मनु वि.क
२०८२ भदौ २३ गते नेपालमा ठूलो जेनजी उमेर समुहको नाममा आन्दोलन भयो । यो आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार परिवर्तन गरेर सुशीला कार्की नेतृत्वको सरकारको गठन भयो । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते संसदीय निर्वाचन सम्पन्न गराएर २०८२ चैत्र १३ गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको छ । भदौ २३ गते जेनजीको आन्दोलन भएको १ वर्ष पूरा भएको छ । १ वर्ष पूरा भएको छ । एक वर्ष पार गरेको यो आन्दोलनको समीक्षा गर्नु उचित हुनेछ ।
जेन्जी आनदोलनको पृष्ठभूमि ः
जेनजी आन्दोलन भन्दा अगाडिको देशको अवस्थाको बारेमा जानकारी हुनु आवश्यक छ । यो भन्दा अगाडि २०८१ चैत्र १५ गते पनि यही प्रकारको आन्दोलन भएको थियो । आन्दोलनमा राजावादीहरुको समुहको नेतृत्व रहेको बताइएको थियो । यो आन्दोलनमा व्यापक मात्रामा काठमाण्डौको कोटेश्वर एरियामा आगजनी, तोडफोड,लुटपाट भएको थियो । यो आन्दोलनको आगजनीमा परि पत्रकार सुरेश रजकको समेत मृत्यु हुन पुगेको थियो । त्यो सुरेश रजकको हत्या नै थियो । त्यो आन्दोलनमा व्यापक मात्रामा सार्वजनिक ,निजी तथा देशका राजनीतिक पार्टीहरुका कार्यालयहरु र सपिङ मलहरुमा आगजनी तोडफोड भएको थियो । आन्दोलनकारीहरुले सरकारी उद्योगमा समेत आगजनी गर्न पुगेका थिए ।
यो आन्दोलन हुनु भन्दा पहिले र पछिको अवस्थामा देशमा व्यापक मात्रा महंगी विरुद्ध, राष्ट्रियताको पक्षमा तथा सहकारी,लघुवित्त,तथा मिटरव्याज पीडितहरुको स्थानीय तथा राजधानी केन्द्रित आन्दोलनहरु भइरहेका थिए । उनीहरुले न्याय पाउन सकेका थिएनन् । देशमा कुनै रोजगारीको अवस्था छैन । रोजगारी नपाउँदा रोजगारीकोलागि विदेशी भूमिमा नेपालीहरुले रगत पसिना बगाइरहेका छन् । देशमा पटक पटकको आन्दोलन भए पनि र राजनीतिक सत्ता परिवर्तन आए पनि देशमा जनताले सोचेको जस्ता भएको थिएन । जनताले महंगी ,कालोबजारी दलालीकरण सबैको मार सहनु परेको थियो । देशमा निजीकरण,व्यापारीकरण तथा दलालीकरणको मार त थियो नै । त्यो मात्रै होइन समस्या निकै भयावहको स्थिति थियो र अहिलेसमेत पनि त्यसको अन्त्य हुन सकेको छैन । देशमा वित्तीय शोषणमा परेका जनताहरुको आन्दोलन चलिनै रहेका थिए ।
यही अवस्थामा प्रधानमन्त्री केपी ओली देश चीनमा हुन गइरहेको साङ्घाइ सहयोग सम्मेलनको २५ औं सम्मेलनमा भाग लिन पुगेका थिए । त्यो सम्मेलनमा केपी ओली,चीनका राष्ट्रपति सिजिन पिङ र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनसँग भेट भएको थियो । सो भेटको कतिपयलाई मन परेको थिएन । खास गरी अमेरिकी पक्ष तथा भारतीय पक्षलाई मन पर्ने कुरा थिएन । केपी ओली त्यहाँबाट फर्किए लगत्तै सरकारले दर्ताको लागि आह्वान गर्दा पनि अटेर गरिरहेका सामाजिक संजालहरुलाई नेपालमा दर्ता हुनकोलागि आह्वान गरेको थियो तर पनि अटेर गरेर बसे । कुनै कर तिर्नु नपरेर निर्बाध रुपमा व्यापार गर्न पाएमा किन दर्ता गर्नु प¥यो ?