविरुद्ध सुरु भएका अनुसन्धान तथा अभियोजनका प्रक्रिया रोकिएको भन्दै उनले यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको’ आरोप लगाए। ओलीले अब हिंसा र अराजकतालाई कुनै पनि नाममा वैधता दिन नहुने बताएका छन्।

स्कुल , कलेजका वालक – युवाहरूलाई ढाल बनाएर पारदर्शिता र जवाफदेहिताको आकर्षक नारा अगाडी बढाउदै सडक प्रदर्शन सुरु गरियो । अध्यारो कोठामा तयार गरिएको कथित जेन जी आन्दोलनको स्कृप्ट मन्चन हुने बेला टिओबी ग्याङ सडक उत्तेजनालाई उत्कर्ष पुर्याउने भुमिकामा खडा भयो । कथित अमेरिकी युथ काउन्सिल , बरबरा फाउन्डेसन त्यसको वैचारिकि निर्माणमा देखा पर्यो । राज्यसत्तामा गुप्त ढङ्गले कृयाशिल ‘ क्विज्लिङ ’ प्रवृत्तिले हतार हतार आफ्नो पहल कदमी लियो र परिस्थिति हिंसात्मक बनाउन तत्पर भए अनि साधारण नारा लिएर अगाडि बढेको कथित शान्तिपुर्ण आन्दोलनमा रमाइरहेका नानी बाबुहरुको रगतको प्यासले व्याकुल बन्दुकहरुले सडक रक्तरन्जित बनाएर परिस्थिति उत्कर्षमा पुर्याए । वालक , युवा बिध्यार्थीहरुको बलिदान र उत्सर्गले नेतृत्वप्रतिको चरम घृणा जनजनमा प्रसारित भयो । त्यसको उपयोग गर्दै रहस्यमय ढङ्गले सङ्गठित भएका तत्वहरुले देशको दाहन गरेर आफ्नो ‘ कर्तव्य ’ पूरा गरे। फलतः सत्तारूढ र सत्तारोहणको कोसिसमा रहेका पुराना खेलाडीहरु विस्थापित भए र वैदेशिक रणनीतिका नयाँ गोटिहरु सत्तारूढ हुनपुगे ।
चुनावी प्रपन्च कथित जेनजी आन्दोलनको आवरणमा नवउदारवादका घोडाहरुलाई बिजयी घोषणा गर्नु र स्वाधीन , समृद्ध नेपाल निर्माण गर्ने नेपाली श्रमजीवी जनसमुदायको समाजवादी आकांक्षा विरुद्ध प्रदुषण फैलाउनु हो । अहिले जारी घृणाको बैचारिक अन्तरवस्तु पुरानाको ठाउँमा नयाँ भनिए पनि नवऔपनिवेशिक उत्पीडनलाई अझै चर्को बनाएर भू –राजनीतिक खेल मैदान बनाउने कुत्सित उद्देश्य अन्तर्निहित छ। नेपाली जनताका निम्ति जनवादी–समाजवादी कार्यक्रम सहितको स्वाधिन संयुक्त सरकारको स्थापना गर्न प्रयत्नशील हुनु चाहिँ आजको आवस्यकता हो ।

विशाल दर्लामी
अध्यक्ष , राष्ट्रिय जनमोर्चा पाल्पा
राष्ट्र कुनै एउटा सरकार, दल वा पुस्ताको मात्र सम्पत्ति होइन। यो सबै नेपालीको साझा घर हो। घरभित्र समस्या छन् भने घर जलाएर समाधान हुँदैन, समस्या पहिचान गरेर, संवाद गरेर र संरचनागत सुधार गरेर समाधान खोज्नुपर्छ।
त्यसैले भाद्र २४ नेपालको इतिहासमा एउटा कालो दिन अवश्य हो—तर त्यो कालो दिनबाट उज्यालो भविष्य निर्माण गर्ने संकल्प गर्न सके मात्र त्यस दिनको पीडा र क्षतिको वास्तविक अर्थ हुनेछ।




