म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उनले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरेका हुन् । दुई दिनसम्म उनले एक सय २५ जनाको उपचार गर्नुभएको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिए ।
आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिएका थिए । स्वास्थ्यचौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा केसीलाई सघाएका थिए ।
चिकित्सा शिक्षाका अभियान्ता डा केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्यचौकीमा तीन दिन उपचार गरेका थिए ।

