श्रमजीवि वर्गको वैचारिक मस्तिष्क कम्युनिस्ट पार्टी

– प्रेम सुवेदी

कम्युनिस्ट आन्दोलनमा जब वैचारिक , राजनैतिक र वर्ग संघर्ष सम्बन्धी बहस र छलफल भन्दा क्रमश व्यक्ति विशेषको चर्चा र घृणामा पार्टी सङ्गठनहरु लाग्छन् । त्यसले स्वभाविकरुपमा ती पार्टी वा सङ्ग्ठनहरु क्रान्ति र परिवर्तनका लागि योग्य नरहेको देखाउछ । यसको अर्थ पार्टी सङ्गठनमा सबै व्यक्ति राम्रो हुन्छन् भन्ने पनि होइन ,र गलत व्यक्ति वा प्रवृत्तिका विरुद्धको संघर्ष पार्टीमा निरन्तर रहन्छ । पार्टी भनेको नीति, कार्यक्रम र योजनाका आधारमा सिङ्गो समाज र राष्ट्रलाई डोर्‍याउने वैचारिक मस्तिक हो । जहाँसम्म कम्युनिस्ट पार्टीको कुरा छ त्यो श्रमजीवी वर्गको मुटु र मस्तिक दुवै हो ।मानिसको जीवनमा मस्तिष्क र मुटुको अभावमा उसको अस्तित्व रहदैन , ठीक त्यस्तै श्रमजीबी वर्गको मुक्ति कम्युनिस्ट पार्टीको अभावमा सम्भव हुदैन । त्यसैले श्रमजीवी वर्गले आफ्नो मुक्ति र परिवर्तनका लागि कम्युनिस्ट पार्टीको निर्माण गरेर शोषण र बिभेद्का विरुद्ध सघर्ष गर्दै आफ्नो मुक्ति र मानव समाज कै न्यायको पक्षमा उभिदै आएको छ । जवसम्म पार्टी , विचारधारात्मक हिसाबले सहि ठाउँमा हुन्छ त्यतिबेलासम्म आफ्ना महान उद्देश्यप्रति हमेशा संघर्षमा रहन्छ र सामान्य व्यक्तिको पछि पर्दैन वा लाग्दैन पनि । उसको दायित्व र कर्तव्य मुख्यतः समाजको मुख्य अंतर्विरोधको समाधानतर्फ हुन्छ र आफ्नो सम्पूर्ण शक्ति र मस्तिष्क त्यसैमा लगाउछ । जब पार्टीमा, समाजमा रहेको अन्तर्विरोधलाई हल गर्ने स्पष्ट खाका, योजना र कार्यक्रम हुदैन, त्यतिबेला पार्टी – सङ्गठनहरु कुहिरोको काग रुमलिए झै रुमिल्न्छन् ।

आज नेपालका कैयौं कम्युनिस्ट समुह वा संगठनहरु त्यस्तै कुहिराको काग बन्दै गएको देखिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनले जुन सघर्ष र वीरताको इतिहास रच्दै आयो, त्यसलाई निरन्तरता दिन हिजो कै सुत्र घोकेर आजको आन्दोलनको नेतृत्व गर्न सम्भव देखिदैन र हुदैन पनि।आजको भूूराजनैतिक अवस्था तथा मुख्य अन्तर्विरोध , विज्ञान, प्रविधिमा भएको विकास र उत्पादन सम्बन्धमा आएको परिवर्तन समेतको गहिरो अध्ययन अनुसन्धानको अभावले कम्युनिस्ट पार्टी ,विभिन्न जटिलता र भटकावमा पुगेको देखिन्छ । जसले गर्दा आन्दोलनको विभाजन र विघटन हुने खतरा अरु बढेर गएको छ । त्यो विभाजन र विघटनलाई रोक्न विचारधारात्मक पुनर्जागरण अहिलेको पहिलो उपचार हो ।

