काठमाडौं । बाँदरको उपस्थिति पहिलादेखि नै रहँदै आएको छ । गाउँघर, जंगल वरिपरिका खेतवारी मन्दिर वरिपरि जताततै बाँदरहरु हुने गर्दछन् आजभोलि देशका सबै ठाउँमा बाँदरको आतंक फैलिएको छ । किसानहरु बाँदर आतंक सहन नसक्ने अवस्थामा पुगेका छन् । कैयौं जना बाँदर आतंकका कारण बसाई सराई नै गर्न बाध्य भएका छन् । कैयौं ठाउँका किसानहरु बाली नाली नै नलगाई बाँझो राख्ने स्थितिमा पुगेका छन् ।
आजभोलि गाउँघर खाली खाली छन् । खेती योग्य जमिन जंगलमा परिणत भएका छन् । छेउछाउका पारी पाखामा जंगल बढ्दा बाँदरहरु उब्जाउ जग्गाको बीचमै आएर अन्नबाली नष्ट गर्ने, विउहरु झिकेर खाने, टुसाहरु उखेलेर फ्याँक्ने फलेका, फुलेका बालीनालीमा क्षति पु¥याउने काम दिनहुँ जसो गरिरहेका छन् । अहिले मकै छर्ने समय हो । अहिले किसानले लगाएका मकै उम्रिन थालेका छन् । किसानले वर्षभरिलाई हुने गरी उत्पादन गर्ने आसमा रोपेका मकैका टुसाबाट बाँदरले मकैको बिउ उखेलेर मकै बाली नष्ट गराएका छन् । त्यस्तै समय, सिजनका अन्नबाली, खाद्यान्नहरुमा बाँदरहरुले अत्यधिक क्षति पु¥याउँदै आएका छन् । बाँदरले सके बालीलाई बारी खेतमै सक्काउने गरेका छन् भने जसोतसो बाँदरको मुखबाट जोगाउन सकेर घरमा भित्र्याए पनि घरभित्रै पसेर पनि स्याहारेको बाली खाइदिने गरेका छन् । यसले किसानहरु बाँदर आतंकबाट हैरान भएका छन् । आजभोेलि गाउँघर तिरका चिनेजानेकालाई खेतबारी, पाखाबारीमा के लगायौं ? के छ ? भनेर सोध्दा नमिठो उत्तर पाउने गरिन्छ–“केही छैन रोपे पनि बाँदरले रहनै दिंदैन” धेरैले लगाउनै छोडिसके भन्ने जस्तो उत्तर मिल्छ । यसले किसानको खेतीपातीमा बाँदरले पु¥याएको क्षतिले निम्त्याएको अवस्था बुझाउँछ । बाँदर नियन्त्रण गर्न धरान नगरपालिकाले जंगलतिरै फलफूल लगाउने योजना ल्याएको कुरा केही समय पहिला सामाजिक संजालमा आएको थियो । तर बाँदर नियन्त्रण गर्न, बाँदरले पु¥याएको क्षतिको बारेमा भने कोही पनि गम्भीर बनेका छैनन् । पीडित छन् किसान, किसानको कुरा कसले सुन्ने अहिले ? सुनिदिने कोही नभएपछि किसान हैरान छन् । वैशाख ३ गते प्रतिनिधिसभाको बैठकको सुन्य समयमा सांसद रामहरी खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकार वालाको ध्यानाकर्षण गराएका छन् ।
बाँदर नियन्त्रण गर्न वा मार्न अनुमति दिन वा बेच्न सम्बन्धित निकायलाई अनुरोध गरेका थिए । श्रीलंकामा बाँदर आतंक बढेपछि श्रीलंकाले १ लाख भन्दामाथिको संख्यामा बाँदरलाई चीन निर्यात् गर्ने कुरा आएको छ । तर नेपालका किसानहरु वषौंदेखि बाँदर आतंकले हैरान हुँदा कसैको ध्यान नजानु दुःखद छ ।

