९ सेप्टेम्बर २०२६ । चीनको वाणिज्य मन्त्रालयले चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूले अमेरिकी एआई मोडेलबाट प्रविधि तथा क्षमता ‘डिस्टिल’ गरी औद्योगिकस्तरमा प्रयोग गरिरहेको भन्ने अमेरिकी आरोपको कडा विरोध गरेको छ। चीनले उक्त आरोपहरू आधारहीन र कानुनी आधारविहीन भएको जनाएको छ।
बुधबार मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षले एआई मोडेलको ‘डिस्टिलेसन’ प्रक्रियालाई राजनीतिक विषय बनाएको आरोप लगाउँदै यो एआई उद्योगमा व्यापक रूपमा प्रयोग हुने सामान्य प्राविधिक तथा व्यावसायिक अभ्यास भएको बताए।
प्रवक्ताका अनुसार एआई डिस्टिलेसन विभिन्न मोडेलबीच ज्ञान तथा क्षमताको सिकाइ आदान–प्रदानका लागि प्रयोग हुने सामान्य प्राविधिक माध्यम हो। अमेरिकी कम्पनीसहित विश्वभरका एआई विकासकर्ताले यसको प्रयोग गर्दै आएका छन्। यस प्रक्रियाले एआई मोडेलको सिकाइ दक्षता बढाउनुका साथै मानव ज्ञानको थप प्रभावकारी उपयोगमा सहयोग पुर्याउने चीनको भनाइ छ।
चीनले आफ्ना खुला–स्रोत एआई मोडेलहरू विश्वभरका उद्यम तथा विकासकर्ताका लागि खुला रहेको पनि स्पष्ट पारेको छ। प्रवक्ताले केही अमेरिकी उद्यमहरूले समेत ठूलो मात्रामा चिनियाँ एआई मोडेलको डिस्टिलेसन गरेको सार्वजनिक रूपमा खुलासा गरेको दाबी गरे।
तर अमेरिकी पक्षले बारम्बार चिनियाँ उद्यमहरूलाई ‘औद्योगिकस्तरीय डिस्टिलेसन’ मा संलग्न भएको आरोप लगाउँदै सामान्य प्राविधिक अभ्यासलाई आक्रामक गतिविधिका रूपमा प्रस्तुत गरेको चीनको आरोप छ। यस्तो व्यवहारले अमेरिकाको चिन्ता र दोहोरो मापदण्ड प्रतिबिम्बित गर्ने प्रवक्ताले बताए।
चीनका अनुसार अमेरिकाले यस वर्ष चिनियाँ कम्पनीहरूको एआई डिस्टिलेसन अभ्यासमाथि प्रतिबन्ध र थप दमनको चेतावनी दिँदै आएको छ। यस्तो नीतिको उद्देश्य अमेरिकी कम्प्युटिङ शक्ति र डेटामाथिको प्रभुत्व कायम राख्नु तथा अन्य देशलाई एआई प्रविधिको नवप्रवर्तन र उपलब्धिको समावेशी लाभ लिनबाट रोक्नु रहेको चीनको दाबी छ।
प्रवक्ताले चीन र अमेरिकाले एआई क्षेत्रमा उत्पन्न चुनौती तथा जोखिमलाई सक्रिय, जिम्मेवार र रचनात्मक ढंगले सम्बोधन गर्नुपर्ने बताए। दुवै देशका राष्ट्रप्रमुखबीच एआईसम्बन्धी अन्तरसरकारी संवाद गर्ने सहमति भइसकेको उल्लेख गर्दै उनले चीन समानता, पारस्परिक लाभ र जीत–जीत सहकार्यका आधारमा अमेरिकासँग व्यावसायिक छलफल गर्न इच्छुक रहेको बताए।
तर अमेरिकी पक्षले चिनियाँ एआई उद्यममाथि दबाब वा दमनका कदम अघि बढाएमा चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न दृढ प्रतिवाद गर्ने चेतावनी पनि प्रवक्ताले दिए।
स्रोत : सिन्ह्वा एजेन्सी

