सत्य कसैको उमेरमा निर्भर हुँदैन, न त कुनै सम्बन्ध, पद वा प्रतिष्ठामा

किसन बहादुर वि.क.
हाम्रो समाजमा उमेर, पद र सम्बन्धलाई प्रायः सत्यताको प्रमाण मानिन्छ। कोही ठुलो छ वा प्रतिष्ठित पदमा छ भने उसको भनाइ सहि मानिने अपेक्षा गरिन्छ ।तर अनुभवलाई सम्मान गर्नु र अनुभवलाई परम सत्य मान्नु एउटै कुरा होइन।कुनै कुरा सत्य हो भने त्यसको पछाडी तर्क हुनुपर्छ, विचारमा एकरूपता हुनुपर्छ र निष्कर्षको आधार पनि छानबिन हुनसक्छ । तिमी भन्दा म ठुलो हुँ भन्नुले केही पनि सही साबवत हुदैन । यी हाम्रा सामाजिक भूमिका हुन्, सत्यको प्रमाणपत्र होइन।
कुनै पनि विचारको सत्यता कसले भन्यो भन्ने कुराले तय गर्दैन, तर त्यसको पछाडि कति तर्क छ र त्यसको पक्षमा कति ठोस कारण छन् भन्ने कुराले निर्धारण गर्छ।सत्यको मापदण्ड उमेर, पद र प्रतिष्ठा होइन—तर्क, प्रमाण र विवेक हो । सत्य कसैको उमेरमा निर्भर हुँदैन, न त कुनै सम्बन्ध, पद, प्रतिष्ठा वा शक्तिमा। सत्यको मूल्य त्यसलाई कसले बोल्यो भन्ने आधारमा होइन, त्यसको पछाडि कति तर्क, प्रमाण र वास्तविकता छ भन्ने आधारमा निर्धारण हुन्छ।
हाम्रो समाजमा उमेरमा ठूलो, पदमा उच्च वा प्रतिष्ठामा अगाडि रहेको व्यक्तिको भनाइलाई स्वतः सही मान्ने प्रवृत्ति अझै देखिन्छ। कतिपय अवस्थामा ठूलाले भनेको कुरा प्रश्न नगरी स्वीकार गर्नुपर्ने, जिम्मेवार पदमा बसेको व्यक्तिको निर्णयमाथि शङ्का गर्न नहुने र पुरानो सम्बन्धका कारण गलत कुरालाई पनि सहनुपर्ने अपेक्षा गरिन्छ। तर यस्तो सोचले सत्यको खोजी गर्दैनस यसले व्यक्तिको हैसियतलाई सत्य भन्दा माथि राख्छ।
अनुभवलाई सम्मान गर्नु र अनुभवलाई अन्तिम सत्य मान्नु फरक कुरा हुन्। अनुभवले मानिसलाई ज्ञान दिन सक्छ, तर अनुभव भएका सबै मानिसका विचार सधैँ सही हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। मानिस जति नै अनुभवी, वरिष्ठ वा प्रतिष्ठित भए पनि ऊ गलत हुन सक्छ। त्यसैगरी, उमेरमा सानो, पदमा तल्लो वा सामाजिक रूपमा कमजोर मानिएको व्यक्तिले पनि सही कुरा उठाउन सक्छ।
त्यसैले कसैले “तिमीभन्दा म ठूलो हुँ”, “मसँग धेरै अनुभव छ”, “म जिम्मेवार पदमा छु” भन्दैमा उसको भनाइ सही प्रमाणित हुँदैन। यी कुराले व्यक्तिको सामाजिक भूमिका, अनुभव वा जिम्मेवारी देखाउन सक्छन्, तर सत्यको प्रमाणपत्र दिन सक्दैनन्।कुनै विचारको मूल्याङ्कन गर्दा हामीले केही आधारभूत प्रश्न सोध्न सक्नुपर्छ।
तर्क के छ ? भनिएको कुराको पछाडि तार्किक आधार छ कि छैन ?
प्रमाण के छ ?निष्कर्षलाई पुष्टि गर्ने तथ्य र वास्तविकता छन् कि छैनन् ?
विचारमा एकरूपता छरु बोलाइ र व्यवहार बीच मेल छ कि छैन ?
छानबिनको सम्भावना छरु प्रस्तुत तर्क र प्रमाणलाई स्वतन्त्र रूपमा जाँच्न सकिन्छ कि सकिँदैन ?
गल्ती स्वीकार गर्ने साहस छरु नयाँ प्रमाण प्राप्त हुँदा आफ्नो पुरानो विचार सच्याउन तयार छ कि छैन ?
यी प्रश्नले व्यक्तिलाई अपमान गर्दैनन्स बरु विचारलाई परिष्कृत बनाउँछन्। प्रश्न गर्नु अनादर होइन, र असहमत हुनु शत्रुता होइन। तर्कसहित प्रश्न गर्ने संस्कार भएको समाजमा मात्र सही र गलत छुट्याउने क्षमता विकास हुन्छ।
सम्बन्धको कुरा गर्दा पनि यही सिद्धान्त लागू हुन्छ। नातागोता, मित्रता, पारिवारिक सम्बन्ध वा संगठनात्मक निकटता‌का कारण कसैको गल्तीलाई सही भन्नु न्याय सङ्गत हुँदैन। व्यक्ति आफ्नो सम्बन्धका कारण प्रिय हुन सक्छ, तर उसको प्रत्येक विचार सत्य हुन्छ भन्ने हुँदैन। व्यक्तिप्रति को सम्मान र उसका विचारप्रति को सहमति दुई फरक कुरा हुन्।
यही कुरा राजनीतिक, सामाजिक र वैचारिक संगठन हरूमा पनि उत्तिकै महत्त्वपूर्ण छ। कुनै व्यक्तिसँग पद, अधिकार वा लामो राजनीतिक अनुभव छ भन्दैमा उसका सबै निर्णय सही हुन्छन् भन्ने मान्यता राखियो भने आलोचनात्मक चेतना कमजोर हुन्छ। नेतृत्वलाई सम्मान गर्नु आवश्यक हुन सक्छ, तर नेतृत्वका निर्णयमाथि प्रश्न गर्न पाउने अधिकार पनि उत्तिकै आवश्यक हुन्छ। जहाँ प्रश्नलाई अनुशासनहीनता र असहमतिलाई शत्रुता ठानिन्छ, त्यहाँ सत्यको खोजी भन्दा व्यक्तिको प्रभुत्व बलियो बन्ने जोखिम हुन्छ।
वास्तवमा, सत्यको खोजी गर्ने व्यक्तिले आफूले मानेको विचारमाथि समेत प्रश्न गर्न सक्नुपर्छ। आफूलाई मन पर्ने कुरालाई मात्र सही र आफूलाई मन नपर्ने कुरालाई गलत ठान्नु निष्पक्षता होइन। सत्य प्रतिको इमानदारी भनेको आफ्नै मान्यताविरुद्ध प्रमाण आएमा त्यसलाई स्वीकार गर्ने बौद्धिक साहस पनि हो।
हामीले बुझ्नुपर्ने कुरा के हो भने सत्य कुनै व्यक्तिको निजी सम्पत्ति होइन। त्यसलाई उमेर, पद, शक्ति, सम्बन्ध वा बहुमतको आधारमा कब्जा गर्न सकिँदैन। सत्यको नजिक पुग्न खुला बहस, स्वतन्त्र चिन्तन, तथ्यको परीक्षण र गल्ती सच्याउने तत्परता आवश्यक हुन्छ।
अन्ततः, हामीले मानिसको सम्मान उसको उमेर वा पदका कारण मात्र होइन, उसको विचार, व्यवहार, इमानदारी र अरूको विचार सुन्न सक्ने क्षमताका आधारमा पनि गर्न सिक्नुपर्छ। आफू सही छु भन्ने दाबी गर्नुभन्दा आफू गलत हुन सक्ने सम्भावनालाई स्वीकार गर्नु बौद्धिक परिपक्वताको सङ्केत हो।
किनकि सत्यको अगाडि उमेर ठूलो हुँदैन, पद शक्तिशाली हुँदैन र सम्बन्ध निर्णायक हुँदैन। सत्यको अगाडि तर्क, प्रमाण र वास्तविकताको महत्त्व हुन्छ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित