लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राखेको प्रस्तावमा आवश्यक मत पाउन सकेनन् । सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरेका छन् । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।
मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् । मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसद्लाई जानकारी गराए ।
प्रदेशसभामा नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन÷तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक/एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

