मनु वि.क.
अहिले नेपाल धेरै जसो उत्पादनमा पर निर्भर बन्दै गएको छ । स्वदेशी उत्पादन नगर्ने स्वदेशी उत्पादनमा राज्य तथा नागरिकको ध्यान नहुँदा मुलुक परनिर्भर हुँदै गएको छ । स्वदेशी सामानहरु उत्पादन गर्ने उद्योगहरु,उद्योगलाई चाहिने कच्चा पदार्थहरु,प्रविधि, पेसा अहिले आउँदा सफ्टवयरहरुमा देशको परनिर्भरता बढेको छ । आइटी अर्थात सूचनाप्रविधिमा विदेशी लगानी बढीरहेको छ । स्वदेशी ज्ञान र विज्ञानमा मानिसहरुको कुनैचासो नै नभएको जस्तो भएको छ । जुन देशका जनताले निकै मिहेनत गर्छन् त्यो देशका नागरिकको जीवनस्तर उठ्न सजिलो हुन्छ । जुन देशमा आफ्नै उत्पादन हुन्छ, त्यो देशको विकास तथा समृद्धि छिटो सम्भव हुन्छ । हाम्रो देश आत्मनिर्भर बनाउन सरकार तथा जनताको निकै ठूलो मिहेनत परेको हुन्छ । संसारभरका देशहरु जो समृद्ध छन् ,उनीहरुको समृद्धि कुनै पनि अर्को देशले गराइदिएर भएको होइन । त्यो देशका जनता तथा सरकारको निकै दूरदर्शितापूर्ण कार्यले विकास सम्भव भएको हो ।
देशमा सरकारको परिवर्तन पटक पटक भएको छ । पटक पटक नयाँ तथा पुराना राजनैतिक पार्टीहरु सत्तामा आउँछन्। निकै परिवर्तन गर्छौं देशको अवस्था सुधार्छौं भनेर आश्वासन सुनाउँछन् । जनता नयाँ बताउने दलका नेताहरुको आश्वासनलाई विश्वास गर्न बाध्य हुन्छन् । उनीहरुलाई मत दिन्छन् चुनावमा जिताउँछन् र केही नयाँ परिवर्तन होला भनेर सपना सजाउँछन् तर जनताको आशा पूरा हुन सक्दैन । विकास तथा समृद्धिको सपना साकार हुन सक्दैन । विकासको काम हुन सक्दैन । जनताको काम हुन सक्दैन। केही केही मान्छेहरुले सुविधा लिन्छन् ,सक्नेले कमाउँछन् ,आफ्नो जीवनस्तर उठाउँछन् तर जो नसक्ने छन् जसको पहुँच र शक्ति केही पनि छैन उनीहरुको अवस्था जहिले पनि जस्ताको त्यस्तै छ । कोही देशमा बसेर भविष्य छैन भन्दै विदेशतिर जान्छन् केही देशले केही दिन सक्दैन भनेर विदेशमा जीवन कटाउँछन् । देश विकास गर्ने सपना केही पूरा हुँदैन । कोही विदेशी बैंकहरुमा पैसा लुकाउँछन् । सक्दो देशलाई ढाँटेर ठगेर पैसा कुम्लयाउँछन् र विदेशी भूमिमा राख्छन् यता जो जो गरिब असाह्य छन् उनीहरुको जीवनस्तर फेरि पनि जस्ताको तस्तै छ । जनताको दुःख जहाँको त्यही हुन्छ ।
वर्षौं यस्तै हुँदा हुँदै देश झनै परनिर्भर हुँदै आएको छ । देशमा उत्पादनमा कसैको पनि ध्यान जान सकेको छैन । देशको उत्पादनले बजार नपाउँदा विदेशी उत्पादनहरु सबैको घर घरमा पुगेको अवस्था छ । चाहेर वा नचाहेर पनि नेपालीहरुलाई विदेशीको भर पर्ने बनाउँदै लगिएको छ । नेपालीहरुले उत्पादन गर्न सक्ने फलफुल, तरकारी,अन्न, गेडागुडी, माछामासु ,दूध तथा दूधजन्य परिकारहरुमा समेत नेपाल परनिर्भर हुँदै गएको छ । पेट्रोलियम पदार्थमा त परनिर्भर नै छ । नेपालले निर्यात भन्दा आयात बढी गर्दा व्यापार घाटा बेहोरिरहेको छ । नेपालमा खानीहरुको अभाव बनाइँदैछ । खानीहरुको उत्खनन् गर्नकोलागि विदेशी कम्पनीहरुलाई आग्रह अनुरोध गर्ने कार्य भएको छ । पर्याप्त मात्रामा खानीहरुको उत्खनन् गर्ने साधन स्रोतहरु उत्पादन गर्ने हो भने देशको मुहार फेरिन सक्ने थियो तर त्यतापट्टि कसैको पनि ध्यान जान सकेको छैन । मोबाइल, कम्प्युटर जस्ता चीजहरुमा त झनै नेपालको कुनै पनि उत्पादन हुन सक्दैन । मोबाइल तथा कम्युटर तथा तिनका भागहरु आयातमा नै निर्भर हुनु पर्ने बाध्यता छ ।
देश परनिर्भर भइरहँदा नेपालका युवाहरुलाई विदेशी भूमिमा रगत पसिना बगाउन पठाएर देश रित्याइएको छ । देशमा अलिकता बल भएको युवाको खडेरी परेको छ । मान्छे मर्दा पर्दाको बेलामा समेत युवाहरुको अभाव खड्किएको छ । देशका युवाहरुलाई विदेशमा पठाएर समृद्धिको सपना देखाइँदैछ । कुनै पनि मुलुकको समृद्धिकोलागि त्यो देशको जनशक्तिको आवश्यकता पर्छ । जनशक्ति नै नभए पछि समृद्धि हुँदैन । देशमा जति नै बेला सरकार फेरिएको भए पनि युवाहरुलाई स्वदेश मै रोक्ने कुनै योजना नै छैन । अहिले जेनजीको सरकार भ्रष्टाचार अन्त्य र सुशासनको खोल ओढेर आएको छ । देश खरानी बनाएर देशको भौतिक सम्पत्ति जलाएर आएको जेनजीको सरकारलाई स्वदेशमा नै रोजगारीको सिर्जना होला भन्ने आसमा जनताले साथ सहयोग गरेका थिए । तर पनि जेनजीकोलागि मत माग्ने समयमा वर्षौंदेखि विदेशी भूमिमा रगत पसिना बगाएका नेपालीहरुलाई स्वदेशमा रोजगारीको सिर्जना गरी स्वदेशमा फर्काउने आश्वासन दिएको थियो तर पनि सरकारले विदेशी भूमिमा रहेकालाई स्वदेशमा फर्काउने कुरा त रहेन तर स्वदेशमा रहेकालाई समेत रोक्न सकेन । विदेशमा पठाउनलाई अनेक बहाना बनाउँदैछ । विभिन्न देशका सरकार प्रमुखहरुसँग नेपाली युवाहरुलाई विदेश पठाउन श्रम सम्झौता गर्दैछ ।
जो जसको जग्गा जमिन छ, जो जसले अगाडि नै हडप्न भ्याएका थिए वा जो जसले राज्य तथा शासकहरुलाई प्रभावमा पारेर जग्गा जति आफ्नो नाममा बनाएका थिए, उनीहरुको जग्गा जमिन सबै छ । जो जग्गा जमिन केही नभएका ,जसको पहुँच केही हुन नसकेका छन् उनीहरु चर्को व्याजमा साहुसँग ऋण काढेर विदेशी भूमिमा जान बाध्य भएका छन् । आफ्नो देशमा बाँच्न सकिन्छ ,केही थप मिहेनत गर्ने हो भने स्वदेशमा नै राम्रोसँग जीविकोपार्जन गर्न सकिन्छ भन्ने शिक्षा दिन छोडेर, जो जो देशमा बसेर पनि राम्रो काम गरेका छन् उनीहरुलाई प्रोत्साहन गर्न छोडेर उल्टो विभिन्न कर, विभिन्न प्रकारका रकम असुली गरेर उनीहरुलाई नै निरास बनाउने काम राज्यले गर्दै आएको छ । विदेशमा पुगेका वा स्वदेशमा रहेकाहरुलाई विदेश विना त बाँच्न नै सकिँदैन कि भन्ने जस्तो मनोविज्ञान बनाइएको छ ।
स्वदेशमा कामको राम्रो व्यवस्था हुन नसकेपछि विदेशी भूमिमा जानु स्वभाविक नै हो । जहाँ गएर भए पनि केही कमाउन प¥यो केही जमाउन प¥यो भन्ने सबैलाई नै हुन्छ । मुख्य कुरा कुन नागरिकलाई के काममा लगाउन सकिन्छ कसको के क्षमता छ ? उसलाई कसरी स्वदेशमा नै टिकाउन सकिन्छ ? भन्ने बृहत योजना सरकारको छैन । युवाहरुलाई स्वदेशमा नै उत्पादनको काममा लगाउने योजना केही पनि बन्दैन । सरकारको नीति तथा कार्यक्रम सरकारको बैठक तथा सरकारको बजेटमा युवामुखी कार्यक्रम केही पनि आउँदैन । युवा लक्षित केही कार्यक्रम नभए पछि युवाहरु कहाँ जाउँ र के गरौं भन्ने मनोविज्ञानमा भौतारिनु परेको हुन्छ । पढ्न सक्ने, जो जो अविभावकहरुले पढाउन सक्ने छन् ,उनीहरुले पढाइसकेपछि विद्यार्थीहरुले अध्ययन सकिसकेपछि सिधै रोजगारीको व्यवस्था गर्न सरकारले सक्दैन । फेरि कामको खोजीमा भौतारिँदा भौतारिँदै वर्षौं बितेको हुन्छ । अझै थप ब्रिज कोर्सको नाममा युवाहरुलाई अल्मल्याउने काम हुँदै आएको छ । युवाहरुलाई अध्ययन अवधिमा नै केही न केही सीपमा समेत पोख्त बनाउन सक्ने हो भने उनीहरुले अध्ययनको साथमा सीप पनि सिकेर व्यवहारिक ज्ञान हासिल गरी आफ्नो जीविकोपार्जनको काम गर्न सक्ने थिए । त्यो हुन सकेको छैन । परम्परागत रुपमा गर्ने सीपमा समेत विदेशी कम्पनीहरुको उत्पादनको कारण सामान बिक्री नभएर वा जीविकोपार्जनको काम हुन नसकेको कारण अधिकांशले परम्परागत सीपलाई त्यागिसकेको अवस्था छ । जो जो परम्परागत सीप जानेका थिए उनीहरुलाई सरकारले संरक्षण गर्ने कुनै पनि योजना नहुँदा ती सबै लोप हुँदै गएका छन् । जो जसले घरमा नै परम्परागत सीप सिकाउने गर्दथे, उनीहरुको सीप हराउँदै गएको छ । बुढापाकाहरु मरेर गए युवाहरुले सीपको संरक्षण भन्दा पनि विदेशीभूमिमा पसिना बगाउन पठाउने सरकारको नीतिको कारण युवाहरुले सीपलाई सिक्न सकेका छैनन् । सीपलाई जोगाउन सकेका छैनन् ।कतिपय अवस्थामा सीप जानेर पनि काम लाग्ने नहुँदा युवाहरु सिक्न समेत उत्सुक छैनन् ।बजार मोबाइलले खाएको छ ,बजार कम्प्युटरले खाएको छ । बजार विदेशी सामानले खर्लप्पै निलेको छ । विदेशमा निर्यातको कुनै सम्भावना छैन । निर्यात गरी आत्म निर्भर हुने सामानहरुको उत्पादन नै छैन । नेपालीहरुको आफ्नोपन, नेपालीपन भए पो सामानले बजार पाउने थियो । अफ्नोपन तथा नेपालीपन नहुँदा बजार पाउन पनि गाह्रो छ । उत्पादन बढाउन ,उत्पादनलाई टिकाउन बजार व्यवस्थापनको कुरा प्रधान हुन्छ । बजार व्यवस्थापन हुन नसक्दा सामानहरु उत्पादन ग¥यो यतिकै फाल्नु पर्ने वा लगानी नउठ्ने भए पछि उत्पादनमा कसरीले लगानी गरोस् ? लगानीको मुनाफा हुने सम्भावना नभए पछि उल्टो रिनको बोझमा आफै नै परिने भए पछि कसले उत्पादन गरोस् ? जो सँग साधन स्रोत छ उनीहरु परजीवि जुका भन्दा पनि निम्नस्तरको जीवन जिएका छन् । उनीहरु अर्कालाई कज्याएर वा अर्काले गरेर ल्याएदिएको खाने मानसिकतामा जीवन घिसारीरहेका छन् । जसको आफ्नै जग्गा छ, जसको आफ्नै घर छ उनीहरु भाडा उठाएर खाने परजीवि भएर जीवन बिताएका छन्् । जोसँग केही पनि छैन उनीहरुले भाडा तिर्दा तिर्दा जीवन सकाउन बाध्य पारिएको छ ।
देशमा हुँदा खाने र हुनेखानेहरुकोबीचमा व्यापक रुपमा असानता छ । हुनेहरु मज्जाले जीवन बिताएका छन् । नहुनेहरु कति हो कति हाँड घोट्दा पनि एक छाक खान नपाएर बाँच्नु परेको अवस्था छ । अलिकति पेसा व्यवसायमा नेपाली भन्दा पनि विदेशीको राज छ । कुनै ठेक्का पट्टा विदेशीको, लगानी विदेशीको, पेसा व्यवसाय विदेशीको,उत्पादन विदेशीको, बन्दव्यापार विदेशीको । नेपालीहरु देशमा केही हुँदैन भन्दै भौंतारिनु बाहेक केही छैन । जुन सरकार आए पनि कमिसनको चक्करमा हो या केहो ? मन्त्रीहरु तथा सरकार प्रमुखहरुले सरकार फेरिनै बित्तिकै आफ्ना देशको नागरिकको हितमा भन्दा पनि विदेशीहरुलाई कसरी सजिलो बनाउन सकिन्छ ? भन्ने ध्यानमा काम गरेको देखिन्छ । “विदेशी आऊ, लगानी लगाऊ, मुनाफा कमाएर जाऊ” भन्दै लगानी सम्मेलन गर्ने लगानी भित्र्याउन भन्दै निकै प्रचार प्रसार गर्ने गर्छन। अहिले जेनजीको भनेको सरकारले पनि सुचना प्रविधिमा लगानी गर्न भन्दै विदेशीहरुलाई आउन अनुरोध गर्दै आएको छ । सूचना प्रविधि जस्तो संवेदनशील विषयमा लगानी गर्न भन्दै सरकारले नै विज्ञापन गर्दै आएको छ । मन्त्रीहरुको विदेशी दौडाहामा पनि यही कुरा अभिव्यक्त हुँदै आएको छ । पछिल्लो समयमा सूचना प्रविधिमा नेपाली विद्यार्थीहरुले नेपालमा नै वा विदेशमा अध्ययन गरेर भए पनि केही राम्रो गरिरहेको देखिन्छ । जे जे यहाँको जनशक्तिबाट स्म्भव छ, त्यो यहीको जनशक्ति प्रयोग गरेर र जेजे असभ्व छैन तिनीहरु विदेशमा अध्ययन गर्न पठाएर हुन्छ वा विदेशी प्रविधि मगाएर हुन्छ सरकारको नै लगानीमा सूचना प्रविधिको क्षेत्रमा काम गरेमा हुने थियो,तर त्यो भन्दा पनि विदेशी आउन सूचना प्रविधिमा लगानी गर जाउन भनेर सरकारले फुकिरहेको छ । विदेशी लगानीमा नेपालमा सञ्चालित दूरसंचार कम्पनीहरुले यहाँ आएर नेपालीहरुको पैसा लगेर गएका छन् उस्तै परेमा तिर्नु पर्ने कर समेत तिरेका छैनन् । यस्तो भए पनि देशले विकास कसरी गर्ने हो ?
यहाँ सीप र श्रमको अपमान हुँदै आएको छ । जो जसले श्रम गरेर जीविका चलाउँदै आएका थिए उनीहरुको नत राज्यले नत समाजले सम्मान गर्न जान्यो ,जसले मरेपछिको स्वर्ग तथा नर्कको पाठ पढाएर त्यसको डर देखाएर जीवन चलाउँदै अर्काको रगतमा बाँचेर आए उनीहरुको नै देशमा शान, मान र गान हुँदै आयो । श्रमजीवि वर्गलाई अपमान गर्ने ,श्रम गर्नेलाई घृणा तिरस्कार गर्ने कार्य हुँदै आयो । जोजसले बसेर भुँडी हालेर खाए उनीहरुको गनिता मनिता हुँदै आयो । काम गर्ने भन्दा नगर्ने ठूला ठालु पल्टँदै शासन सत्तामा राज गर्दै आए । यसको असर आम सर्वसाधारणमा प¥यो । काम नगर्ने ठूलो काम गर्ने सानो मानिने समाजमा आफ्नै देशको उत्पादन हुने कुरा, आत्मनिर्भर मुलुक बन्ने कुरा निकै नै कठिन कुरा हुन्छ ।
देशको बैंकहरुमा रकम थुप्रिन थालेको धेरै वर्ष नै हुन थाल्यो । लगानी जुटाउन नसकेर युवाहरुले सानो भन्दा सानो स्वरोजगारमूलक काम पनि गर्न पाएको छैनन् । उत्पादनमूलक काम गर्न पनि लगानीको अभावमा तड्पिनु परेको छ । तर बैंकमा पैसा थुप्रिएको छ । बैंकमा पैसा हुने नेपालीहरु घर घरमै रुने जस्तो अवस्था देशमा बनाइएको छ ,बैंकहरुबाट लिने ऋणमा सहुलियत तथा कम व्याज छैन । व्याजको स्याज बनाएर लिने बैंकहरुको परिपाटी पुराना साहु सामन्तको भन्दा कम खालको छैन । युवाहरुलाई अहिले देश छ देश छैन भनेजस्तो भएको छ । अर्काको देशमा मरी मरी काम गर्नु पर्ने बाध्यता नेपालीहरुको बनाइएको छ । उनीहरुलाई नत राज्यले नत विदेशले बुढो भए पनि सेवा सुविधा दिन्छ नत केही सहुलियत दिन्छ । काम गर्न सक्दा सम्म सबै काम प्यारो काम गर्न नसकेको अवस्थामा फरक्क फर्र्किएर आउनु पर्दछ ।
तर यहाँ उत्पादनको कुरामा कसैको ध्यानजान सकेको छैन । उत्पादन गर्न एकल पहल तथा प्रयासले मात्रै समभव छैन । त्यसकोलागि राज्यको उत्पादनमैत्री नीति, उत्पादनलाई लगानी , उत्पादनलाई संरक्षण,युवाहरुको संरक्षण देशमा नै केही गरौं भन्ने युवाहरुलाई प्रोत्साहन , स्वदेशी उत्पादनको खपतको लागि बजार व्यवस्थापन ,जनशक्ति व्यवस्थापन जस्ताकार्यहरु निकै महत्वपूर्ण हुन्छन् ।संसारभरबाट आउने सामानहरुले नेपालीहरु धानिएका छन् । सरकारले भूमि बैंकको अवधारणा अगाडि सारेको छ । लगानी गर्न आउनेहरुलाई भूमि बैंक मार्फत जग्गा उपलब्ध गराउने भनिरहेको छ । भूमिबैंकको नीति सरकारको कार्यान्वयनमा आए नेपालीहरुलाई आफ्नै भूमि अरुलाई दिएर सुकुम्बासी बनाउने हो कि भन्ने त्रास छ । उत्पादन नेपालीले होइन अरुले गरिदिएमा नेपालीले उपभोग मात्रै गर्ने जस्तो सोचिएको छ ।उपभोग गर्नेले उत्पादन पनि गर्नु पर्दछ । उत्पादनकोलागि निकै ठूलो मिहेनत ,लगाव तथा योजना चाहिन्छ । २०८३ असोज २७ गते काठमाण्डौ

