साम्राज्यवादी शक्ति सन्तुलनमा सारभूत परिवर्तन र कम्युनिस्टहरुको कार्य

 

सन्तबहादुर नेपाली

प्रारम्भः

इजरायली विस्तारवादको वर्षौंदेखिको आक्रमण झेल्दै आएको प्यालेस्टाइनमा इजरायलप्रति हमासको प्रतिरोध अक्टोबर ७,२०२३ मा इजरायलतर्फ रकेट प्रहार गरेर विस्फोट भयो । त्यसैलाई निहुँ बनाएर यहुदीवादी इजरायलले गाजामा हमासमाथि चारैतिरबाट हमला शुरु ग¥यो । अमेरिकी साम्राज्यवाद र इजरायली यहुदीवादीहरुले गाजापट्टीलाई हवाई आक्रमण तथा मिसाइल हमलाबाट करोडौंको क्षति पु¥याए । युद्धमा करिव ४७ हजार प्यालेस्टाइनीहरु मारिएका थिए भने ८२ जना त पत्रकारहरु मारिएका थिए । युद्धको बेला गाजाबाट १९ लाख जति प्यालेस्टाइनीहरु विस्थापित भएका थिए । अन्ततः २०२६ जुलाई ३१ मा अमेरिकाको मध्यस्थतामा “निःसस्त्रीकारण सम्झौता” भयो । अहिले त्यहाँ शान्ति कायम छ भनिए पनि इजरायली अतिक्रमण जारी रहेको छ । हमाससित युद्ध विराम पछि अमेरिकी तथा यहुदीवादी इजरायलले इरानमाथि हमला गरेर मध्यपूर्वमा शान्ति खल्बलाएको छ ।

अमेरिकी साम्राज्यवाद विश्वभरी आतंक मच्चाइरहेको छ । अफगानिस्तानमा सन् २००१ देखि २०२१ सम्म २० वर्षसम्म आतंक मचाइरह्यो । अफगानिस्तानपछि प्यालेस्टाइन र त्यसपछि अमेरिका र इजरायलको संयुक्त आक्रमण इरानतर्फ सोझिएको छ । साम्राज्यवाद युद्ध हो र युद्ध विना ऊ टिक्दैन । अहिलेसम्म संसारमा एकल धु्रवीय महाशक्तिको रुपमा रहेको अमेरिकी साम्राज्यवाद कतै धर्मको नाममा त कतै जातिको नाममा लाखौं निर्दोष नागरिकहरुको ज्यान लिइरहेको छ । विश्वभरी शान्ति हुनै नदिने प्रकारले लाखौंको संख्यामा मानवसंहार गर्दै आएको छ । संसारको सबैभन्दा ठूलो आतंकवादी देश अमेरिका हो । त्यसकारण अमेरिका मानव जातिको प्रमुख दुश्मन बनेर आएको छ।

इरान र इजरायल कुनै समयमा मित्र राष्ट्रको रुपमा रहेको पाइन्छ । तर सन् १९७९ को इस्लामिक क्रान्तिपछि रेजा पहलवीको सत्ता परिवर्तनपछि इरान र इजरायलबीच द्वन्द्वको शुरुवात भएको पाइन्छ । भित्रभित्रै द्वन्द्वको आगो सल्किरहेको बेला जुन २०२५ मा इजरायलले इरानमाथि आक्रमण गरेर युद्धको घोषणा ग¥यो । १२ दिनसम्म चलेको त्यो युद्धमा सयौं वैज्ञानिकहरु, सैनिक अधिकृतहरु, राजनीतिक नेताहरु, नागरिकहरु, त्यो १२ दिने युद्धमा मारिए । २४ जुनका दिन युद्ध समाप्त भयो । तर स्थायी प्रकारको युद्ध विराम भएन । २८ फरवरी २०२६ मा अमेरिकी साम्राज्यवाद तथा इजरायली यहुदीवादीले संयुक्त रुपमा इरानमाथि हमला गरे । सर्वोच्च नेता अयातुल्ला अलि खामेनेईको घरमा मिसाइल हमला गरियो । त्यहाँ सर्वोच्च नेता खामेनेई, उनको परिवारका साथै रिभोलुनरी गार्डका प्रमुख तथा सैन्य अधिकृतहरु समेत मारिए । त्यति मात्र होइन, अमेरिकाले एउटा विद्यालयमा पनि मिसाइल हमला गरेर डेढ सय भन्दा बढी विद्यार्थीहरुको हत्या ग¥यो । इजरायली यहुदीवादी सरकारको लक्ष्य इजरायलको राज्य विस्तार गर्नु हो र अमेरिकी साम्राज्यवादको लक्ष्य इरानलाई परमाणु शक्तिविहीन बनाउनु तथा इजरायल मार्फत् मध्यपूर्वमा रहेको तेल उर्जामाथि आप्mनो एकलौटी कब्जा जमाउनु हो ।
समझ्दारी पत्रः ट्रम्पको हार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनमा इरानको सत्ता परिवर्तन गरिदिने घोषणा गरेका थिए । उनले भेनेजुएलामा एक रात मै राष्ट्रपति भवनमाथि हमला गरेर राष्ट्रपति मादुरोलाई अपहरण गरेर सत्ता परिवर्तन गरे जस्तै इरानमा पनि सत्ता परिवर्तन गर्न सकिन्छ भन्ने सोचेका थिए । उक्त हमलामा रिभोलुश्नरी गार्डका प्रमुखहरु, खुफिया प्रमुखहरु, सैन्य कमाण्डरहरु गरी ४ दर्जन भन्दा बढी अधिकृतहरु मारिएका थिए । ट्रम्पले सोंचे जस्तो इरानले अमेरिका समक्ष आत्मसमर्पण गरेन । न त खामेनेईलाई मारेर सत्ता परिवर्तन गर्न सक्यो । बरु इरानले तत्काल मोज्तवा खामेनेईलाई सर्वोच्च नेता चयन ग¥यो र उनैको नेतृत्वमा सम्पूर्ण जनता र सैनिकहरु गोलबन्द भए । डोनाल्ड ट्रम्पले इरानले ट्रम्पले भने अनुसार आत्मसमर्पण नगरे इरानको सभ्यतालाई नै ध्वस्त पारिदिने धम्की समेत दिए । तर इरानी जनताले ज्यानको बाजी लगाएर हजारौं किलोमिटर लामो मानव साङ्लो निर्माण गरेर पुल, भवन, कारखानाहरु संरक्षण गरे । अमेरिकी साम्राज्यवादका विरुद्ध इरानी जनताबीच अभूतपूर्व एकता कायम हुन गयो । इरानले क्रमशः आफ्नो सैन्य अवस्थालाई सुधार गर्दै अगाडि बढ्दै गयो । अगाडि बढ्दै जाँदा स्थिति यो आयो कि डोनाल्ड ट्रम्प इरानसँगको युद्धबाट बाहिरिन खोजे । उनलाई नेटो देशहरुले पनि साथ दिएनन् । मध्यपूर्वमा रहेका अमेरिकी सैन्य क्याम्पहरु माथि इरानले लगातार हमला ग¥यो । स्वयं अमेरिकी शक्तिशाली बी–५२ वम वर्षकहरुलाई इरानले ध्वस्त पारिदियो । डोनाल्ड ट्रम्ँपलाई अगाडि बढ्न रक्षा बजेटले पुगेन । ऋण थपिंदै गयो । युद्ध यति लामो जाला भन्ने ट्रम्पले कहिल्यै सोंचेका थिएनन् । स्वयं देशभित्रैबाट राष्ट्रपति ट्रम्पको ठूलो विरोध भएपछि उनले युद्ध विराम गराइदिनका लागि रुस, चीनसित हार गुहार गरे । उनी कतैबाट सहयोग पाएनन् । अन्ततः १८ जुन २०२६ का दिन फ्रान्सको भर्सेल्समा अमेरिका र इरानका बीचमा अस्थायी युद्ध विरामका लागि १४ बुंदे समझ्दारी पत्रमा हस्ताक्षर भयो । ट्रम्पले त्यो सम्झौतालाई अमेरिकाको “जीत” को संज्ञा दिए । तर वास्तवमा त्यो अमेरिकाको “जीत” थिएन । शर्मनाक हार थियो । १४ बुंदे समझ्दारी पत्रमा जुन प्रावधान राखिएको थियो , त्यो अमेरिकाको पक्षमा नभएर सबै जसो बुँदाहरु इरानको पक्षमा नै थियो । यद्यपि ट्रम्पको अविश्सनीयतामाथि ध्यान दिंदै इरानले सामान्य रुपमा मात्र लिएको थियो ।

समझ्दारी पत्रका प्रावधानहरुलाई संक्षिप्तमा यसप्रकार राख्न सकिन्छ ः एक, लेवनान सहित सबै मोर्चाहरुमा सैन्य अपरेशनहरुको तत्काल र स्थायी रुपमा अन्त्य गर्ने, दुई, अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, तीन, अधिकतम ६० दिनभित्र अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने, चार, अमेरिकाले तुरुन्त नौ सेनाको नाकाबन्दी हटाउन शुरु गर्ने र ३० दिनभित्र नाकाबन्दी पूर्ण रुपमा अन्त्य गर्ने, पाँच, हर्मुज जल डमरुमा इरानले ६० दिनका लागि विना कुनै व्यवसायिक जहाजहरुका लागि सुरक्षित मार्ग खोल्ने, छ, इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि अमेरिकाले क्षतिपूर्ति स्वरुप कम्तिमा ३०० अर्ब अमेरिकी डलर इरानलाई दिने, सात, अमेरिकाले इरानविरुद्ध लगाएका सबै प्रकारका प्रतिबन्धहरु हटाउने, आठ, इरानले आणविक हतियार निर्माण नगर्ने र युरेनियम सम्बद्र्धन सम्बन्धी विवादित विषय दुई देश (अमेरिका र इरान) का बीच छलफल गरेपछि टुंग्याउने, नौं, अन्तिम सम्झौता नभएसम्म, अमेरिका र इरान यथास्थितिमा रहने, दश, हस्ताक्षर गरिसकेपछि प्रतिबन्धहरु फुकुवा नहुँदासम्म अमेरिकाले इरानी कच्चा तेल, पेट्रोलियम उत्पादनहरु लगायत सबै सम्बन्धित सेवाहरुको निर्यात गर्न छुट दिने, एघार, अमेरिकाले रोकेको इरानको सम्पत्ति खुला गर्ने, बाह्र, यो समझ्दारी पत्र कार्यान्वयन भए नभएको अनुगमन गर्न एउटा कार्यकारी संयन्त्र स्थापना गर्ने, तेह्र, बुँदा नं. १,४,५, १० र ११ कार्यान्वयन भएको अवस्थामा अमेरिका र इरानले अन्य विषयमा अन्तिम सम्झौताका लागि वार्ता शुरु गर्ने र चौध, अन्तिम सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को बाध्यकारी प्रस्तावद्वारा अनुमोदन गरिने ।

अमेरिकालाई हैसियत जोगाउन कठिन

ट्रम्पले यस प्रकारको समझ्दारी पत्रमा स्वीकृति जनाउनुका पछाडि दुई वटा सम्भावित कारण हुन सक्छन् ः एक, उनी युद्धबाट आफू एक्लो पर्दै गैरहेको र अब युद्ध नरोके अमेरिका बर्बाद हुन सक्ने खतरा र अर्को, उनीसँग सैन्य सामाग्री भण्डार रित्तिंदै गएको हुँदा केही समय विश्राम लिने र शक्ति संचय गर्ने । तर इजरायलले आफूलाई अमेरिका र इरानबीचको समझ्दारी पत्र स्वीकार्य नभएको भनी सम्झौतालाई अस्वीकार ग¥यो । उसले लेबनान माथि आक्रमण जारी राख्यो र नेतान्याहुले भने“हामी अमेरिकाका दास होइनौं ।” यो समझ्दारीपत्रले गर्दा इजरायल र अमेरिकाबीच सामान्य मतभेद देखा प¥यो । त्यो अहिलेसम्म कायम छ । यसरी इजरायलले स्वीकार नगरेपछि समझ्दारी पत्र क्रमशः इजरायललाई मात्र होइन, अमेरिकालाई पनि अस्वीकार्य बन्यो र ट्रम्पले इरानमाथि आक्रमण जारी राख्दै आएका छन् । अमेरिकाले इरानलाई सम्पूर्ण शक्ति लगाएर समाप्त पार्न खोजे पनि इरान झ्न कडा बनेर उभिएको छ । मध्यपूर्वमा जति पनि अमेरिकी सैन्य अड्डाहरु रहेका छन्, त्यहाँ इरानले झन् ठूला आक्रमणहरु गरेको छ । युद्ध विरामकै दौरानमा अमेरिकाले इरानमाथि आक्रमण गरेको भोलिपल्ट बहराइनको अमेरिकाको सबैभन्दा ठूलो सैन्य क्याम्प माथि गरिएको ठूलो आक्रमण त्यसको उदाहरण हो । अहिले साउदी अरब पनि इरानविरुद्ध उत्रिएको छ । इरानले कतार, युएई, बहराईन, साउदी, कुवेत, जोर्डन,यमन लगायतका देशमा रहेका अमेरिकी सैन्य क्याम्पमा एकैसाथ आक्रमण जारी राखेको छ र ती देशहरुलाई अमेरिकालाई सहयोग नगर्न चेतावनी दिइरहेको छ । इरानले हर्मुज जलडमरुलाई पनि आफ्नो कब्जामा लिइरहेको छ । अमेरिकाले लगाउन खोजेको नाकाबन्दीलाई उसले नाकाम पारिदिएको छ । अमेरिकी जहाज रोक्नका लागि समुद्र मुनि माइन विछाएको छ । अमेरिकाले पठाएका ठूला युद्धपोतहरुलाई समुद्र मै ध्वस्त पारिरहेको छ । कैयौं शक्तिशाली वमवर्षक जहाजहरु आकाशमै ध्वस्त पारेको छ । त्यसले गर्दा अमेरिका सबैतिरबाट पराजित हुँदै आएको छ । उसलाई अहिलेसम्मको महाशक्तिको हैसियत जोगाउन कठिन भएको छ । तैपनि उ सधैका लागि कमजोर भएको छ भनेर निश्कर्ष निकाल्नु सही हुने छैन ।

लेनिनले भने जस्तै साम्राज्यवाद युद्ध हो । युद्ध नभई साम्राज्यवाद एक दिन पनि टिक्दैन । दोस्रो विश्व युद्ध भन्दा पहिले देखा परेका साम्राज्यवादी देशहरु युद्धपछि आ–आप्mनो देशमा सीमित भएका थिए । त्यसको फाइदा उठाउँदै अमेरिकाले विश्वमा आफूलाई एकल ध्रुवीय महाशक्तिको रुपमा स्थापित गर्दै आएको थियो । विश्वका सबै देशमाथि एक छत्र हैकम चलाउने रणनीतिक लक्ष्य लिएको अमेरिकी साम्राज्यवाद इरानसँगको युद्धमा फस्न पुगेको छ । ऊ त्यहाँ कब्जा गर्न पनि सक्दैन र युद्धबाट विना उपलब्धि निस्कन पनि सक्दैन । अमेरिकाले इरानसँग रहेको यूरेनियम र परमाणु शक्तिलाई आफ्नो कब्जामा लिन चाहन्छ । त्यसैले परमाणु भट्टीहरु ध्वस्त पार्न कैयौं प्रयास ग¥यो । तर असफल भएको छ । इरानलाई आत्मसमर्पण गराएपछि त्यहाँको तेलमाथि आफ्नो एकछत्र कब्जा जमाउन चाहेको छ । इरानले हर्मुज जलडमरुमाथि नाकाबन्दी लगाएपछि अमेरिकाले झन आक्रमण तीब्र बनाएको छ । तर इरान त्यो सबै आक्रमणको सामना गरिरहेको छ । हर्मुज जलडमरु यस्तो नाका हो, जहाँबाट विश्वको कुल तेल मध्ये २० प्रतिशत तेल बाहिर निकास हुन्छ । यसले तेल उर्जामाथिको अमेरिकी वर्चश्व समाप्त हुँदै गएको छ ।

मध्यपूर्वको इरान–अमेरिका युद्ध क्षेत्रीय युद्ध हो । आगामी दिनमा तेस्रो विश्वयुद्धमा विस्तार हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तैपनि तत्काल तेस्रो विश्वयुद्धको सम्भावना कम छ । अमेरिकी साम्राज्यवाद विरुद्ध रहेको रुस, चीन, कोरिया जस्ता परमाणु शक्ति भएका देशहरु पनि इरानलाई प्राविधिक तथा कुटनीतिक सपोर्ट गरे पनि प्रत्यक्ष युद्धमा सामेल छैनन् । इरानले सस्तो खर्चमा तयार गरेका ड्रोन मिसाइलहरु प्रयोग गरेर अमेरिकी महंगो मिसाइल तथा युद्ध पोतहरुलाई ध्वस्त पार्दै आएको छ । त्यसरी इरान लामो युद्ध चलाउन सक्छ भन्ने प्रमाणित भएको छ । जबकि अमेरिकालाई दिनहुँ एक अर्ब डलर खर्च गर्न परिरहेको छ । यसले गर्दा अमेरिका दिन प्रतिदिन आर्थिक रुपले कमजोर बन्दै गएको छ । अमेरिका कमजोर बन्दै गएको अवस्थामा अब उसको नेटोमा पनि नेतृत्व कमजोर बन्दै गएको छ । यो स्थितिमा अमेरिकाको स्थिति के हुनेछ ? यसबारे विश्लेषण भईरहेको छ । एउटा सानो उत्पीडित देश इरानसँग लड्ने हैसियत गुमाइसकेको अमेरिकाका अगाडि भोलि रुस वा चीनसित युद्ध लड्नु प¥यो भने उसको के हविगत होला ? के उसले इरानले जस्तै एक्लै दर्जनौं देशसँग लड्न सक्छ ? सक्दैन । यो लडाई यदि जारी नै रह्यो भने पनि अमेरिका इरानसँग २÷४ महिना पनि टिक्न सक्छ वा सक्दैन ? अहिले केही भन्न सकिन्न । यो अवस्थामा अमेरिका अब एकल ध्रुवीय महाशक्तिको रुपमा कायम रहन सक्ने देखिंदैन । विश्व अब बहुध्रुवीय शक्तिहरुको प्रतिस्पर्धा तर्फ अग्रसर देखिएको छ । इरानले क्षेप्यास्त्र निर्माणको क्षेत्रमा नयाँ नयाँ किर्तिमान कायम गर्दै गइरहेको छ । जुन जुन देशमा अमेरिकाले प्रभुत्व कायम गरेको छ, त्यहाँ अमेरिकी साम्राज्यवादको विरोध भइरहेको छ । अमेरिकालाई अन्य देशको प्रत्यक्ष सैन्य सहयोग भैरहेको छैन । तर अर्कोतर्फ रुस, चीन, उत्तरकोरिया जस्ता देशले सैन्य क्षमतालाई वृद्धि गरिरहेका छन् ।

कम्युनिस्टहरुको कार्यभारः

साम्राज्यवाद जतिसुकै शक्तिशाली भए पनि जनताले धुलो चटाउन सक्छन् भन्ने कुरा इरानी जनताले सावित गरिदिएका छन् । क. माओले सही भन्नुभएको थियोः “साम्राज्यवादीहरु कागजी बाघ हुन ।” बहादुर इरानी जनताले निश्चित रुपमा अमेरिकी साम्राज्यवाद तथा यहुदीवादी इजरायललाई पराजित गर्नेछन् । इरानी जनताको विजय सुनिश्चित हुनुको कारण यो हो कि इरान न्यायको युद्ध लडिरहेको छ । त्यसकारण अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको जीत हुनु अवश्यम्भावी छ । इरानलाई विश्वव्यापी रुपमा उत्पीडित राष्ट्र तथा साम्राज्यवाद विरोधी जनताको व्यापक समर्थन रहेको छ । इरानको साम्राज्यवाद विरोधी भूमिकालाई विश्वभरी समर्थन भए पनि उसको मुस्लिम कट्टरवादी नीतिलाई भने समर्थन गर्न सकिंदैन र त्यो इरानी जनताको हितमा छैन ।

अहिले विश्वको प्रधान अन्तर्विरोध साम्राज्यवाद तथा उत्पीडित राष्ट्र र जनताबीचको अन्तर्विरोध हुो । त्यसका साथै साम्राज्यवादबीचको अन्तर्विरोधहरु पनि विद्यमान रहेका छन् । अन्तर साम्राज्यवादी ती अन्तर्विरोधहरुबाट राष्ट्रिय मुक्ति आन्दोलन वा नयाँ जनवादी क्रान्तिको पक्षमा फाइदा लिने सम्भावनालाई भने अस्वीकार गर्न सकिंदैन । यो अवस्थामा विश्वका उत्पीडित राष्ट्र तथा जनता साम्राज्यवाद विरुद्ध एकजुट हुनुको विकल्प छैन । द्वितीय विश्वयुद्ध पछि साम्राज्यवादले अविकसित तथा पुँजीवाद उन्मुख देशहरुमा नवउपनिवेशवादी नीति लाद्न थाल्यो । साम्राज्यवादले पुँजीवादी तथा अविकसित देशहरुमा आफ्नो दलाल सरकार बनाउने र त्यहाँ साम्राज्यवादी अर्थनीति, सैन्य नियन्त्रण, सांस्कृतिक अतिक्रमण तथा राजनीतिमा समेत हस्तक्षेप गर्दै नवउपनिवेशवादी नीति लागु गर्दै आएको छ । खास गरेर अमेरिकी साम्राज्यवादले विश्वका सबै देशहरुमाथि आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ । रुस, चीन, उत्तरकोरिया लगायतका देशहरु उसँग सम्झौता नगर्दा बेलाबेलामा उनीहरुलाई पनि धम्की दिने गर्दछ । अमेरिकी साम्राज्यवादले विश्वमा १७० भन्दा धेरै देशमा सैन्य क्याम्प राखेको छ भने दुतावास सुरक्षा, सैन्य सहचारी नाममा पनि कैयौं देशमा सुरक्षा सम्बन्धी निकायहरु राखेको छ । यसले गर्दा ठूला देशहरुदेखि साना गरिब, कमजोर तथा अविकसित देशहरु समेत अमेरिकी साम्राज्यवादको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा छन् । यसरी ती देशहरु नवऔपनिवेशिक उत्पीडनको शिकार भएका छन् । त्यसको लागि उसले नाटो (ल्ब्त्इ) लगायत सैन्य गठबन्धनहरु पनि गठन गरेको छ । कुनै देशले कुटनीतिक सम्बन्ध राख्न चाहेन भने उसलाई नाकाबन्दी गर्न शुरु गर्छ । नेपालमा एमसीसी पाििरत गर्नका लागि जवरजस्ती तात्कालीन सरकारहरुलाई दबाब दियो । अन्ततः शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारका पालामा एमसीसी पारित गरायो । आज नेपाल भारतीय विस्तारवादको अर्धउपनिवेश मात्र होइन, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नवउपनिवेश बन्दै गएको छ । आफ्ना आफ्ना देशमा साम्राज्यवादविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन र समाजवादी क्रान्ति संचालन गर्नका लागि त्यहाँका क्रान्तिकारी कम्युनिस्टहरुले मात्र सक्दछन् । सम्बन्धित देशको परिस्थिति अनुसार नयाँ जनवादी तथा समाजवादी क्रान्ति वा राष्ट्रिय मुक्ति आन्दोलनका लागि कम्युनिस्टहरु लड्नु पर्छ । त्यो काम क्रान्तिकारी कम्युनिस्टहरुले मात्र गर्न सक्छन् । कम्युनिस्टहरु देशभक्त हुनुको साथै अन्तर्राष्ट्रियतावादी पनि हुन्छन् । त्यसकारण संसारभरीका कम्युनिस्टहरुको बलियो संगठनले मात्र अमेरिकी साम्राज्यवादसहित सबै प्रकारका साम्राज्यवादी उत्पीडनबाट मुक्ति दिलाउन सक्छन् । अहिले कम्युनिस्टहरुको कार्यभार आफ्ना देशका दलाल पुँजीवादी तथा साम्राज्यवादी शक्तिका विरुद्ध जनतान्त्रिक अधिकार तथा राष्ट्रिय स्वाधीनताको लडाई लड्नु हो ।

नेपाल र भारत दुवै देश साम्राज्यवादबाट उत्पीडित देश हुन् । दुवै देशका जनता साम्राज्यवादीहरुको नवउपनिवेशिक नीतिबाट पीडित छन् । अमेरिकी साम्राज्यवादले दुवै देशमा आफ्नो दलाल सरकार बनाएर आर्थिक, राजनैतिक तथा सांस्कृतिक क्षेत्रलाई नियन्त्रण गरेको छ । साम्राज्यवादी नियन्त्रणका निम्ति साम्राज्यवादले दुवै देशमा दलाल सरकारहरुले फासिवादी नीति लागु गर्दै छन् र जनताको लोकतान्त्रिक अधिकार खोस्दै गएका छन् । तर विडम्बना के छ भने भारत दक्षिण एसियामा उदाँउदो महाशक्ति बन्दैछ । आफ्नो एकाधिकार पुँजीवादको साथसाथै दलाल मोदी सरकार नेपालमाथि अर्धउपनिवेशिक तथा नवऔपनिवेशिक उत्पीडन गर्दै आएको छ । नेपाली जनताले भारतीय विस्तारवादको नेपालमाथिको शोषण, उत्पीडन तथा भू–अतिक्रमणको विरोध गर्दै आएका छन् । भारत एकातिर नवऔपनिवेशिक शोषणमा परेको छ, भने अर्कोतिर नेपाल सहित दक्षिण एशियाली छिमेकी राष्ट्रहरु माथि आफूले पनि अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक शोषण उत्पीडन गरेको छ । दुवै देशका क्रान्तिकारी जनता आफ्ना दलाल सरकारको विरुद्ध संघर्षका लागि जुझारु एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ । दुवै देशका जनताले आफ्नो देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतालाई बचाउन र नयाँ जनवाद, समाजवाद तथा साम्यवादी समाज निर्माणको दिशामा व्यापक एकता गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता छ ।

निष्कर्ष ः

इरान–अमेरिका युद्धमा इरानको पनि ठूलो क्षति भएको छ । किन कि अमेरिकाले ठूलो पैमानामा बम गोला वर्षाएको छ । तर त्यहाँका जनता आत्तिएर आत्मससमर्पण गर्न खोजेका छैनन् । एक मुठ्ठी सास रहँदासम्म अमेरिकी–यहुदीवादीहरुका विरुद्ध लड्न उनीहरु तयार छन् । अमेरिकी शक्तिशाली वम वर्षकहरुको हमलाबाट उनीहरुको देशभक्तिपूर्ण भावना, क्रान्तिकारी साहस तथा साम्राज्यवादसितको संघर्षमा रत्तिभर कमी आएको छैन । अमेरिकी–यहुदी युद्ध पिपासु शासकहरुले हात हतियारबाट विश्वका जनतालाई भयभित पार्दै आएका थिए । लाखौं निर्दोष जनताको निर्मम हत्या गर्दै आएका छन् । तर युद्धले के सिकायो भने देशभक्त जनताको साहसका अगाडि उनीहरुको शक्तिशाली हातहतियार पनि कमजोर सावित हुन पुग्दो रहेछ । अब अमेरिकी साम्राज्यवादलाई महाशक्ति ठान्ने आमरुपमा जुन दृष्टिकोण थियो, त्यसमा परिवर्तन हुँदै गैरहेको छ । अमेरिकी साम्राज्यवाद अब रक्षात्मक अवस्थामा पुगेको छ । इरानको शक्तिलाई देखेर कतिपय देशले साम्राज्यवाद विरुद्ध विश्वको नेतृत्व अब इरानले गर्ने अपेक्षा गर्न थालेका छन् । तर साम्राज्यवादी उत्पीडनको अन्त कुनै एउटा देशले गर्न खोजेर सम्भव छैन, बरु विश्वका लाखौं करोडौं श्रमजीवी जनतातथा उत्पीडित राष्ट्रहरुको जुझारु एकताले नै साम्राज्यवादलाई सधैका लागि अन्त गर्न सकिने छ । स्मरणीय के छ भने “संसारका सर्वहारा तथा उत्पीडित राष्ट्रहरु एक होऔं ।” लेनिनको यो नारा आज पनि सान्दर्भिक रहेको छ ।

(भाकपा (माले) रेडस्टारको तेह्रौं महाधिवेशनको सन्दर्भमा १७ सेप्टेम्बर २०२६का दिन कर्नाटकको रायचुरमा आयोजित गोष्टीमा प्रस्तुत कार्यपत्रको नेपाली पाठ)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित