सिराहा जिल्लामा कम्युनिस्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

 

रामबहादुर बुढा

स्थान परिचयः
नेपाल एकीकरण पूर्व यस भेगलाई चौदण्डी राज्यको रुपमा राजा कर्णसेनले राज्य गरेको इतिहास छ । चौदण्डी राज्यको सिमाना पश्चिम कमला नदीदेखि पूर्वमा कोशी नदीसम्म फैलिएको र चौदण्डी राज्य अन्तर्गत विजयपुर अछरपुर(वर्तमान सिराहा र सप्तरी ) पनि रहेको पाइन्छ । गोरखाली फौजबाट काठमाडौं उपत्यकाको विजय पश्चात् पूर्व तर्फ एकीकरण अभियान संचालन गर्ने क्रममा गोरखाली सेनाले चौदण्डी राज्य विजय गरेको थियो । (चौलागाई, २०८१)
नेपालमा ३५ वटा जिल्ला छँदा सिराहा जिल्ला सप्तरी जिल्ला अन्तर्गत थियो । २०१८ सालमा मात्र सिराहा जिल्लाको स्थापना भएको हो । कमला नदीदेखि पूर्व र मलान नदीदेखि पश्चिमको भूभाग, उत्तरमा उदयपुर जिल्ला दक्षिणमा भारत र पश्चिममा धनुषा जिल्ला पर्दछ । प्राचीनकालमा यसठाउँमा सलहेस राजाले राज्य गर्ने महिसोठा राज्य थियो । राजा सलहेसको नामबाट यहाँको ठाउँको नाम सिराहा रहन गएको भन्ने भनाई छ । सिराहा भन्ने सानो गाउँको नाम धेरै पहिलेदेखि थियो । सिराहा गाउँ सप्तरी जिल्ला अन्तर्गत भएका बेला पनि सिराहा गाउँमा माल अड्डा थियो । सप्तरी, जिल्लाबाट सिराहा जिल्ला छुट्टिंदा त्यही सानो गाउँ सिराहाको नामबाट  यस जिल्लाको नाम राखिएको थियो । (गोइत, २०८०)

वामपन्थी आन्दोलनको किल्ला
सिराहा जिल्ला इतिहासमा वामपन्थी आन्दोलनको केन्द्र थियो । सिराहा जिल्लाबाट नेकपाको प्रथम, द्वितीय, तृतिय महाधिवेशनमा केन्द्रीय सदस्य हुनु, २००८ देखि २०१३ सम्म पार्टी प्रतिबन्धका बेला ठूला- ठूला किसान आन्दोलन हुनु र किसानहरुलाई न्याय दिन सफल रहनु, तत्कालीन सप्तरी जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेकपाले उम्मेदवारी उठाउनु र बलियो जनमत प्रदर्शन गर्न सफल हुनु, न्यूक्लियस र चौमको महत्वपूर्ण केन्द्रीय बैठकहरु पटकपटक सिराहामा सम्पन्न हुनु,न्युक्लियसको निर्णय अनुसार चौथो महाधिवेशन सिराहामा गर्ने निर्णय हुनु तर महाधिवेशनबारे गोपनीयता चुहिएको भनेर २०३१ सालमा बनारसमा चौथो महाधिवेशन गरिएको घटना, नेकपा(मा.ले.) को चौथो महाधिवेशन २०४६ सालमा सिराहा जिल्लामा नै सम्पन्न हुनु, सुरुमा रायमाझी समूह र पछि मानान्धर समूह र वर्मा समूहको संगठनात्मक प्रभाव विशेषतः जिल्लाको दक्षिण भेगमा रहनु, २०४६ को राजनीतिक परिवर्तनपछि यस जिल्लामा वामपन्थी जनमतको राम्रै स्थिति हुनु,माओवादीद्वारा संचालित जनयुद्धमा यस जिल्लाको भूमिका मधेश क्षेत्रमा अग्रणी नै रहनु लगायतका इतिहास सिद्ध राजनीतिबाट यो जिल्ला वामपन्थी (कम्युनिस्ट) आन्दोलनको महत्वपूर्ण जिल्ला हो भन्न सकिन्छ ।

अविभाजितकालीन नेकपा
सिराहा जिल्लामा पहिलो पटक पदमपुर भन्ने ठाउँमा कृष्णप्रसाद अधिकारीको नेतृत्वमा २००८ सालमा नेकपाको समिति गठन भएको थियो । २००८ सालमा नै पहिलो पटक कृष्णराज वर्मा, पुनित अर्याल सहित ३ जनाको सप्तरी जिल्लामा कम्युनिस्ट पार्टी गठन भएको भनाई पनि छ। (यादव २०८०) नेकपाको त्यो समिति गठन हुनु भन्दा पहिले मिर्चैयाका युवाहरु धार्मिक अभियानमा लागेर समाज परिवर्तन गर्न खोज्दै थिए । पदमपुरका कम्युनिस्ट नेताहरु कृष्णप्रसाद अधिकारी र श्रीराम शर्माले मिर्चैयाका जयगोविन्द साह लगायतलाई सम्पर्कमा ल्याएर ‘युवक संगठन’ बनाए । जय गोविन्द साहको नेतृत्वमा युवक संगठन बनाएपछि सामन्तीप्रथा विरोधी अभियान चलाएका थिए । ती युवाहरुलाई पार्टी संगठनमा आवद्ध गर्न खोजिएको थियो । तर २००८ साल माघमा नेकपामाथि प्रतिबन्ध लागेपछि मिर्चैया क्षेत्रका युवक संगठनका युवाहरुलाई किसान आन्दोलनमा लगाइएको थियो । (पोखरेल, २०७५: २१) नेकपाको निर्देशन र तजवीजिमा चन्द्रशेखरको मातहतमा लाहानमा, जगगोविन्द साहको नेतृत्वमा पश्चिम कर्जनहा र बडहर, मिर्चैयामा, कृष्णप्रसाद अधिकारीको मातहतमा पदमपुर क्षेत्रमा किसानहरुको समस्या अध्ययन गर्ने जिम्मा दिइएको थियो । किसान आन्दोलनका १३ बुंदे माग तय गरिएको थियो ।
१) विर्ता उन्मूलन गर ।
२) जमिन्दारी प्रथा उन्मूलन गर ।
३) जिरायत जग्गा किसानलाई बाँड।
४) बेठवेगारी खारेज गर ।
५) ड्यौढालाई सवामन गर ।
६) सेरे सलामी बन्द गर ।
७) मोहियानी हक कायम गर ।
८) सवा मनको व्याज होस् ।
९) ६ सेर बोइन (ज्याला) देऊ ।
१०) नाजायज तमसुक खारेज गर ।
११) जातपात तोडि देऊ ।
१२) जग्गालाई हदबन्दी गर ।
१३) कर्जाको निम्ति धर्मभकारी खडा गर ।(पोखरेल, २०७५: २१)

यिनै मागहरुका आधारमा व्यापक आन्दोलन चल्यो । जसमा बन्दीपुर विर्ताको प्रति जग्गा कैयौं महाजनहरुको तमसुक च्यात्ने, भकारी फोड्ने र अनाज बाँड्ने जस्ता आन्दोलन भए । २०१२ सालमा भएको अनिकालको बेला भएको किसान आन्दोलनमा बहादुर मुसहरले सहादत प्राप्त गरेका थिए । त्यसै आन्दोलनका क्रममा सप्तरी त्रिकौल गाउँका अघोरी यादवलाई जिससक्राइस्टलाई जस्तै खुट्टा बाँधेर गोली हानी प्रशासले हत्या गरेको थियो (यादव २०८०)।

जयगोविन्द साह साँच्चै लोकप्रिय नेता थिए । सिराहा बडहारा मिर्चैयामा उनको घर थियो । गरिबहरुको व्याजको स्याज जोड्नेहरुको सबैको “कागज फट्टा” आन्दोलनको नेतृत्व उनले गरेका थिए । २०११, १२,१३ सालतिर “कागज फट्टा” आन्दोलन चल्यो । ठूलाठूला सामन्तहरु जस्तै सिराहाको सिस्वनी भन्ने गाउँमा ठक्कु गोहिवार( यादवको थर) लाई बाँधेर गाउँ घुमाइएको थियो । एउटा गरिबको जग्गामा जवरजस्ती उसले घर बनाएको थियो । जुलुश लिएर घर भत्काई गरिबलाई न्याय दिने काम गरिएको थियो । अहिले सिराहामा कमला खोलाको सिंचाई छ । तर १०/१२ सालतिर वर्षात् भएन भने उब्जाउ हुँदैन थियो र अनिकाल लाग्दथ्यो । त्यो बेला महाजनका अन्न गरिब, मजदुर, किसानहरुलाई वितरण गर्ने काम हुन्थ्यो । ज्यालामा वृद्धि लगायतका कैयौं सुधारका काम किसान आन्दोलनले गरेको थियो । यस्ता आन्दोलनहरुले विष्णुलाल वाइवा, काजीलाल वाइबा वाइबा लगायतका कैयौं युवाहरुलाई पनि कम्युनिस्ट राजनीतिमा आउन टेवा पु¥यायो । अहिलेका नेपालका एक धनाढ्य उपेन्द्र महतोका बुबाहरु दुई भाइ थिए– विश्वनाथ साहु र परमेश्वर साहु । उनीहरुलाई आन्दोलनकारीले कार्वाही गरेका थिए । विश्वनाथ साहुलाई आन्दोलनकारीहरुबाट मार्नबाट बँचाएको हुँदा जय गोबिन्दलाई नमः नमः गर्थे। (वाइवा, २०८०)

२०१० सालमा माधब शमसेर र गोबिन्द शमसेरको बन्दीपुरको प्रति जग्गा कब्जा गरी अखिल नेपाल किसान सघको झण्डा गाडी गरीब किसानहरुलाई त्यसमा बसाइएको थियो । २०१० सालको वर्षायामका बेला पिंडारीका हजारी साहुले किसानको जग्गा मिचेको समस्या समाधान, बर्छवाका किसानहरुको पैनिकोे समस्या समाधान,कोइलारीका जिम्दार ठाकुरबाबुुले ३०० विघा जग्गामा आफुले मात्र पानी लाउने अरुलाई नदिने गरेकाले किसान संघले उनी सित कागज गरी किसानहरुले पनि मानी लाउन पाउने व्यवस्था गरेको थियो । बगाहाका माधोसिंह साधो सिंहलाई किसानहरुसित पुनाई उठान नपाएने कागज गराइएको थियो । यस्ता कैयौं किसान पक्षीय न्यायपूर्ण संघर्ष भए र सफलता पनि प्राप्त भएको थियो । ( पोखरेल ,२०७५)

पदमपुरका कृष्णप्रसाद अधिकारी, श्रीराम शर्मा (गणेश शाहका ससुरा), जयगोविन्द शाह (कर्जनाह) सूर्यनाथ रान, लाहानका चन्द्रशेखर लालकर्ण लगायतका व्यक्तिहरु सिराहा (सप्तरी)जिल्लाका प्रारम्भिक कालका महत्वपूर्ण र क्रियाशील नेताहरु थिए । (गोइत २०८०) नेकपाको पहिलो महाधिवेशन (२०१०) मा सिराहाका कमर साह केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेशनमा सप्तरी जिल्लाबाट कमर साह, कृष्णराज वर्मा र कृष्णप्रसाद अधिकारी केन्द्रीय समितिमा पुगेका थिए । (पोखरेल,२०७५: ४८) २०१७ साल पौष १ गते राजा महेन्द्रले संसद विघटन गरी सत्ता हातमा लिएपछि नेकपाका महासचिव डा. केशरजंग रायमाझीले राजाको कदमलाई समर्थन गरे । ०१७ पौषको राजाको कदमपछि २०१८को अन्त्य र २०१९ प्रारम्भमा भएको नेकपाको दरभंगा प्लेनममा केन्द्रीय नेताहरु कृष्णप्रसाद अधिकारी, कृष्णराज वर्मा र कमर साह महासचिव केशरजंगको लाइनमा थिए तर सिराहाबाट त्यस प्लेनममा पुगेका जयगोविन्द साहलाई तीनैजना केन्द्रीय नेताहरुले केशरजंगको लाइनमा तान्न खोज्दा पनि रायमाझीतिर लागेनन् । दरभंगा प्लेनममा साहले मोहनविक्रम सिंहको संविधानसभाको लाइनलाई समर्थन गरेका थिए ।

२०१९ सालमा बनारसमा सम्पन्न तृतीय महाधिवेशनमा सिराहाबाट प्रतिनिधित्व गरेका जयगोविन्द साहको महत्वपूर्ण भूमिका रहेको थियो । तृतिय महाधिवेशनमा ३ जनाको अध्यक्ष मण्डल थियो– भरतराज जोशी, एकदेव आले र जयगोविन्द साह । तृतिय महाधिवेशनमा सिराहाबाट गएका कृष्णराज वर्मा पोलिटव्यूरो सदस्य र जयगोविन्द साह बैकल्पिक पोलिट्व्यूरो सदस्य बनेका थिए। (पोखरेल, २०७५: ५६ ) तर कृष्णराज वर्मा भने केशरजंग कै लाइनमा रहे ।

न्यूक्लियस -चौम धार
२०२८ सालमा काठमाडौंमा गठन भएको न्यूक्लियसमा सिराहाबाट जयगोविन्द साह केन्द्रीय कमिटीमा परेका थिए । २०३१ सालमा बनारसमा सम्पन्न चौथो महाधिवेशनबाट पोलिट्व्यूरो सदस्य जयगोविन्द साह र बैकल्पिक केन्द्रीय सदस्य इन्द्र लामा थिए । दुई जना व्यक्ति एउटै सिराहा जिल्लाबाट केन्द्रीय कमिटीमा परेबाट नै सिराहा जिल्ला चौम धारको महत्वपूर्ण जिल्ला थियो भन्ने बुझिन्छ। सिरहाबाट इन्द्रलाल लामा, के.एल.वाइवा, मातवर सदा (मुसहर) चौथोमहाधिवेशनमा प्रतिनिधि थिए । (वाइबा, २०८०) चौम धारको प्रारम्भिक कालको सिराहा जिल्ला कमिटिको सचिव जयगोविन्द साह र सदस्यहरु इन्द्रलाल लामा, मेघनाथ लम्साल, विष्णुलाल वाइवा, काजीलाल वाइवा, गंगा प्रसाद साह, मणिलाल राई, बालकृष्ण श्रेष्ठ थिए । जिल्ला पार्टीले जिल्लामा धान, चामल जम्मा गरेर राखेको हुन्थ्यो। केन्द्रबाट ओहोरदोहोर गर्ने र बास बस्ने तथा केन्द्रीयस्तरको बैठक पटकपटक सिराहाबाट बस्ने हुँदा जम्मा गरेर राखेको रासन उपयोगी हुन्थ्यो । (राई, २०७९) 

न्यूक्लियसको गठन काठमाडौंमा भएको भए पनि न्यूक्लियसका धेरै बैठक सिराहामा जयगोविन्द साहकै घरमा बसेको थियो । पार्टीमा छलफलका लागि विभिन्न दस्तावेजहरु मोहनविक्रम सिंहले सिराहाको बैठकमा पेश गरेका थिए । २००७ सालको परिवर्तन क्रान्ति हैन भन्ने मोहन विक्रमको धारणाप्रति लिखित असहमति नराखे पनि भरतमोहन र कमल कोइरालाले चित्त नबुझेको कुरा सिराहा बैठकबाट फर्कंदा फागुन ७ को प्रजातन्त्र दिवसको रमाइलो गाडीबाट हेर्दै विराटनगर फर्किएको बताएका थिए । (कोइराला, २०८०)

बालकृष्ण श्रेष्ठ पुराना मध्येका नेता थिए । उनी जिल्लाका विभिन्न ठाउँमा योगी बाबाजीको भेषमा घुम्दथे र नयाँ पुस्ताका मणिलाल राई लगायतलाई २०११–१२ सालको किसान आन्दोलनको कथा सुनाएर कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरित गर्दथे । मणिलाल राई चौमधारमा क्रियाशील व्यक्ति भए पनि उनले चौम छाडेर २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (माले) को गठन हुँदा त्यसको आठ जना संस्थापक मध्ये १ जना हुन पुगे । राई कोअर्डिनेशन केन्द्र (माले) गठन हुँदा विराटनगर बैठक स्थलमा नपुगे पनि कमिटीमा राखिएका थिए । जेल परेर निस्किएपछि उनी राजनीतिबाट टाढा भए । कालिका हिमालय मावि थैवुङ रसुवा पुगेर त्यही स्कूलमा २८ वर्ष शिक्षक भए, हेडमास्टर समेत भए । (राई, २०७९)

धरानका नरेश शाक्यलाई झापा विद्रोहको समर्थन गरी तेह्रथुममा शिक्षक छँदा काम गरेको भनी सरकारले उनलाई मार्ने सूचीमा राखेको थियो । सुट वारेन्टबाट जोगिन तेह्रथुमबाट उनी भागेका थिए । भरत मोहन अधिकारीले नरेश शाक्यलाई सुरक्षित गर्नु भनेकाले २०३०, २०३१ साल करिवि २ वर्ष उनलाई सिराहामै लुकाएर राख्ने, केटाकेटी पढाउन लगाउने काममा लगाइएको थियो । (वाइवा र लामा २०८०)
मिर्चैया वरपर बसेर शाक्यले केटाकेटीहरुलाई ट्यूसन पढाउने आदि काम गरेका थिए । भारतबाट लुक्न आएका नक्सलाइटहरुलाई पनि केही समय सिराहाको उत्तरी भेगमा नेकपा (चौम)का कार्यकर्ताहरुले सेल्टर दिएका थिए । नक्सलाइटहरुले भारतमा जस्तै सामन्तविरुद्ध अभियान चलाउन भन्थे तर चौमका नेताहरुले तपाईहरुले भनेर हुँदैन, हाम्रो आफ्नो निर्णय अनुसार हुन्छ भन्थे । (वाइवा ,२०८०)

चौ.म./ मशाल

२०४० सालमा पार्टी विभाजन हुँदा सिराहाका मुख्य नेताहरु जय गोबिन्द साह, बि.एलं वाइवा, के. एल. वाइवा लगायत निर्मल लामाले नेतृत्व गरेको चौ.म. पक्षमा रहे र किसुन मण्डल लगायत सीमित व्यक्ति मात्र मशाल तिर रहे । पार्टी विभाजनका बेला व्यक्तिगत झगडामा बासुदेव ठाकुरको हत्या भएको थियो । त्यो हत्यालाई राजनीतिक रंग दिंदा पछि सम्म मशाल र चौ.म.का बीचमा तिक्ततापूर्ण सम्बन्ध रह्यो । (नायक , २०८३)

मसाल

२०४० सालमा पार्टी विभाजन हुँदा निर्मल लामाको पक्षमा रहेका काजीलाल वाइवा (के. एल.वाइवा) मसालबाट विभाजित भएर गएका अरु व्यक्तिहरु सित मिलेर २०७० सालमा मसालमा फर्किएका थिए ।

मालेधार 
चौम धारबाट गएका मणिलाल राई तथा अन्य समूहहरुबाट आएका व्यक्तिहरुले माले धारलाई सिराहामा विस्तार गर्न पंचायतकालमै योगदान पु¥याएका थिए । त्यसका अलवा विष्णुपुरकट्टीकै बालकृष्ण श्रेष्ठ को. के. (माले)तिर लागे । (लामा, २०८०) विष्णुपुर कट्टीका मेघनाथ लम्साल,मानान्धर समूह पंचायतकालमा रायमाझी समूहबाट २०३६ सालमा विभाजन भएको विष्णुबहादुर मानान्धरले नेतृत्व गरेको मानान्धर समूहमा कृष्णप्रसाद अधिकारी, हेमन्तबहादुर वि.सी., चन्द्रशेखरलाल कर्ण,सिकदयाल कादर सत्यनारायण सिंह लगायत थिए । (गोइत २०८० )

२०४६को जनआन्दोलन
०४६ को जनआन्दोलनमा सिराहा जिल्लामा संयुक्त वाममोर्चाको गठन गरिएको थियो । संयुक्त वाममोर्चामा मानान्धर समूहबाट कृष्णप्रसाद अधिकारी, वर्मा समूहबाट प्रल्हाद अधिकारी र नेकपा मालेका तर्पmबाट हरी पोख्रेल र नेकपा चोमका प्रतिनिधि लगायत थिए ।

नेकपा(संयुक्त) बाट पार्टी परित्याग
२०४६ को राजनीतिक परिवर्तनपछि रसियन धारका नेपाली कम्युनिस्टहरु वर्मा समूह, मानन्धर समूह र तुलसीलाल अमात्य समूह तीन समूह मिलेर नेकपा (संयुक्त)बनेको थियो । तर नेकपा(संयुक्त) बाट पार्टी परित्याग गरी त्यसका कैयौं नेता नेकपा माओवादी र एमालेमा प्रवेश गरे, जस्तै मोहन महतो (माओवादी) मा प्रवेश गरे र उनी सहिद पनि बने । संयुक्तका रामचन्द्र यादव, भोला पासवान, राजेन्द्र चौधरी एमालेमा प्रवेश गरे । (गोइत,२०८०)

जनयुद्ध
सिराहाका रामशरण नायक जयगोविन्द साहका दोस्त र उनकै समयका नेता थिए । जनयुद्धकालमा उनलाई बेपत्ता पारियो । (गोइत २०८०) सिराहाका देवनारायण यादव नेकपा ( माओवादी) का बैकल्पिक केन्द्रीय सदस्य थिए । तर उनी २०५९ तिर जयकृष्ण गोइत सित मधेसको पृथकतावादी आन्दोलनमा लागेका थिए र उनलाई राज्यले हत्या गरेको थियो । जनयुद्धकालमा सिराहा जिल्लाका बेपत्ता २५ जना सहित करीव १४१ जना को हत्या भएको थियो । महेन्द्र सदा, रामविलास साह हजारी यादव लगायत शहीद भए । (नायक,२०८३)

नेकपा (एमाले)
………..२०७१ माघमा सिरहाको नवौं जिल्ला अधिवेशनले प्रमोद यादवलाई अध्यक्षमा चयन गरेको थियो । सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास विफल भएपछि माधव नेपाल पक्षधर यादवले अध्यक्ष केपी ओली पक्षधर रामऔतार यादवलाई ३२ मतले हराएका थिए ।उपाध्यक्ष, सचिव, उपसचिव, लेखा आयोग प्रमुखका साथै बहुमत सदस्यहरू पनि सोही पक्षका निर्वाचित भएकाथिए। उपाध्यक्षमा उत्तरबहादुर मगर, सचिवमा योगेन्द्र सिंह, उपसचिवमा अशोककुमार यादव र जिल्ला लेखा आयोगका प्रमुखमा बाबुनाथ यादव निर्वाचित भए । अधिवेशनको उद्घाटन उपमहासचिव घनश्याम भुसालले गरेका थिए ।( ई–बुधबार २०७१ माघ ७ )
२०७८ पुसमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा उग्रनारायण यादव तथा सहसचिवमा श्याम श्रेष्ठ र शिवसंकर महतो सर्वसम्मत रूपमा निर्वाचित भएका थिए।(नागरिक न्यूज,२०७८ पौष २६)
२०८१ चैत्रमा सम्पन्न ११औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा अशोक यादव सर्वसम्मत चयन भए,नवीन यादव उपाध्यक्ष,प्रदीप महासेठलाई सचिव निर्वाचित गरेको छ । खुला उपसचिवतर्फ शिवशंकर महतो र महिला उपसचिवमा खेमलक्ष्मी श्रेष्ठ निर्वाचित भएकी छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए ।(दृष्टि न्यूज,२०८१ चैत्र ३१ )

चुनावी राजनीति
२०१५ सालको आम निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाका ६ वटै निर्वाचन क्षेत्रहरु भएकोमा सबै निर्वाचन क्षेत्रबाट नेकपाले उम्मेदवार उठाएको थियो । स्मरणीय छः अहिलेको सिराहा जिल्ला पनि सप्तरी जिल्ला अन्तरगत भएकाले  ६ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाइएको सन्दर्भ राखिएको हो । क्षेत्र नं. ३३ बाट कमर साह, क्षेत्र नं.३५ बाट गुमाई यादव,क्षेत्र नं. ३७ बाट कृष्णराज वर्मा, क्षेत्र नं. ३८ बाट चन्द्रशेखर लालदास र क्षेत्र नं. ३९ बाट श्रीराम शर्मा, क्षेत्र नं. ४० बाट जयगोविन्द साह उम्मेदवार बनेका थिए । जसमा कमर साह र कृष्णराज वर्मा पार्टीका केन्द्रीय सदस्य थिए। अहिलेको सिराहा जिल्लामा पर्ने क्षेत्र नं. ४० का नेकपाका सशक्त उम्मेदवार जयगोविन्द साह थिए । उनले लोकप्रिय मत प्राप्त गरेका थिए । मत परिणामले नै त्यो कुरा स्पष्ट गर्दछ। क्षेत्र नं. ४ उम्मेदवारहरु नेपाली कांग्रेसको माधवप्रसाद रेग्मीको ७,५००, नेकपाका जयगोविन्द साहको ६,१३८, तराई कांग्रेसका बेदानन्द झाको ३,९३९ , नेपाल राष्ट्रिय गोर्खा परिषद्को राम चित्र सुडी महतोको २,८५३ र नेपाल प्रजातान्त्रिक महासांघका ठक्कु गोइतवारको १,७६७ मत परेको थियो। त्यसरी जयगोविन्द साह १३६२ कम मत ल्याएर प्रमुख विपक्ष बनेका थिए । (पोखरेल, २०७५)
नेकपा (एकताकेन्द्र) को चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालले २०४८ सालमा देशभरी ९ सिट जित्दा संजमोका विष्णुलाल वाइवाले सिराहाबाट निर्वाचन जितेका थिए । २०६४ को संविधान सभा निर्वाचनमा माओवादीका महेन्द्र पासवानले सिराहाबाट चुनाव जितेका थिए ।

सन्दर्भः
–पोखरेल, डि.आर. (२०७५),जयगोविन्द साहः एक संघर्षशील व्यक्तित्व, हाम्रो श्रृजना ,अनुसन्धानमूलक साहित्यिक – साँस्कृतिक त्रैमासिक चितवन
– चौलागाई, तिर्थराज (सं.), (२०८१),सिराहा जिल्लाको वस्तुगत विवरण २०८१ , तथ्यांक कार्यालय धनुषा

अन्तर्वार्ता
मणिलाल राई–२०७९ चैत्र ७ गते
कमल कोइराला, २०८० जेष्ठ १० गते
काजीलाल वाइबा – २०८० भाद्र ९गते
जयकुमार गोइत– २०८० भाद्र १३ गते
सूर्यमान लामा– २०८० भाद्र १४ गते
अजयशंकर नायक , २०८३ असोज ६गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित