काठमाडौं,९ कात्तिक । सर्बियामा त्यहाँको १४ बर्षे सत्ता ढलेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका समाचार बिवरणहरु अनुसार सर्बियामा बिद्यार्थीहरुले दुईवर्षदेखि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दैआएका थिए । विद्यार्थीको समर्थनमा बनेको चुनावी मोर्चाले संसदीय निर्वाचनमा जित पनि हाशिल गरेको छ । दक्षिणपन्थी नेता अलेक्जान्दर भुचिचले हिजो आइतबार आफ्नो पार्टीले चुनाव हारेको स्वीकार गर्नुभएको छ । सन् २०१२ देखि सत्तामा रहेको सो पार्टीको शासन अन्त्य हुने भएको छ ।
भुचिचले आधिकारिक नतिजा सार्वजनिक हुनुअघिनै विद्यार्थी समर्थित स्टुडेन्ट्स लिष्टले चुनाव जितेको स्वीकार गर्नुभएको थियो । भुचिचले चुनावी नतिजापछि आफ्नो पराजयको दोष स्वतन्त्र सञ्चारमाध्यम, केही युरोपेली देशको हस्तक्षेप र अमेरिकी डीप स्टेटलाई दिएको प्राप्त समाचारहरुमा उल्लेख छ । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले चुनावी नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न शहरमा मानिसहरु सडकमा निस्किएर खुसी मनाइ रहेको जनाएको छ । उनीहरुले गाडीको हर्न बजाउँदै, गीत गाउँदै र अलेक्जान्दर गइसकेभन्दै नाराबाजी समेत गरेका छन् । अमेरिकी अनलाइन एक्सियसले सर्बियाको घटनालाई भ्रष्टाचार, शिक्षा र आर्थिक समस्याविरुद्ध युरोपका विभिन्न देशमा युवाहरुले गरिरहेको आन्दोलनको लहरसँग जोडेको छ ।


