काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयलाई लिएर प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्न उठेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको मिति र विषयवस्तुबारे प्रश्न उठाएका हुन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयवस्तुका बारे संसदमा छलफल हुनुपर्ने भनाई राखे । उनले भारतले सम्मान साथ बोलाए मात्रै गरिमाका साथ जानु राम्रो हुने धारणा राख्दै संसद चलिरहेको अवस्थामा पनि संसदलाई प्रधानमन्त्रीको भारत भ्रमणबारेमा जानकारी नगराइएको अखवारमा पढ्नु परेको गुनासो राखेका थिए भने नेपाल भारतको सम्बन्ध महत्वका विषयमा पनि आफ्ना धारणा राखेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गोरखा भर्तीबारे, सन् १९५०को असमान सन्धी संशोधन, सार्क सम्मेलन गर्नेबारे, भारतले नेपाललाई हवाई रुट दिन गरेको आनाकानीबारे, प्रबुद्ध समूहको प्रतिवेदन दुवै देशले बुझ्नु पर्ने बारे कुरा उठाउनु पर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री वैशाखको दोस्रो हप्ताको अन्त्यतिर भारतको भ्रमण गर्ने भन्ने समाचार यस अघि नै आएको थियो ।उनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुँदैछ । यो भ्रमणलाई निकै महत्वका साथ हेरिए पनि संसदलाई जानकारी नगराइएको भन्दै प्रश्न उठेको हो ।

