रुपन्देही । नेकपा (मशाल) र नेकपा (क्रान्तिकारी–माओवादी)ले बुटवलमा १५४ औं लेनिन जयन्ती तथा ७५औं पार्टी स्थापना दिवस कार्यक्रम संयुक्त रुपमा मनाउँदै लेनिनका बिचारहरुलाई आत्मसात गर्ने बताएका छन् ।
बुटवलमा आयोजित कार्यक्रमका प्रमुख वक्ता नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले लेनिनका योगदान बारे विस्तृत चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले भने “अहिले नेपालमा मार्क्सवाद, लेनिनवाद र माओ बिचारधाराका सार्वभौम नियमहरु नै अस्विकार गर्ने पार्टीहरु जनताको बिचमा आफूहरु कम्युनिस्ट पार्टी भएको भ्रम फिजाउन सफल भएका छन, उनीहरुको त्यो झुठको प्रदा च्यात्नु क्रान्तिकारीहरुको कर्तव्य हो त्यो कर्तव्य पूरा गर्न आजैदेखि प्रतिज्ञा गरौंँ ।”
मशाल रुपन्देहीका प्रवक्ता बाबुराम आचार्यले “आफ्नो पार्टीले आठौं महाधिवेशनद्वारा पारित संसोधनवादी नीति खारेज गरेर विशेष महाधिवेशनद्वारा ढल्न लागेको लेनिनको झण्डा छोपेको हुँदा लेनिनवादका सार्वभौम नियमहरुको आलोकमा उभिएर ध्वस्त बनाइएको कम्युनिस्ट आन्दोलनको पुनर्निर्माण गर्ने जिम्मा मशालको काँधमा आएको हुँदा त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न लेनिनवादको संगठनात्मक पद्धतिमा समाहित हुनुपर्ने” बताए ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले क्रान्तिकारी बिचको दरिलो एकता आजको आवश्यकता भएको कुरा औल्याएका थिए । लेनिनका बिचारलाई आत्मसात गरेर अगाडि बढे मात्रै लेनिनलाई सम्झिएको अर्थ रहने समेत बताएका थिए । लेनिनबारे चर्चा गर्दै अतिथि वक्ताहरुले “क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी परिवर्तन असम्भव छ” भन्ने लेनिनको भनाईलाई कम्युनिस्ट क्रान्तिकारीहरुले मनन गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा मन्तव्य राख्नेहरुमा वामपन्थी नेता नेत्र नारायण शर्मा, वामपंथी नेता लक्ष्मीकान्त पौडेल लगायत थिए ।
कार्यक्रमको अध्यक्षता देजमोका नेता झविलाल थापाले गरेका थिए भने मशाल रुपन्देहीका सदस्य दयाराम खनालले सञ्चालन गरेका थिए । शहिदहरु प्रति एक मिनेट मौनधारण गर्दै लेनिनको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

