हरिभक्त कँडेलको सक्षिप्त जीवन वृतान्त

काठमाडौं । २०११ साल साउन १४ मा बाग्लुङको साबिक बिहुँकोट गाविस चिरपानी २ मा जन्मनुभएका हरिभक्त कँडेल २०३१ सालदेखि निरन्तर रुपमा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्छ । २०४२ सालदेखि त उहाँ पार्टीको केन्द्रीय नेतृत्व तहमा बसेर विभिन्न जिम्मेवारी बहन गर्दै आउनु भएको छ । प्रचण्ड–बादलका समकालीन उहाँ जनयुद्धकालमा जनमुक्ति सेनालाई वैचारिक, सैद्धान्तिक तथा प्राविधिक रुपमा नेतृत्व गर्ने जनसैन्य ब्यूरोको इन्चार्ज भएर काम गर्नुभएको थियो । नेता हरिभक्त कँडेल प्रतीकलाई अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि पार्टीको नियमित कार्यसम्पादनका लागि ‘कार्यवाहक महासचिव’ जिम्मेवारी सुम्पनु भएकोे छ ।

चित्रबहादुर केसीबाट नेकपा (चौम)को पार्टी सदस्यता लिनुभएका उहाँले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह र गणितमा स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । उहाँले ०३१ सालदेखि ०४२ सालसम्म विध्यालयमा शिक्षकको रुपमा अध्यापन गर्दै पार्टी संगठन विस्तारको कामलाई पनि सँगसँगै अगाडि बढाउनु भयो ।

सुरुका तीन वर्षसम्म उहाँले बाग्लुङको बिहुँकोटस्थित आदर्श निमाविको प्रधानाध्यापक भएर अध्यापन गर्नुभयो । सोही समयमा उहाँले ०३१ भाद्रदेखि ०३४ सम्म नेकपा (चौम)को बिहुँकोट गाउँ सेक्रेटरीको जिम्मेवारी पनि सम्हाल्नु भयो । २०३४ साल श्रावणमा राजतन्त्रविरोधी पर्चा काण्डमा २४ घण्टा बाग्लुङको प्रहरी हिरासतमा समेत पर्नुभयो । पछि पार्टीकै योजनामा बाँकेको खजुरा माविमा अध्यापन गराउन पुग्नुभयो । २०३५ सालमा उहाँ बाँके जिल्लाको सेक्रेटरी हुनुभयो । उहाँ नै बाँकेको कम्युनिस्ट आन्दोलनको संस्थापक सेक्रेटरी बन्नुभयो । ०३८ देखि ०४० सम्म उहाँको जिम्मेवारी केन्द्रीय व्यरो अन्तर्गतको उपत्यकामा प¥यो । र, तत्कालीन विध्यार्थी संगठन अनेरास्ववियु (छैठौं)को केन्द्रीय कोषाध्यक्ष हुनुभयो । त्यही अवधिमा उहाँले पाटन क्याम्पसमा उपत्यकाभरिमै सर्वाधिक लोकप्रिय मत ल्याएर स्ववियु सभापति जित्नुभयो । र, त्यही अवधि (२०३९) मा विद्यार्थी संगठनको महासविचमा पनि निर्वाचित हुनुभयो । त्यसबेला उहाँ पार्टीको उपत्यका सम्पर्क समितिको सदस्य पनि हुनुुहुन्थ्यो । यसै अवधिमा अर्थात् २०३८ जेठमा भएको शिक्षक आन्दोलनको क्रममा भद्रकालीबाट गिरफ्तार पर्नुभयो र १८ दिनसम्म चारखाल डिल्लीबजार जेलमा बन्दी जीवन बिताउनु भयो । त्यसैसालको चैत्रमा भएको अनेरास्ववियूको सातौ राष्ट्रिय सम्मेलनको क्रममा लगनखेलबाट गिरफ्तारमा पर्नुभयो र पाँच महिनासम्म सिन्धुपाल्चोकको चौतारामा बन्दी जीवन बिताउनुभयो ।

 

पछि उहाँ ०४१ सालमा अखिल नेपाल युवक संघको पनि केन्द्रीय कोषाध्यक्ष बन्नुभयो । ०४२ सालमा पार्टीको केन्द्रीय विस्तारित बैठकबाट केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । नेता रामबहादुर थापा बादल पनि सोही बेला केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यसपछि उहाँ पश्चिमाञ्चल व्यूरो (भेरी, कर्णाली, सेती र महाकाली)को २०४२ देखि २०४७ सम्म सेक्रेटरी बन्नुभयो । पछि ०४८ को एकता महाधिवेशनबाट पनि उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँको जिम्मेवारी प्रवासमा तोकियो । २०४८–०४९ सम्म उहाँले प्रवास ब्यूरो, भारतको इन्चार्जको भूमिका निर्वाह गर्नुभयो ।

उहाँ २०५०–०५६ सम्म ‘ख’ उपक्षेत्रीय ब्यूरो, गण्डक क्षेत्रको इन्चार्ज हुनुभयो । जनयुद्ध सुरु भएपछिको पहिलो पोलिटब्यूरोको बैठक यसै क्षेत्र अन्तर्गत स्याङ्जा जिल्लाको विरुवा भन्ने ठाउँमा भएको थियो । २०५६ भाद्र–०५७ चैत्रसम्म उहाँ ‘क’ उपक्षेत्रीय ब्यूरो पूर्वाञ्चाल क्षेत्रको इन्चार्जको जिम्मेवारी लिएर जानुभयो । आलोकको जिम्मेवारी पनि त्यही उपव्यूरोमा थियो । आलोकका पार्टीको नीति र नेतृत्वविरुद्धका गतिविधिको अध्ययन गर्ने जिम्मा पनि उहाँलाई दिइएको थियो । उहाँले आलोकमा आर्थिक र सांस्कृतिक अराजकता पाउनु भयो । र, नेतृत्वका विरुद्ध षड्यन्त्र गरेको आरोप लागेपनि त्यसम्बन्धी भने उहाँले ठोस प्रमाण भेट्टाउनु भएन । उन (आलोक)लाई पार्टीले कारबाही ग¥यो । कारबाहीमै रहेको बेला तत्कालीन राज्यपक्षका सुरक्षाकर्मीको दमनमा आलोक मारिए ।

२०५८ देखि ०५९ सम्म उहाँ केन्द्रीय आर्थिक विभागको प्रमुख रहेर जिम्मेवारी बहन गर्नुभयो । उहाँले केन्द्रीय कार्यालय लगायत जनमुक्ति सेना, सिंगो पार्टी कमिटिभित्रका सम्पूर्ण आय व्ययको अडिट गर्ने गर्नुहुन्थ्यो । यसरी अडिट गर्ने क्रममा केन्द्रीय कार्यालय (हेड क्वार्टर)को अडिट गर्न खोज्दा तत्कालीन पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालयको अडिट गर्न दिएनन्, विभिन्न वाहना गरेर आय व्ययको कुनै हिसाबकिताब पेश गरेनन् । त्यसपछि नेता प्रतीक र प्रचण्डको बिचमा सम्बन्ध चिसिन थाल्यो । त्यसपछि उहाँले आर्थिक विभागको प्रमुखबाट राजिनामा दिनुभयो । २०५९–०६० सम्म राप्ती विशेष क्षेत्र अन्तर्गतका ४ वटा जिल्लाको इन्चार्ज रहेर काम गर्नुभयो । २०६१ सालमा केन्द्रीय जनसैन्य प्रतिष्ठानको जिम्मेवारी दिइयो । यस प्रतिष्ठानको काम जनमुक्ति सेनालाई सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण दिने, विभिन्न प्राविधिक सामग्रीहरुको व्यवस्थापन गर्ने लगायतका कामहरु पर्दथ्यो ।

जनयुद्ध कालमा उमेश, अनन्त, प्रवीण, विमल आदि टेक नामले चिनिने नेता प्रतीकले २०६२–०६३ मा केन्द्रीय अनुशासन तथा अनुगमन समितिको प्रमुखको जिम्मेवारी बहन गर्नुभयो । २०६३–०६४ मा पुनः प्रवास व्यूरो, भारत तथा अन्तर्राष्ट्रिय विभागको प्रमुखको भूमिका निर्वाह गर्नुभयो । यसैबिचमा शान्तिवार्ताको प्रक्रिया अगाडि बढिरहेको थियो । उहाँ प्रवासकै जिम्मेवारीमा रहेको बेला पार्टीका शीर्ष नेताद्वय मोहन वैद्य किरण र सीपी गजुरेल भारतीय जेलबाट रिहा हुनुभयो । उहाँहरुलाई लिएर नेपाल आएपछि उहाँको जिम्मेवारी पनि नेपालभित्रै तोकियो । उहाँले २०६४–०६५ मा भोजपुरा राज्यसमितिको इन्चार्जको जिम्मेवारी बहन गर्नुभयो ।

०६४ मा भएको बालाजुको पाँचौ विस्तारित बैठकबाट नै पार्टीभित्र अन्तर्संघर्ष सुरु भइसकेको थियो । त्यसपछि भएको खरिपाटीको राष्ट्रिय भेलामा त पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले प्रचण्डको राजनीतिक दस्तावेजको विरुद्धमा फरक मतसहितको दस्तावेज नै पेश गर्नुभयो । कमरेड प्रतीकले सुरुदेखि नै मोहन वैद्य किरणको क्रान्तिकारी लाइनलाई साथ दिनुभयो । र, यही क्रान्तिकारी लाइनमा दृढतापूर्वक उभिनुभयो । ०६९ सम्म भएको अन्तर्संघर्षका हरेक मोर्चामा उहाँ खह«ो रुपमा प्रस्तुत हुनुभयो । प्रचण्ड–बाबुरामले पार्टीको आधिकारिक राजनीतिक लाइन ‘जनगणतन्त्र’ छाडेर ‘लोकतान्त्रिक गणतन्त्र’ अँगाल्न पुगेपछि र सेना समायोजनको नाममा जनमुक्ति सेनाको सानो हिस्सालाई नेपाली सेनामा विलय गराएसँगै पहिलो संविधानसभाको पनि विघटन गराइएपछि पार्टी विभाजित हुन पुग्यो । विभाजित भएपछि मोहन वैद्य किरणको नेतृत्वमा नेकपा–माओवादी गठन भयो । त्यसपछि नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा एउटा समूह पार्टीबाट बाहिरियो, त्यसको केही समयपछि रामबहादुर थापा बादलको नेतृत्वमा अर्को समूह प्रचण्डकै पार्टीमा मिसिन पुग्यो । पार्टीभित्र वामपन्थी र दक्षिणपन्थी अवसरवादीहरुका साथै संशोधनवादी र प्रतिक्रियावादीहरुले घेराबन्दी गरेको बेला नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई बचाउन कमरेड प्रतीकले नेतृत्व पंक्तिमा रहेर महत्वपूर्ण भूमिका खेल्नु भयो । र, नेतृत्वलाई नजिकबाट सहयोग गर्नुभयो ।

यहीबिचमा परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत)सँग एकता भयो । र, पार्टीको नामा नेकपा (क्रान्तिकारी माओवादी) नामाङ्करण गरियो । पछिल्लो चरणमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा (बहुमत) बिचमा एकतापछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको छ । यी सबै एकताका निम्ति भएका वार्ता र संवादमा कमरेड प्रतीकले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । र, हाल संगठन विभागको प्रमुखको जिम्मेवारी बहन गर्दै आउनुभएको उहाँलाई पार्टी महासचिव गौरवले विधानतः कार्यवाहक महासचिवको जिम्मेवारी सुम्पनु भएको हो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद, नवसंशोधनवाद, आत्मसमर्पणवाद र संसदवाद हावी रहेको आजको परिस्थितिमा क्रान्तिकारी धाराको रक्षा गर्ने र यो धाराको विकास र विस्तारका लागि चुनौतीका चाङहरुलाई भत्काउँदै अगाडि बढ्नुपर्ने परिस्थितिमा कमरेड प्रतीकलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘कार्यवाहक महासचिव’को जिम्मेवारी पूरा गर्नुपर्ने एकसाथ चुनौती र अवसर प्राप्त भएको छ । वर्गसंघर्ष र अन्तर्संघर्षको लामो र जीवन्त अनुभव, विचार, राजनीति, संगठन र संघर्षका सबै मोर्चाको विशद अनुभव सँगाल्नु भएका नेता प्रतीकले कुशलतापूर्वक नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई अगाडि बढाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्ने सिंगो पार्टीपंक्ति र क्रान्तिकारी जनपंक्तिले अपेक्षा गरेका छन् । कम्युनिस्ट पार्टीमा नेतृत्व भनेको सामूहिकताको केन्द्रिकृत अभिव्यक्ति हो । पार्टी भनेको आफैमा विपरीतहरुको एकत्व हो । एकता, संघर्ष र रुपान्तरणले नै पार्टीलाई नयाँ जीवन र गति प्रदान गर्दछ । (नोट : प्रस्तुत सामग्री वर्ग दृष्टिबाट साभार गरिएको हो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित