आज कवि मोतीराम भट्ट जयन्ती

 

काठमाडौं, भदौ २६ । नेपाली साहित्यका युवा कवि, साहित्यकार तथा पत्रकार मोतीराम भट्टको जन्मजयन्ती आज विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन मोतीराम भट्टको जन्मजयन्ती मनाउने गरिन्छ। यस वर्ष कुशे औँसी तथा मोतीराम भट्ट जन्मजयन्ती भदौ २६ गते परेको छ। वि.सं. १९२३ भाद्र कृष्ण औँसीका दिन काठमाडौंमा जन्मिएका मोतीराम भट्टले छोटो ३० वर्षे जीवनमै नेपाली साहित्य, पत्रकारिता र मुद्रण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनको निधन पनि वि।सं। १९५३ को भाद्र कृष्ण औँसीकै दिन भएको थियो।

मोतीराम भट्ट नेपाली साहित्यमा विशेषगरी गजल, शृङ्गारिक कविता र साहित्यिक पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा स्मरण गरिन्छन्। उनले आदिकवि भानुभक्त आचार्यका रचनालाई खोजी, प्रकाशन र प्रचारप्रसार गरी भानुभक्तको साहित्यिक योगदानलाई व्यापक पाठकसमक्ष पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाली साहित्यको विकाससँगै पत्रकारिता र मुद्रण क्षेत्रमा समेत उनको योगदान उल्लेखनीय मानिन्छ। उनले छापाखाना स्थापना तथा साहित्यिक सामग्री प्रकाशनमा सक्रिय भूमिका खेलेका थिए। यसबाट नेपाली भाषामा साहित्यिक तथा पत्रकारिताका सामग्री प्रकाशनको विकासमा सहयोग पुगेको थियो।

मोतीराम भट्टलाई नेपाली गजलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने साहित्यकारका रूपमा पनि लिइन्छ। नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्षदेखि मोती जयन्तीका अवसरमा राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ। छोटो जीवनकालमै नेपाली साहित्यमा महत्वपूर्ण छाप छोडेका मोतीराम भट्टको योगदान आज पनि नेपाली साहित्यको इतिहासमा उत्तिकै स्मरणीय रहेको छ। मोती जयन्तीका अवसरमा साहित्यकार, लेखक, विद्यार्थी तथा साहित्यप्रेमीहरूले उनको साहित्यिक योगदानको चर्चा गर्दै उनको सिर्जना र विचारलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित