भदौ ३१, २०८३,भारत । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) रेड स्टारको १३औँ महाधिवेशनको भव्य सफलताको कामना गर्दै हार्दिक क्रान्तिकारी अभिवादन तथा शुभकामना व्यक्त गरेको छ। महासचिव सी.पी. गजुरेल ‘गौरव’ ले ऐतिहासिक महाधिवेशनलाई पार्टीको तर्फबाट आधिकारिक शुभकामना सन्देश पठाउनुभएको हो। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) रेड स्टारको १३औँ महाधिवेशन सन् २०२६ सेप्टेम्बर १६ (तदनुसार २०८३ भदौ ३१) देखि भारतको कर्नाटक राज्यमा औपचारिक रूपमा सुरु भएको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भई महाधिवेशन सफलताको शुभकामना दिनुको साथै पार्टी महासचिव सी.पी. गजुरेल ‘गौरव’ ले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सी.पी. गजुरेल ‘गौरव’ द्वारा प्रेषित शुभकामना सन्देशको पूर्ण पाठ यस प्रकार छ–
आदरणीय कमरेड पी.जे. जेम्स,
महासचिव, केन्द्रीय समिति , भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी ) रेड स्टार
तथा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी ) रेड स्टारको १३औँ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि कमरेडहरू
विषय : शुभकामना सन्देश।
प्रिय कमरेडहरू,
भारतको रायचुर, कर्नाटकमा सन् २०२६ सेप्टेम्बर १६ देखि २१ सम्म आयोजना भइरहेको तपाईंहरूको पार्टीको १३औँ ऐतिहासिक महाधिवेशनको यस गौरवमय अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिले सम्पूर्ण नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा आम पार्टी पंक्तिप्रति हार्दिक क्रान्तिकारी अभिवादन र हार्दिक बधाई ज्ञापन गर्दछ।
तपाईंहरूको यो १३औँ महाधिवेशन अन्तर्राष्ट्रिय परिस्थितिमा बढ्दो साम्राज्यवादी हस्तक्षेप, पुँजीवादको गहिरो संकट र जनअधिकारका आन्दोलनहरूको बढ्दो लहरका बीच एक ऐतिहासिक र चुनौतीपूर्ण घडीमा आयोजना भइरहेको छ। यस्तो संवेदनशील समयमा एउटा क्रान्तिकारी पार्टीको महाधिवेशन केवल एक नियमित सङ्गठनात्मक प्रक्रिया मात्र होइन, बरु यो त वैचारिक स्पष्टतालाई तिखार्ने, सही कार्यदिशा तर्जुमा गर्ने र सर्वहारा वर्ग एवं श्रमजीवी जनताको संघर्षलाई विजयतर्फ डोऱ्याउन आवश्यक सङ्गठनात्मक शक्ति निर्माण गर्ने महत्त्वपूर्ण थलो पनि हो।
हामी सीपीआई (एम.एल.) रेड स्टारलाई भारत र समग्र दक्षिण एसियाको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको एक अडिग र भरपर्दो शक्तिका रूपमा उच्च सम्मान गर्छौँ। मार्क्सवाद– लेनिनवादको विरासतलाई अक्षुण्ण राख्न, सबै प्रकारका संशोधनवादको प्रतिवाद गर्न र भारतीय शासक वर्गका नवउदारवादी नीतिहरूका विरुद्ध मजदुर तथा किसानहरूलाई सङ्गठित गर्न तपाईंहरूले गर्नुभएको निरन्तर प्रयास यस क्षेत्रका र विश्वभरिका क्रान्तिकारीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
हाम्रा दुवै पार्टीहरू साझा सीमा, साम्राज्यवाद र सामन्ती शोषण विरुद्धको संघर्षको साझा इतिहास र सम्पूर्ण उत्पीडित जनताको मुक्तिको साझा आकांक्षाद्वारा जोडिएका छन्। नेपाल र भारतका क्रान्तिकारी आन्दोलनहरूबीचको यो सम्बन्ध सर्वहारा अन्तर्राष्ट्रियतावादको जगमा आधारित र निकै गहिरो छ। हाम्रो बुझाइमा दक्षिण एसियाका जनतालाई अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक र मुख्य रूपमा नव–औपनिवेशिक शोषण एवं उत्पीडनको साङ्लोबाट मुक्त गर्न यस क्षेत्रमा क्रान्तिकारी रूपान्तरण अपरिहार्य छ र यसका लागि हाम्रो क्षेत्र तथा विश्वभरिका सच्चा कम्युनिस्ट शक्तिहरूबीच बलियो र नीतिगत एकता आवश्यक छ।
कमरेडहरू,
एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अगाडि रहेका कार्यभारहरू सधैँ चुनौतीपूर्ण र कठिन हुन्छन्। यसका लागि मार्क्सवाद–लेनिनवाद–माओवादका क्रान्तिकारी सिद्धान्तहरू ढृढतापूर्वक अंगाल्ने, आत्म–आलोचनाको साहसी भावना कायम राख्ने र उत्पीडित जनतासँग अविछिन्न सम्बन्ध राख्नु आवश्यक हुन्छ। तपाईंहरूको यो १३औँ महाधिवेशनले भारतीय क्रान्तिका चुनौतीहरूमाथि गम्भीरतापूर्वक छलफल गर्दै सही राजनीतिक एवं सङ्गठनात्मक दिशा तय गर्नेछ र वर्ग संघर्ष एवं अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आवश्यकतालाई सम्बोधन गर्न पार्टीलाई अझ सुदृढ बनाउनेछ भन्ने कुरामा हामी पूर्ण रूपमा विश्वस्त छौँ।हाम्रा दुवै देशका बहुसंख्यक जनताले प्राचीन धर्मका रूपमा हिन्दु धर्म मान्दै आएका छन्। भारतमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले लामो समयदेखि हिन्दुत्ववादी फासीवादी नीति अवलम्बन गर्दै आएको छ, जसलाई मोदी सरकारले सत्तामा पुग्ने हतियारको रूपमा प्रयोग गर्यो। आज भारतीय जनता यही हिन्दुत्ववादी फासीवादको उत्पीडनमा पिल्सिएका छन्।
भारतका आरएसएस जस्ता हिन्दुत्ववादी समूहहरूले नेपालमा पनि हिन्दू राज्य र राजतन्त्र ब्युँताउने बहानामा जातीय र धार्मिक द्वन्द्व भड्काउने प्रयास गरिरहेका छन्। त्यसैले, धर्म र जातजातिका नाममा गरिने यस्ता फासीवादी राजनीति र प्रवृत्तिको विरोध गर्न हाम्रा दुवै पार्टीले संयुक्त पहलकदमी लिनु आवश्यक छ भन्ने हामी ठान्दछौँ।तपाईंहरूको १३औँ पार्टी महाधिवेशनको भव्य सफलताको हार्दिक कामना गर्दछौँ !
हार्दिक क्रान्तिकारी ऐक्यबद्धता सहित,
सी.पी. गजुरेल ‘गौरव’
महासचिव
केन्द्रीय समिति, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
मिति: १३ जुलाई २०२६

