संयुक्त प्रेस वक्तव्य
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरबाट स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा विद्यार्थीहरूलाई प्रहरीद्वारा गैरन्यायिक गिरफ्तारी गरेको घटनाप्रति संयुक्त विद्यार्थी आन्दोलनमा आबद्ध पक्ष गम्भीर खेद व्यक्त गर्दछ। साथै, गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई बिना सर्त तत्काल रिहा गर्न प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछ।
२०८३ असोज २२ गते त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरूबीच उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्न २०८३ असोज २३ गते उपकुलपतिको कार्यालयमा वार्ता तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो। उक्त छलफल विश्वविद्यालय प्रशासन र स्ववियु प्रतिनिधिहरूबीच सहमति कायम भई सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको अवस्थामा पनि प्रहरीद्वारा उपकुलपतिको कार्यालय परिसरबाट आर.आर. क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिमन्त बुढा, स्ववियु सदस्य कुलेन्द्र बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल तथा विद्यार्थी रमण उपाध्यायलाई गैरन्यायिक गिरफ्तारी गरिएको छ।
यस प्रकारको घृणित घटनाले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार, शान्तिपूर्ण गतिविधि तथा संवादमार्फत समस्या समाधान गर्ने प्रक्रियामाथि वर्तमान सरकारले अपनाउँदै गएको फासीवादी चरित्रलाई उदाङ्गो पारेको छ। विद्यार्थी संगठनहरूसमक्ष सरकारले कथित “प्रतिबद्धता” को घोषणा गरेपश्चात् संगठनहरूले लगातार वार्ता र छलफलको माग गरे पनि त्यसलाई बेवास्ता गर्ने र सम्मानित सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको उल्लङ्घन गर्ने काम सरकार र त्रिवि प्रशासनबाट लगातार हुँदै आइरहेको छ। यो घटना पनि त्यसकै निरन्तरता हो।
संयुक्त विद्यार्थी आन्दोलनमा गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई बिना सर्त र कुनै पनि ढिलाई नगरी अविलम्ब रिहाइ गर्न प्रहरी प्रशासनसमक्ष कडा शब्दमा माग गर्दछ। साथै, विद्यार्थी साथीहरूलाई तत्काल रिहा नगरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित प्रहरी प्रशासन र सरकारले लिनुपर्ने स्पष्ट गर्दछ।
गिरफ्तार विद्यार्थी साथीहरूलाई तत्काल रिहा गर!
विद्यार्थी एकता जिन्दावाद!
संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद!
मिति: २०८३ असोज २३ गते
हस्ताक्षरकर्ता तथा संगठनहरू
- करुणा कटुवाल — अध्यक्ष, नेपाल विद्यार्थी संघ
- दीपक घामी — अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)
- विजय प्रकाश शर्मा सापकोटा — अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)
- महेश श्रेष्ठ — अध्यक्ष, अनेरास्ववियु (समाजवादी)
- नरेन्द्र सी — अध्यक्ष, अनेरास्ववियु
- विरेन्द्र शाह — संयोजक, अखिल (क्रान्तिकारी)
- महेश श्रेष्ठ — अध्यक्ष, अखिल (क्रान्तिकारी)
- सुवास जिसी — अध्यक्ष, अखिल (छैटौँ)
- ह्याल तामाङ — अध्यक्ष, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल
- सुनिता बुढाथोकी — अध्यक्ष, विद्यार्थी सरोकार नेपाल
- पोषण कुमार यादव — संयोजक, विद्यार्थी जनमत संघ

