-रामबहादुर बुढा
स्थान परिचय
पर्सा जिल्ला नेपालको प्रमुख व्यापारिक नाका तथा औद्योगिक क्षेत्रको रुपमा परिचित जिल्ला हो । यो जिल्ला समुन्द्री सतहबाट १२२ देखि ९२५ मिटरसम्म उचाईमा रहेको छ । हाल यस जिल्लाको कुल क्षेत्रफल १३५३ वर्ग कि.मि. छ । यस जिल्लामा पर्सा वन्यजन्तु तथा आरक्ष क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जले लगभग ५६८ वर्ग कि.मि. ढाकेको छ । जिल्लाको सदरमुकाम वीरगन्ज हो । (पर्सा जिल्लाको वस्तुगत विवरण २०७४) वीरगन्ज भन्दा पश्चिम उत्तरतर्फ एउटा पर्सागढी मन्दिर छ । त्यही मन्दिरको नामबाट पर्सागढी नगरपालिकाको नामाकरण गरिएको छ र त्यही मन्दिरको नामबाट नै यो पर्सा जिल्लाको नाम पनि राखिएको हो भन्ने भनाई छ । (गौतम, २०८३)
प्रारम्भिक चरणमा कम्युनिस्ट आन्दोलन
पर्सा जिल्लामा राणा विरोधी आन्दोलनमा क्रियाशील कैयौं व्यक्तिहरु पछि नेपाल कम्युनिस्ट पार्टीका नेता बने । मधु सिंह पर्साको विर्ता निवासी थिए । उनी राणाविरोधी आन्दोलनमा लागेका थिए । पछि उनी नेकपाको द्वितीय महाधिवेशन (२०१४) बाट केन्द्रीय सदस्य पनि भए । उनकी श्रीमती अञ्जुवाला त्यतिबेलाका राजनीतिमा सक्रिय महिला हुन् । विरगञ्ज कुम्हारटोलका धनुषचन्द्र गौतम पनि पर्सा जिल्ला कम्युनिस्ट आन्दोलनको प्रारम्भिक चरणको सक्रिय व्यक्ति हुन् । उनी पनि नेकपाको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । मदनमणि दीक्षित, महेशमणि दीक्षित पनि वीरगन्जकै कम्युनिस्ट आन्दोलनबाट उत्पादित नेताहरु हुन् । साहित्यकार श्यामप्रसाद शर्माको बीरगञ्जमा सानो पत्रिका पसल थियो । उनले भूमिगत रुपमा पार्टी काम गर्दथे । (गौतम, २०८३)
नेकपाको स्थापना
श्यामप्रसाद शर्माको भनाईलाई उद्यृत गर्दै बाल गोपाल थापाले लेखेका छन्न्,“ई.स. १९५१ अगस्ट २५ तारिख (वि.सं. २००८ भाद्र ९ शनिबार) का दिन नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला संगठन कमिटीको गठन भएको थियो । त्यो कमिटीमा सचिव श्यामप्रसाद शर्मा र सदस्यहरु धनुषचन्द्र गौतम र रत्नदास हुनुहुन्थ्यो । यो कमिटी निर्माण पूर्व पर्सा जिल्लाका बाम बुद्धिजीवी राणा शासनका विरुद्ध विरगञ्जमा ००४ सालमा भएको सत्याग्रह आन्दोलनमा तथा दि जुद्ध म्याच फैक्ट्रीमा पारिश्रमिक वृद्धिको माग गर्दै ००३ सालमा भएको मजदुर आन्दोलन, ००७ सालमा भएको राणा शासन विरुद्धको संघर्ष भएका थिए । ” (थापा….)
किसान आन्दोलन
२००८ देखि २०१३ को प्रतिबन्धित कालमा नेकपाले जनवर्गीय संगठन अखिल नेपाल किसान संघको नामबाट आन्दोलनलाई अगाडि बढाइएको थियो । पर्सा जिल्लामा पनि ठूलाठूला किसान आन्दोलन भएका थिए ।
२०१७ को फौजीकाण्ड पछि
२०१७ सालपछि कम्युनिस्ट आन्दोलनमा ठूलो निरासाको काल आयो । मधु सिंह निस्क्रिय भएर वीरगन्जको माइस्थान विद्यापीठमा शिक्षक भएर निस्क्रिय राजनीतिका साथ जीवन बिताए । अञ्जुवाला पनि शिक्षक भइन् । उनी पनि राजनीतिबाट टाढा भइन् । धनुषचन्द्र गौतम नेपालको सरकारको जागीरमा लागेर मन्त्रालयको सचिव समेत बने । जागीरबाट रिटायर भएपछि प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव समेत बने । उनी साहित्य लेखनमा लागे । “घामका पाइला” वीरगन्जको जनजीवनमा आधारित उनको चर्चित उपन्यास हो । जसले मदन पुरस्कार पनि प्राप्त गरेको थियो । (गौतम,२०८३)
चौम धार
पर्सा जिल्लामा चौ. म. धार को स्थापना गर्न चितवन निवासी तथा बीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पढाइरहेका शिक्षक भैरव रेग्मीको महत्वपूर्ण योगदान छ । २०३३ सालमा नेकपा चौथो महाधिवेशन धार पक्षको पहिलो पर्सा जिल्ला कमिटी गठन भएको थियो। जसको सेक्रेटरी भैरव रेग्मी थिए भने अन्य सदस्यहरूमा श्रीराम घिमिरे,…..भट्ट र हरि पाण्डे थिए । पछियसमा कृष्णमान जोशी थपिए । हिमालचन्द्र गौतम ,उर्मिला अर्याल, अक्षलाल साह लगायतका व्यक्तिहरू पनि यस धारमा आबद्ध भई काम गरेका थिए। २०३५ –२०३६ सालको विद्यार्थी आन्दोलनमा छैठौं सम्मेलन पक्षधर विद्यार्थीहरूले राम्रै भूमिका खेलेका थिए। २०३७ साल चैत्र २७ गते मकवानपुरको हेटौंडामा अखिल छैठौंले आयोजना गरेको नेपाल बन्दको कार्यक्रमबाट गिरफ्तार भएपछि रेग्मीलाई राजकाज मुद्दा लागेको थियो । मकवानपुरको भीमफेदी, पर्साको बीरगञ्ज,काठमाडौको सेनट्रल जेल राखेर अन्त्यमा दुई वर्षपछि रौतहट जेलबाट रिहा गरिएको थियो। २०३७ सालमा जेलबाट रिहा पछि नेकपाको केन्द्रीय समिति सदस्य बनेका थिए। ३७ सालमा कृष्णमान जोशीलाई पर्सा जिल्ला कमिटीको सेक्रेटरी जिम्मा लगाए थिए । (रेग्मी २०८३)नेकपा मशाल र चौम धारको महिला संगठनको २०३८ सालमा भारतको अयोध्यामा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बनेकी उर्मिला अर्याल, अखिल छैठौको सातौ राष्ट्रिय सम्मेलन २०३८ र आठौ राष्ट्रिय सम्मेलन २०४० बाट केन्द्रीय उपाध्यक्ष बनेका हिमालचन्द्रगौतम पर्साको बीरगञ्जका थिए । (गौतम २०८३) २०४१ सालको नेकपा मशालको पाँचौ महाधिवेशनमा पर्सा जिल्लाबाट उर्मिला अर्याल र श्रीराम घिमिरेले प्रतिनिधित्व गरेका थिए। (रेग्मी २०८३)ठाकुुरराम बहुमुखीय क्याम्पसमा अखिल पाँचौ र छैठौ दुुबै सक्रिय थिए।अर्जुन प्याकुरेलले भर्खरै एलसीसी पास गरेर आएको हुनाले पार्टीको तर्फबाट प्याकुरेललाई विद्यार्थी संगठनको विशेष जिम्मा दिइएको थियो। त्यस बाहेक अशोकमान श्रेष्ठ बीरगञ्ज ,कुमार बन्धु रुपाखेती, बालकृष्ण बस्नेत अर्जुन पोखरेल सर्लाही,अच्यूत खतिवडा बीरगञ्ज, सुनिल आचार्य रौतहट गौर, धनिकलाल शाह सिराहा लगायतका विद्यार्थीहरुले छैठौंको तर्फबाट बीरगञ्जमा विशेष भूमिका खेलेका थिए। २०३६मा स्ववियुु चुनावमा उर्मिला अर्याल सदस्य , २०३८ र २०४० मा हिमालचन्द्र गौतमले सचिव, ०४२ मा सदस्यहरु दीर्घ भट्टराई,विनोद पराजुली , भरत धरेल स्ववियुमा निर्वाचित भएका थिए । (कर्ण थापा र गौतम) २०४० सालमा पार्टी विभाजन हुँदा लामा पक्षको खासै प्रभाव रहेन । २०४२ सालमा पार्टी विभाजन हुँदा विद्यार्थी मोर्चाका केन्द्रीय उपाध्यक्ष हिमालचन्द्र गौतम ,महिला नेत्री उर्मिला अर्याल, कृष्णमान जोशी, अक्षलाल साह पातलो मसाल तिरै रहेका थिए । मोटो मशाल तिर कुनै पनि व्यक्तिको जानकारी भएन । २०४२ सालमा मसालका कृष्णमान जोशी, अखिल – छैठौ का अच्यूत खतिवडालाइ शान्तिसुरक्षा खलल पारेको अभियोगमा बीरगञ्ज जेलमा राख्यो तर पाँचौंको विजयकर्ण र छैठौ का अच्यूतलाई भीमफेदी जेलमा ३ महिना राखेर छाडेको थिायो । उर्मिला अर्याल २०४६ को आन्दोलनमा क्रियाशील भएको भए पनि पार्टी कार्यमा खासै सक्रिय थिइनन् । मसाल छाडी एमालेमा प्रवेश गरी २०५६ को संसदीय निर्वाचनमा पर्साजिल्ला क्षेत्र नम्बर ४ बाट एमालेको उम्द्वार बनी बिजय समेत भएकी थिइन् ।
मनमोहन समूह
रामबाबु कार्की कलकत्ता देखि नै पुष्पलालको सम्पर्कमा थिए । राणा विरोधी आन्दोलनमा लागेका भनेर राजनीतिक पीडितकारुपमा २००७ साल पछि राजनीतिक पीडितकारुपमा सर्लाहीको बरठवामा जग्गा पाएका थिए । २०१९ सालमा पार्टी विभाजित हुदा पहिले पुष्पलाल र पछि मनमोहन समुहमा रही काम गरे । पछि मनमोहन सँगै एमाले भए ।
नेकपा माले
पर्सा जिल्लामा नेकपा मालेको संगठन विस्तार गर्नमा मुकुन्द न्यौपानेको विशेष भूमिका छ । त्यसो त यस जिल्लामा २०३२ सालमा कोर्डिनेसन केन्द्र माले गठन भएपछि मुकुन्द न्यौपाने सहित माधव नेपाल,सीपी मैनाली लगायतका अन्य कैयौँ केन्द्रीय नेताहरु पनि यस जिल्लामा आउने र कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने काम गर्दै आएका थिए। त्यसको अलावा सूर्य शर्मा, विनोद घिमिरे, केदार न्यौपाने, मदन ढुंगेल समेतले २०३६ सालदेखि २०४६ सालसम्म संगठन विस्तार गर्नमा विशेष भूमिका खेलेका थिए। उनीहरूले किसान, मजदुर ,शिक्षक, बुद्धिजीवी ,विद्यार्थीहरूका बीचमा पार्टीगत हिसाबले विभिन्न जिम्मेवारी दिएर संगठन विस्तार गर्ने काम पनि गरिरहेका थिए र विभिन्न प्रकारका आन्दोलनहरु पनि चलाउने प्रयास गरेका थिए । २०४४ सालमा मालेका कार्यकर्ता पन्नलाल रामको हत्या भएको थियो। जसलाई २०४८ सालको पहिलो जिल्ला अधिवेशनबाट नेकपा एमालेले आफ्नो सहिद घोषणा गरेको थियो। ४५ सालमा वीरगञ्ज नगरमा नेकपा मालेको पार्टी युनिट गठन भएको थियो। २०४५ भाद्र ५ गते मुकुुन्द न्यौपानेको उपस्थितिमा नेकपा मालेको पर्सा जिल्ला सम्पर्क कमिटी गठन भएको थियो। जसको सचिव विनोद घिमिरे , सदस्यहरू नगेन्द्र चौधरी, रामश्री राय, प्रल्लाद गिरी थिए । २०४६ साल फागुन १६ गते रणध्वज कन्दङ्वाको नेतृत्वमा नेकपा माले पर्सा जिल्ला सक्रिय दल गठन गरिएको थियो। (थापा …..)
२०४६ सालको जनआन्दोलन
यस जनआन्दोलनमा वामपन्थीहरूको राम्रै भूमिका रह्यो। एकातर्फ बाममोर्चा गठन भएको थियो भने अर्कोतर्फ संयुक्त राष्ट्रिय जनआन्दोलन समिति सम्बद्ध मसाल आन्दोलनमा क्रियाशील थिए ।
मसाल
२०४६ को आन्दोलन पछि मसालको खासै संगठन विस्तार हुन सकेन । पार्टी –संगठनकोरुपमा हिमालन्द्रगौतम, अक्षयलाल साह, सानुमान ताम्रकार(सान्दाई), कृष्णमान जोशी,नेत्र पौडेल लगायतले पार्टी –संगठनको अस्तित्व धाने ।
एमाले
२०४७ माघ ८ गते नेकपा(माले) र नेकपा(माक्र्सवादी) का बीचमा पर्सा जिल्लामा एकीकरण भई नेकपा (एमाले) पर्सा जिल्ला संगठन कमिटी गठन भएको थियो । उक्त एकीकरण भेलामा नेकपा (एमाले) का केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने र एकराज पाण्डेको उपस्थिति थियो। एमालेको पर्सा जिल्ला इन्चार्ज यादवप्रसाद उपाध्यक्ष सचिव रणध्वज कन्दङ्वा, सदस्यहरु नागेन्द्र चौधरी,वैद्यनाथ ठाकुर, प्रल्हाद गिरी,बालगोपाल थापा, रामचन्द्र साह, शत्रुधन उपाध्यक्ष,चिरञ्जीवी आचार्य, तिलकराम लुइँटेल, प्रेम पञ्जियार, विजय महतो, गुरुप्रसाद लामिछाने, उदय बहादुर सिलवाल, रामबाबु कार्की(दादा), हरि अधिकारी, रामप्रसाद साह, बसन्त भण्डारी, मौल मियाँ,भगवान त्रिपाठी रहेका थिए । (थापा….)
एमालेको प्रथम जिल्ला अधिवेशन २०४८ मंसिर २८ गते वीरगन्ज नगरसभा हलमा सम्पन्न भएको थियो । प्रथम अधिवेशनमा ४ महिला सहित १५७ प्रतिनिधि र १५ पर्यवेक्षकउपस्थित थिए । प्रथम जिल्ला अधिवेशनले प्रल्हाद गिरीको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । अधिवेशनका प्रमुख अतिथि पार्टी महाधिवेशन मदनकुमार भण्डारी र अतिथिहरु काशीनाथ अधिकारी, रणध्वज कन्दङ्वा समेत थिए । दोस्रो जिल्ला अधिवेशन २०५१ जेष्ठ २४ गते र २५ गते पोखरिया श्रीपुर पाँच गाँवमा भएको थियो । जसले चिरञ्जीवी आचार्य सचिव २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । प्रमुख अतिथि पार्टी महासचिव माधव नेपाल थिए । २०५५ मंसिर २५र २६ गते वीरगनज नगर सभागृहमा तेस्रो जिल्ला अधिवेशन भएको थियो । चिरञ्जीवी आचार्य सचिव रहने २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । अधिवेशनका प्रमुख अतिथि माधव नेपाल थिए ।
२०५८ फागुन १८ र १९ गते वीरगन्ज नगरसभा गृहमा चौथो जिल्ला अधिवेशन भएको थियो । अधिवेशनले रामचन्द्र साह सचिव रहेको ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । प्रमुख अतिथि केशन वडाल थिए
२०६२ मा वीरगन्ज नगरसभा गृहमा भएको पाँचौं जिल्ला अधिवेशनले विजय महतो सचिव रहेको २६सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । २०६५ मंसिर २१–२२ गते वीरगन्ज नगर सभागृह हलमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले विजय महतोको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो ।प्रमुख अतिथि केदार न्यौपाने थिए । २०६६ मंसिर २९ गते वीरगन्ज सभागृहमै सातौं जिल्ला अधिवेशन पार्टी अध्यक्ष झलनाथ खनालले गरेका थिए । विजय महतो अध्यक्ष रहेको ६२ सदस्यीय पर्सा जिल्ला कमिटी गठन गरेको थियो । सोही समयमै जयप्रकाश थारु अध्यक्ष रहेका ८९ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरिएको थियो । एमाले पर्साको इतिहासमा सातौं अधिवेशन अत्यन्त विवादित अधिवेशन मानिन्छ । ०६९ साउन २१ गते चिरञ्जीवी आचार्यको नेतृत्वमा जिल्ला पार्टी पुनर्गठन गरेर विवाद हल गर्ने प्रयास गरिएको थियो । (थापा)
पर्सा जिल्लाको उत्तरी क्षेत्र(हालको ठोरी, निर्मलबस्ती, सुवर्णपुर आदि) घना जंगलसँग जोडिएको हुनाले माओवादीका लागि सैन्य तालिम, आश्रयस्थल र आवतजावतका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो। वीरगन्ज औद्योगिक कोरिडोर पर्सा जिल्लामै पर्ने भएकाले माओवादीले यहाँका उद्योगी र व्यवसायीहरूबाट ठुलो मात्रामा आर्थिक सहयोग (चन्दा) संकलन गर्ने गर्थे। मधेसका भूमिहीन किसान, दलित र उत्पीडित समुदायलाई संगठित गर्दै माओवादीले पर्साका ग्रामीण भेगहरूमा ‘जनसरकार’ र समानान्तर सत्ताका अभ्यासहरू गरेका थिए। यस क्रममा राज्य पक्ष र माओवादीबीच विभिन्न समयमा हिंसक झडप र कारबाहीका घटनाहरू भएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले पर्सामा सन्तोषजनक मत ल्याए पनि पछिल्ला निर्वाचनहरूमा (२०७०, २०७४ र २०७९) पार्टीले सोचे अनुरूप नतिजा निकाल्न सकेन।
सन्दर्भ
पर्सा जिल्लाको बस्तुुगत विवरण
थापा, बाबुलाल, ……..पर्सा जिल्लाको कम्युनिष्ट आन्दोलन , नवयुग…
अन्तरवार्ता
बाबुलाल थापा
हिमालचन्द्र गौतम
कर्ण थापा

