काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोटको घाँगीभीरमा उडिरहेको धुवाँ बारे विज्ञहरूको टोलीले कोइलायुक्त चट्टान र एक प्रकारको खनिजमा रासायनिक प्रतिक्रियाबाट धुवाँ र ताप उत्पन्न भएको आशङ्का गरेको छ। धुवाँ छ महिनादेखि लगातार देखिएको हो ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेल र धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङले उक्त क्षेत्रको स्थलगत निरीक्षणपछि त्यस्तो आशंका गरेकाहुन्। अध्ययन टोलीले उक्त क्षेत्रका चट्टानमा कोइलामा पाइने कार्बनयुक्त तत्त्वहरू पनि देखिएको जनाएको छ।
अध्ययन टोलीका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ६ मा रहेको घाँगीभीर क्षेत्रमा ठूलो मात्रामा जमिनमुनिबाट धुवाँ निस्किएको र ताप पनि बढेको छ। छेउछाउ भएका रूखहरू, पातपतिङ्गरहरू पनि जलाउन सक्ने गरी नै राप छ। त्यहाँको चट्टानमा ‘पाइराइट’ नामको खनिज पनि हुन सक्ने आशङ्का रहेको उनीहरूको भनाइ छ।