सामाजिक संजाल दर्ता हुन आउनु प¥यो भन्ने नेपाल सरकारको त्यो कदम सही थियो । दर्ता हुन नआउने सामाजिक संजालहरुलाई सरकारले बन्द गर्ने भनेर पटक पटक ताकेता गरेको थियो तर पनि संजालहरुले अटेर गरिरहेका थिए । सरकारको पछिल्लो ताकेतालाई पनि सामाजिक संजालहरुले वेवास्ता गरेर सरकारले नेपाल सरकारसँग दर्ता हुने नआउने सामाजिक संजालहरुलाई बन्द गर्ने निर्णय गरेको थियो । भन्न त सामाजिक संजालहरुलाई दर्ता गरेपछि संचालन हुन्छ भन्दै सरकारले जनतालाई आश्वासन दिइरहेको थियो । सामाजिक संजाल बन्द भए पछि युवा विद्यार्थीहरु सरकारप्रति पुरै आक्रोशित हुन पुगे र जेनजीको नाममा भएको आन्दोलनमा सहभागी हुन पुगे । राजनीतिक दाउ हेरेर बसेकाहरुले जेनजी तथा युवा विद्यार्थीहरुको आक्रोशलाई प्रयोग गर्न सफल भए ।
जेनजी आन्दोलन नाम दिइएको आन्दोलनमा युवाहरुको आक्रोश मात्रै मिसिएको थिएन । युवाहरुलाई प्रयोग गर्न निकै योजनाबद्ध काम भएको थियो । जेनजी आन्दोलन हुनु भन्दा पहिले सबै विभिन्न संघ संस्थाहरुमार्फत स्कूल कलेजहरुमा कलिला विद्यार्थीहरुलाई विभिन्न प्रकारका तालिमहरु दिने अथवा विभिन्न प्रकारले सरकारप्रति असन्तुष्टि सिर्जना गर्ने काम भएको थियो । विद्यार्थीहरुलाई प्रयोग गर्न चाहेकाहरुले विद्यार्थीहरुलाई राम्रोसँग प्रयोग गर्न सफल भए ।
जेनजी आन्दोलन हुनु भन्दा अगाडि नेपाली राजनीतिमा करिब २० वर्षको अवधिमा नेपाली युवा विद्यार्थीहरुलाई मूल धारका राजनीतिक पार्टीका नेतृत्वहरु राजनीति गर्ने कुरा होइन,राजनीति गर्नु बिग्रनु हो, फलाना राजनीति गरेर बिग्रेको, वा राजनीति प्रति गलत कुरा सिकाइएको थियो । शैक्षिक संस्थाहरु राजनीति र विचार विहीनताको स्थिति थियो । राजनीति गर्ने दलहरुले पनि आफुनै सँधै भरि सत्तामा रही रहने मनोविज्ञान पालेका थिए । आफु बाहेक कोही पनि सत्तामा आउन सक्नेछन् भन्ने अनुमान समेत सत्तामा रहेका राजनीतिक दलहरुले सोच्न पाएका भ्याएका थिएनन् । यसको असर केवल नयाँ पुस्ताका विद्यार्थी तथा युवाहरुमा अधिकांश बोर्डिङहरुले विद्यार्थीलाई देश समाज ,राजनीति के हो ? भन्ने खालको शिक्षा दिनबाट विद्यार्थीहरुलाई रोकिरहेको अवस्था थियो र त्यो आज पनि छ । बोर्डिङहरुमा विद्यार्थी, राजनीति,देश, समाज प्रतिको जिम्मेवारी भन्दा पनि जसरी हुन्छ अंग्रेजी भाषामा ध्यान दिने,अंग्रेजी भाषा जानेपछि मात्रै सबै जान्ने जस्तो भ्रम पारिएको थियो र छ । राजनीति गर्ने काम भनेको विद्यार्थी बिग्रने काम हो भनेर अर्थ लगाउन खोजिएको थियो । जसको कारण विद्यार्थीहरुमा सही र गलत राजनीतिको विषयमा जानकारी हुन गाह्रो भयो २०४७ पछिको राजनीतिक माहोलमा घर तथा शैक्षिक संस्थाहरुमा त्यो प्रकारको प्रशिक्षण गरिएको कारण विद्यार्थीहरुमा राजनीतिक सचेतता आउन सकेन । वोर्डिङहरुमा राजनीतिक दललाई प्रवेश निषेध थियो । वोर्डिङका सञ्चालकहरुले राजनीतिक विद्यार्थी संगठनहरुलाई गेटमा नै रोक्दथे। अहिले पनि त्यो क्रम जारी छ । यसले गर्दा कुन राजनीति सही तथा कुन राजनीति गलत भनेर सिक्ने अवसर पछिल्लो समयका विद्यार्थीले पाएनन् । यसले गर्दा विद्यार्थीहरुमा राजनीतिको मूल्य मान्यता समेत जान्ने अवसर पाएनन् । आमा,बाबु,घर,परिवार, छिमेकी सबैले राजनीतिलाई घृणा गर्ने संस्कार सिकाउन थाले पछि देशको अवस्था के हुन्छ भन्नेमा कसैको अनुमान रहेन । सबैतिरको राजनीति विरोधी प्रशिक्षणका कारण युवाहरुमा राजनीतिप्रति कुनै चासो नै नहुने व्यक्तिगत लाभको लागि मात्र काम गर्ने खालको शिक्षा दिएको थियो । यसको युवाहरु नितान्त व्यक्तिगत काममा मात्र लाग्ने ,देश समाजप्रतिको योगदानको बारेमा कुनै पनि ध्यान नदिने प्रकारको युवाहरुलाई बनाउँदै लगिएको थियो। युवाहरुले देश विदेश जहाँ पुगेर भए पनि पैसाको जोहो गर्ने,पैसा कमाउने काम बाहेकलाई केही काम नै नमान्ने प्रकारको प्रशिक्षण समाजमा दिइएको थियो । जान अनजानमा यो प्रकारको शिक्षाले जनतामा राजनीतिप्रति कुनै चासो नै नदिने खालको प्रवृति देखियो । यसले नयाँ युवा विद्यार्थीहरुमा नैराश्यता राजनीतिप्रति वितृष्णा जागिरहेको थियो । नेपालको राजनीतिमा जति नै नाम गरेका पार्टीहरु आएपनि जनताको चाहना आवश्यकता पूरा हुन सकेको थिएन ।देशमा रोजगारी नपाएर विदेशी भूमिका रगत,पसिना,बगाउन विवश नेपालीहरुको कहाली लाग्दो अवस्था छ ।
यो अवस्थाबाट छुटकारा कसरी पाउन सकिन्छ भन्ने चिन्ता सबैमा छ । यसको लागि पनि सबै युवाहरु जेनजीको नाममा भएको आन्दोलनमा गएका थिए । जेन्जी आन्दोलनको क्रममा शान्तिपूर्ण आन्दोलन भनिएको थियो । शान्तिपुर्ण आन्दोलन भएको कारयो शान्तिपूर्ण आन्दोलनको बहाना भएको थियो । शान्तिपूर्ण आन्दोलन भएको कारण विद्यार्थीहरु सबैलाई झोला, ड्रेस मै आउन भनिएको थियो । सबै जनालाई नेपालको झण्डा ओढेर आउन भनिएको थियो । विद्यार्थीहरु सोही अनुसार गए । आन्दोलनको भित्री योजना कसैलाई थाहा हुन पाएन । कसको योजनामा ? किन ? कसलाई सत्तामा पु¥याउन खेल खेलिँदै थियो भन्ने कुरा विद्यार्थीहरुलाई थाहा हुने कुरा भएन । सुशासन तथा भ्रष्टाचार अन्त्यकोलागि भन्दै विद्यार्थीहरुलाई विरोधमा आउन भनिएको थियो । सामाजिक संजालहरु प्रयोगकर्ताहरुलाई त्यो समयमा सामाजिक संजालमाथि प्रतिबन्ध लगाउँदा त्यो कुरा सैह्य हुन सकेन । सामाजिक संजाल प्रयोगको लत मानिसहरुमा यतिसम्म लागेको थियो कि त्यो लतका कारण युवाहरुले संजालमाथि प्रतिबन्ध लगाएको एकसेकेण्ड पनि सहने धैर्यता कायम गर्ने अवस्थामा थिएनन् । यसले गर्दा सामाजिक संजाल माथिको प्रतिबन्धका विरुद्ध पनि आन्दोलनमा आएका थिए । सामाजिक संजालको लत निकै खतरनाक हुँदै गएको छ ।
युवाहरु विद्यार्थी ड्रेसमा आउन भनेको छ । ड्रेसमा नै विद्यार्थीहरु आउन भने पछि विद्यार्थीहरु स्कुल डे«समा नै आएका थिए । विद्यार्थीहरु निकै शान्तिपुर्ण भनिएको यो आन्दोलनको दिनमा कहाँ के हँुदैन भन्ने कुरा समेत प्रशासनले थाहा पाउन सकेन । आन्दोलन शान्तिपूर्ण हुने भनिएको थियो । शान्तिपूर्ण भनिएको कारण यो शान्तिपुर्ण जुलुशमा के गर्ने ?के नगर्ने भनेर नियमहरु पनि सुनाएको थियो ।
शान्तिपुर्ण आन्दोलन भने पनि कताबाट कहाँबाट गोली चल्यो भन्ने कुरामा सरकारले अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन । भन्दा त आन्दोलनमा घुसपैठ भएको भनिन्छ तर त्यो खोजबिन १ वर्ष बित्दासम्म हुन सकेको छैन ।
जेनजी आन्दोलनमा सबै राजनैतिक दल प्रयोग हुन पुगेका थिए । दल निकट युवाहरु सबै प्रयोग हुन पुगेका थिए । सत्तावाला दलका नेताहरुका विरुद्ध युवा विद्यार्थीहरु, आफ्नै नेताका विरुद्ध प्रयोग भएका थिए । प्रतिपक्ष दलहरुका युवा विद्यार्थी सबैको सहभागिता रहने बताइएको थियो । नयाँ सरकार आउँछ आफुको नेतृत्वमा सरकार बन्न सक्छ भनेर भित्र भित्रै बसेका प्रतिपक्षका नेताहरुले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई सहभागी हुन पठाएका थिए । जातीय आन्दोलनको नेतृत्व गरेकाहरुले पनि आफुले केही पाउन सकिन्छ भनेर पठाएका थिए । राजतन्त्रको पुनस्र्थापना गर्न चाहेकाहरुले राजतन्त्र ल्याउने दाउ हेरेर बसेका कारण र २०८१ चैत्र १५ गते काठमाण्डौको प्रदर्शनमाथि भएको दमनको बदला राज्यसँग लिनु थियो र राजतन्त्र ल्याउन सकिन्छ कि भन्ने थियो । त्यसले गर्दा उनीहरुको सहभागिता रहेको थियो । रास्वपाका नेता कार्यकर्ताहरुलाई आफ्ना नेता रवि लामिछानेको सहकारी ठगी मुद्दामा जेल राखिएकोमा प्रतिशोध लिनु थियो । आफ्ना नेतालाई छुटाएर ल्याउनु थियो । त्यसकोलागि जुनसुकै प्रकारको भए पनि आन्दोलन गर्नु पर्ने उनीहरुको बाध्यता रहेको थियो । जेलबाट जसरी भए पनि छुटाउन पर्ने थियो । त्यसकोलागि जेल फोर्न, अदालतका फाइलहरु जलाउनु समेत उनीहरु तयार भइरहेका थिए ।
देशका आफुलाई क्रान्तिकारी धारको नेतृत्व गरिरहेका पार्टीहरुलाई आफुले गरेको हतियारबद्ध आन्दोलनबाट आफ्ना कार्यकर्ताहरुलाई जेलनेल, यातना, र मुद्धाहरु खेप्नु बाहेक केही पनि हात लाग्न सकेको थिएन । हतियारबद्ध आन्दोलनबाट पनि आफुले भनेको जस्तो सत्ता ल्याउन नसकेको कारण युवा विद्यार्थीहरुले शान्तिपूर्ण तरिकाबाट ल्याउन सक्छन् कि र आफु सत्ताको सिँढीमा चढ्न पाइन्छ कि भन्ने भ्रम थियो । त्यसकारण सबै नेता कार्यकर्ताहरु परिचालन हुन पुगेका थिए । ठूला ठूला सभा तथा भाषणहरु पत्रकार सम्मेलनहरुमा ती पार्टीका नेताहरुले फलाना फलाना स्थानका कार्यालयहरु, आगजनी तोडफोड तथा नेताहरुको घरमा भएको लुटपाट तथा आगजनीमा हाम्रो नेतृत्वमा भएको थियो भन्दै गर्वका साथ भनेको पनि सुनिएको छ । अर्कोकुरा दल भित्र कै गुटहरु एक अर्का विरुद्ध परिचालन भएका थिए ।
त्यो आन्दोलनमा रास्वपा लगायतका नेताहरु पनि राम्रैसँग प्रयोग हुन पुगे भन्ने कुराको प्रमाण जेन्जी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र पछि २०८२ फागुन २१ गतेको संसदीय निर्वाचन पनि बनेको बालेन नेतृत्वको सरकारमा रास्वपाका भनिएका रवि लामिछाने पक्षधरका नेताहरुको सरकारमा उपस्थिति हुन नपाउनुले र पानी बाँड्न हिँडेका भनिएका मान्छेहरुको उपस्थिति हुनुले बताउँछ ।
भदौ २३ गते निकै योजनाबद्ध तरिकाले काम भएको छ । २३ गते कताबाट गोली चल्यो ? कसले गोली चलायो ? भदौ २४ गते देशभर खरबौंको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति क्षणभर मै जलेर खरानी बनाइयो । लुटपाट,आगजनी र तोडफोडले सकियो । नत सत्तामा बसेकाले दमनको जिम्मा लिन्छन् नत आन्दोलनको कसैले जिम्मा लिन्छन् । कसको नेतृत्व योजनामा देश जलाउन सबै प्रयोग भए ? देशभरिका ७६ जनाका युवाहरुको अनाहकमा ज्यान गयो । सयौं घाइते, अपाङ्ग हुन पुगे । भदौ २४ गते जुन आगजनी तोडफोड भएको थियो । त्यसको खरानी स्याहार्नकोलागि २५ गते नै आफुलाई जेनजी आन्दोलनको समर्थक भन्ने नेताहरुले अह्राएका थिए । यसले यो आन्दोलन स्वतःस्फूर्त थिएन योजनाबद्ध थियो भन्ने देखाउँछ । आन्दोलनमा घाइते हुनेहरुलाई अस्पतालमा उपचार गर्न ती समर्थक भनिएका डाक्टरहरु तत्कालै उपस्थित भएकाले पनि यो पुष्टि हुन्छ । आन्दोलन पछि को कसलाई पाखा लगाउने र को कसलाई ल्याउने भन्ने पनि योजनाबद्ध भएको देखिन्छ ।
जेनजी आन्दोलन भनिएको आन्दोलन २०८२ भदौ २३ गते को कहाँबाट परिचालन भएको थियो? को कसको रिस फेर्न परिचालन भएको थियो ? भन्ने कुराको गम्भीर विश्लेषण हुनु पर्ने आवश्यकता छ । नेपालको आगामी राजनीतिलाई अगाडि बढाउने हो भने यसको गम्भीर समीक्षा हुनु जरुरी छ । देशमा क्षणभर मै खरानी बनाउने निर्देशन कसको थियो ? नेपाली युवाहरु कसको निर्देशनमा परिचालन भएका थिए वा परिचालन गरिएको थियो ? युवाहरुलाई कसरी परिचालन गर्न सकिन्छ ? आफ्नो निर्णय तथा आफ्नो निर्देशन विना भएको आन्दोलनमा सहभागिता जनाउँदा के फाइदा तथा के वेफाइदा हुने रहेछ भन्ने कुरा पनि गम्भीर तरिकाले बुझ्नु पर्दछ । युवाहरु भड्काएर आफ्नै देश विरुद्ध प्रयोग गर्न कति चाँडै सफल हुँदा रहेछन् भन्ने पनि गहिरो पाठ सिक्न आवश्यक छ । नेपाली सुरक्षा निकायको भूमिका माथि पनि निकै नै प्रश्नहरु नेपाली जनताले राख्नु पर्छ । सुरक्षा निकायमाथि विश्वास गरेर बसेका नेपालीहरुले सुरक्षा निकायलाई विश्वास गर्ने आधारहरु केके छन् ? भनेर खोज्न पर्ने भएको छ । जुन निकायको संरक्षण गर्न भनेर सुरक्षा निकायहरु बसेका थिए ती निकायहरुको सुरक्षा हुन नसकेर दनदनी जलेर खरानी हुन पुगेका छन् ।
नेपाली विद्यार्थीहरुलाई राजनीति गर्नु हुँदैन भनेर जति नै माथिल्लो स्तरको प्रशिक्षण गरे पनि त्यो त रोकिँदो रहेनछ बरु गलत तरिकाले प्रयोग हुने रहेछ भन्ने कुरा पनि यो जेन्जी आन्दोलनले सिकाएको हुनु पर्छ । आफ्नो निर्णय र नेतृत्व बाहेकको आन्दोलनमा सहभागिता जनाउँदा फाइदा अरुले नै लिन सक्छन् भन्ने आँकलन गर्न समेत राजनीतिक दलहरु चुकेको देखिन्छ । अब त मेरै पालो आउँछ कि भनेर मुख मिठ्याएर बस्दा अर्को कसरी फ्याट्ट सत्ताको वागडोर समाल्न आउँछ ? भन्ने कुरा पनि यो आन्दोलनले पाठ दिएको छ । वास्तविक रुपमा जेनजीको भनिएको आन्दोलन कसको हो ? कसको निर्देशनमा सञ्चालित थियो ? देशले के पायो ? र गुमायो ? भन्ने कुराको गम्भीर प्रकारले अध्ययनको खाँचो खड्किएको छ । किन कि यो आन्दोलन पछि पनि जनताका समस्याहरु समाधान हुन सकेका छैनन् । जनताको समस्याहरुको समाधान राजनीतिको केन्द्रविन्दु हो ।