मार्क्सवाद आफैमा गतिशील सिद्धान्त भएकोले समयको गति अनुसार विकास गर्न सकिएन भने त्यो आफैमा एउटा भ्रम र अन्योल बन्दै जान्छ । अहिले कतिपय वामपन्थी तथा कम्युनिस्ट पार्टी वा संगठनहरुले मार्क्सवादका आधरभूत सिद्धान्त नै गलत भएको निष्कर्ष निकाल्दै पुँजीवादी संसदीय व्यवस्थालाई नै सहि ठर्‍याउन पुगेका छन् ।र ,त्यो नै मार्क्सवादको सिर्जनात्मक विकास भएको दावी गर्दछन् । जुन बिचारलार्र्इ मार्क्सवाद – लेनिनवाद –माओवाद र विचारधाराले अस्वीकार गर्दै आफुलार्इ समयनुकुल विकास गरेर मात्रै क्रान्ति सम्पन्न गरेको गौरवपूर्ण इतिहास छ। ठीक त्यही सच्चाइलाई आत्मसात गरेर बदलिएको उत्पादन सम्बन्ध , प्रविधिमा आएको परिवर्तन र विश्व अर्थ– राजनीतिमाआएको फेरबदल समेतको गहन अध्ययन बिना अहिलेको कम्युनिस्ट आन्दोलनलाई पर्गेल्न सम्भव हुदैन । यस सन्दर्भमा पेरिस कम्युन , अक्टोबर समाजवादी क्रान्ति र चीनिया जनवादी क्रान्तिलार्इ ऎतिहासिक शिक्षाको रुपमा ग्रहण गर्दै आजको विशेषतामा क्रान्तिको रुप रेखा तयार गर्ने बिषयमा हामी चुक्दै आएको यथार्थलाई मनन गर्न सकिएन भने फेरि पनि आन्दोलनलाई सही दिशामा लैजान सकिन्न । बिशेष गरेर १९८० को दशक पछि भएका सबै क्रान्तिकारी आन्दोलनहरुको असफलताबाट हामीले गम्भीर शिक्षा लिनु पर्दछ । त्यति मात्र होइन , स्वयं रसियन र चिनियाँ क्रान्ति पछि भएको प्रतिक्रििन्तका घटनाबाट पनि हामीले शिक्षा लिनु पर्दछ । नेपालको कम्युनिस्ट आन्दोलन मात्र होइन ,विश्वस्तरमा नै कम्युनिस्ट आन्दोलन यतिबेला कमजोर अवस्थामा छ । त्यसले गर्दा पुजीवादीहरुले कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ भन्दै आएका छन् तर कम्युनिस्ट आन्दोलन सकिएको छैन र सकिन्न पनि । समयानुकुल विचार , राजनीति ,संगठन र वर्गसघर्षका क्षेत्रमा विकास गर्न नसक्दा आन्दोलनमा कैयौं समस्या देखा परेको सत्य हो । यो स्थितिमा कम्युनिस्ट आन्दोलनलाई समाजको मूल धारमा विकास गर्न व्यक्ति विशेषमा दोष लगाएर वा अरु प्रति घृणा फैलाएर आफू पानी माथिको ओभानो बन्न खोज्नु स्वयं कम्युनिस्ट आन्दोलनको लागि घातक हुन्छ । कम्युनिस्ट आन्दोलन भनेको सामान्य अरु राजनीतिक आन्दोलन भन्दा धेरै परको बिषय भएकोले यसको भविष्यः स्वत प्रष्ट छ । यो कसैको निगाह वा चाहनामा यसको जन्म भएको होइन र यसको आवश्यकताले नै कम्युनिस्ट आन्दोलनको निर्माण भएको हो ।यो सत्य हो कम्युनिस्ट आन्दोलनको समाप्त बुर्जुवाहरुको चाहनाले होइन , समाजको आवस्यकताले निर्धारण गर्दछ ।

जब सम्म समाजमा वर्गहरु रहन्छन् त्यतिबेला सम्म कम्युनिस्ट आन्दोलनको औचित्य रहि रहन्छ ।त्यसैले कम्युनिस्ट आन्दोलन सकिन्छ कि भन्ने चिन्ता आफैमा खोटपूर्ण छ । तर , ध्यान दिन योग्य कुरा के छ भने कम्युनिस्ट आन्दोलनमा लागेका मानिस स्वयं त्यो वर्गका हुन कि होइनन् भन्ने कुराले धेरै महत्व राख्दछ । कम्युनिस्ट आन्दोलनमा छ्द्मरुपमा पसेका गैर कम्युनिस्टहरुले त्यसको नेतृत्व गरे भने स्वभाविक रुपमा आन्दोलनले गलत दिशा समात्छ । तसर्थ, कम्युनिस्ट आन्दोलनले त्यो बिषयमा गम्भीर हुनुपर्दछ ।जस्तो उन्नत जातको बीउ उपयुक्त ठाउँमा परेन भने त्यसले अपेक्षित परिणाम दिदैन ,ठीक कम्युनिस्ट आन्दोलन पनि त्यस्तै हो । सामन्यत पिपलको बिरुवा ढुङ्गामा पनि उम्रन सक्छ तर त्यसको वृद्धि विकास माटोमा जस्तो हुदैन ।त्यसले के कुरा प्रमाणित गर्छ भने कुनै पनि चिजको अस्तित्व रहनु र त्यसको विकास हुनु एउटै कुरा होइन भन्ने प्रष्ट देखाउछ । हामीले कम्युनिस्ट आन्दोलनको चर्चा गर्दा उपरोक्त विषयमा ध्यान दिनु पर्दछ । जहाँसम्म नेपालको कम्युनिस्ट आन्दोलनको बिषय छ त्यो सङ्ग जोडिएका आधरभूत बिषयमा गहिरो गरी अध्ययन गर्न जरुरी छ । यस बिषयमा माओको एउटा भनाइ बढी सान्दर्भिक देखिन्छ ,“ यदि शत्रुले तिमीलार्इ प्रशसा गरे भने सम्झनु तिमी गलत ठाउँमा छौ ,यदि शत्रुले तिम्रो विरोध र निन्दा गर्न थाल्यौं भने बुझ्नु तिमी ठीक ठाउँमा छौ । यो भनाइलाई हामीले ठीकसङ्ग बुझ्नु पर्दछ । अहिले नेपालका कतिपय कम्युनिस्ट भन्ने पार्टी वा संगठनहरुले साम्राज्यवाद ,बिस्तारवादको बिश्वास प्राप्त गर्ने दौड धूपमा छन् र उनीहरुलार्इ खुशी पार्न कैयौं राष्ट्रिय हित विरुद्धका सन्धि सम्झौता समेत गर्दै आएका छन्् । त्यसै आधारमा साम्राज्यवाद र बिस्तारवादको प्रशसा पनि पाउने गर्दछन् । त्यसले नै प्रमाणित गर्दछ , तिनीहरु कम्युनिस्ट सिद्धान्त, आदर्श , मूल्य र मान्यतामा छैनन्ु । तर , अहिले पनि उनीहरुले कम्युनिस्ट आन्दोलन कै नाममा भ्रम दिन सफल नै छन् ।यी र यस्ता बिषयमा जवसम्म कम्युनिस्ट आन्दोलनले वैचारिक विजय प्राप्त गर्न सक्दैन तबसम्म आन्दोलनले सही दिशामा विकास गर्न धेरै गार्‍हो हुन्छ । त्यति मात्र होइन , पुजीवादी साम्राज्यवादीहरुले कम्युनिस्ट आन्दोलनका विरुद्ध अगाडि सारेको नवउदारवादी नीतिका पक्षमा उभिन्छन त्यसले कम्युनिस्ट आन्दोलनलाई स्वतन्त्र आन्दोलनको रुपमा विकास गर्न सम्भव हुदैन । यहाँ प्रश्न उठ्न सक्छ के नवउदारवादको विरोध गरैकै भरमा क्रान्तिकारी आन्दोलन अगाडि बढ्ने हो भने किन त्यसको विरोधमा रहेका शक्तिहरु अगाडि नबढेको ? भन्ने कुरा पनि आउन सक्छ । त्यो एकहद सम्म सत्य जस्तो देखिए पनि वास्तविकता होइन । वास्तविकता के हो भने कम्युनिस्ट आन्दोलन कुनै एउटा बिषय वा दायरामा सीमित हुने बिषयबस्तु होइन र यसले समग्र रुपमा वैचारिक , राजनैतिक ,संगठनात्मक , साँस्कृतिक र वर्गसघर्षका सबै आयाममा श्रेष्ठता हासिल गरेर मात्र त्यसले सही परिणाम दिन सक्दछ । अहिले देखिएको कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था भनेको समयनुकुल विचारको विकासमा उत्पन्न गतिरोध ,साँस्कृतिक र नैतिक धरातलमा आएको गिरावट ,संगठनात्मक कमजोरी ,र वर्गसंघर्षका नयाँ आयामलाइ जोड्न नसक्क्नु नै मुख्य समस्या हुन् । अत ः ती समस्यालाई हल गर्न सबै क्षेत्रमा विकासको आवस्यकता हुन्छ ।अहिले विज्ञान, प्रविधिमा भएको विकास र त्यसले वर्गसंरचनामा ल्याएको परिवर्तनलाई हिजोको औद्योगिक क्रान्तिको दायराबाट सोचेर आजको क्रान्ति सम्भव हुदैन । पहिले जस्तो कारखानाका मजदुरहरु नहुनु भनेको मजदुर नै नहुनु होइन। त्यसैले अहिलेको विज्ञान प्रविधिमा आधारित जनशक्तिलाई क्रान्तिको मूलधारमा ल्याउन कम्युनिस्ट क्रान्तिकारीहरुले विशेष ध्यान दिनुपर्दछ । त्यतिमात्र होइन, विज्ञान प्रविधिले ल्याएका परिवर्तन र उपलब्धिमा आफ्नो दावी र हस्तक्षेपलाई अगाडि बढाउन नसक्नु पनि कम्युनिस्टहरुको कमजोरी हो । सामान्यत ः पछिल्लो सूचना प्रविधि र संचारमा भएको विकासलाई बुर्जुवाहरुले आफ्नो मनोपली गर्दै आएको र कम्युनिस्टहरुले त्यसलाई उपेक्षा गर्दै आएकोले बिचारको बिकासमा नयाँपन आउन सकेन त्यो यथार्थतालाइ जवसम्म आत्मसात गरिदैन तवसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिदैन । त्यतिमात्र होइन, बदलिएको उत्पादन सम्बन्ध र श्रमको क्षेत्रमा आएको परिवर्तन प्रती पनि कम्युनिस्टहरुको ध्यान जान सकेन । जसले गर्दा वर्गसंघर्षलाई ठिक ढङ्गले नेतृत्व गर्न सम्भव भएन , यो यथार्थलाई आत्मसात गरेर मात्र हामीले आन्दोलनलाई अगाडि बढाउन सकिने छ । संगठनको क्षेत्रमा पनि हाम्रा कैयौ संकिर्णताहरु छन् जसले नयाँ पीडीलाई जोड्न र संगठित गर्न ब्यवहारत असफल जस्तै बन्दै गएको छ । अर्को महत्त्वपूर्ण पक्ष कम्युनिस्ट आन्दोलनमा योग्यता, क्षमता र निरन्तरतालाई सहि ढङ्गले मापन गर्ने विधि र प्रणालीको विकास नहुदा त्यसले अनावश्यक विवाद र विभाजन हुने खतरा पनि बढ्दै गएको देखिन्छ । त्यसका साथै कम्युनिस्ट आन्दोलनलाई समग्र सामाजिक ,आर्थिक, राजनीतिक र साँस्कृतिक अभियानको रुपमा भन्दा केवल राजनीतिक अर्थमा मात्र बुझ्ने सोचाइले आन्दोलनलाई कमजोर र दिशाहिन बनाउदै गएको छ ।
तसर्थ , कम्युनिस्ट आन्दोलनको अभियानलाई सीमित दायरा भित्र कैद गर्ने चिन्तनबाट माथि उठेर समग्र समाज विज्ञानको ऎतिहासिक भौतिकवादी जगमा यसको मर्म, भावना ,उद्देश्य र लक्ष्यमा हिड्ने दृढ संकल्पले मात्र यो अभियानलाई सार्थक बनाउन सकिन्छ । आजको कम्युनिस्ट आन्दोलनको चुनौती भनेको मुख्यतः वैचारिक , राजनैतिक ,सास्कृतिक , साङ्गठनिक , सघर्षसम्बन्धी अस्पष्टता र विज्ञान प्रविधिमा भएको विकासनुसार अपडेट नहुनु नै हो ।यी चुनौतीको सामना गर्न वैचारिक पुनर्जागरण , बदलिँदो परिस्थिति अनुसार वर्गसंघर्षको विकास , परिवर्तित उत्पादन सम्बन्धनुसार संगठनको पुनर्निर्माण र वैज्ञानिक खोज अनुसन्धानका आधारमा मात्र अगाडि बढ्न सम्भव हुनेछ । तर , अहिले हाम्रो आन्दोलन उपरोक्त बिषयमा त्यति गम्भीर दैखिदैन , बरु ब्यक्ति बिशेषप्रतिको घृणा , पद प्रतिष्ठाका लागि हानथाप ,अर्थोपार्जनमा चलखेल ,गुटीय श्रेष्ठताका लागि प्रतिस्पर्धा नै नेपाली कम्युनिस्ट आन्दोलनको दिनचर्या बनेको छ । यो अवस्थाबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्न सामान्य मेहनत र कसरतबाट सम्भव देखिदैन । त्यसका लागि मौजादा संगठनहरुको सीमा र दायराभन्दा माथि उठेर मात्र नयाँ आन्दोलनको विकास गर्न सकिने छ। यसको अर्थ थप अर्को पार्टी बनाउन होइन ,बरु त्यसका लागि विचारधारात्मक छलफल , पार्टी संगठनको पुनर्निर्माणका आधारहरुको खोजी , वर्गसंघर्ष र नेपाली क्रान्तिको कार्यदिशा जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको यात्रालाई समृद्धि गर्ने बाटोअवलम्बन गर्नु नै हो । त्यसका लागि सबै क्रान्तिकारीहरुले आ –अफ्नो ठाउँबाट चिन्तन , मनन र साझा पहल गर्न अब ढिला गर्नु हुदैन । छरिएर रहेका क्रान्तिकारीहरुले आफ्नो अस्तित्व रक्षालागि होइन , समग्र कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यलागि आफूलाइ समर्पित गर्न सकेमात्र आन्दोलनले सही दिशा लिन सक्छ । प्रश्न को नेता बन्ने भन्ने होइन , क्रान्तिकारी आन्दोलन कसरी विकास गर्ने भन्ने हो । त्यसमा आफू र आफ्नो समुह पहिलो होइन ,क्रान्तिकारी आन्दोलन र विचार पहिलो बनाउन सके हाम्रा सबै तगारा हट्न सक्छन् । यदि आफू र आफ्नो समुह नै पहिलो भन्दै गए आत्मरती लिन सकिएला तर ,क्रान्तिको कार्यभार पूरा गर्न सकिदैन । त्यसैले आजको आवश्यकता भनेको सबै कम्युनिस्ट क्रान्तिकारीहरु आ–आफ्ना सीमा र समस्या बुझेर बृहत आन्दोलनलाई केन्द्रमा राखेर कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्जागरण सहित पुनर्निर्माणमा जोडिनु अहिलेको आवश्यकता हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित