– राधिका खतिवडा (ढकाल)
मेरो जन्म वि.सं. २०२४ साल पौष २७ गते भारतको आसामको कार्विआङलङ जिल्लाको जिरिवास भन्ने ठाउँमा भएको हो । मेरो बुबाको नाम केदारप्रसाद खतिवडा र आमाको नाम जालपादेवी खतिवडा हो । मेरो बुबाआमा २०१८ सालमा नेपालको ताप्लेजुङ जिल्ला नाङखोलेक गाउँबाट बसाइसराई गरेर आसाम जानु भएको थियो । आमा जालपादेवीबाट हामी तीन दिदीबहिनी र तीन दाजुभाइ जन्मिए मध्ये म माहिली छोरी हुँ ।
सानीमा राधा पाठक र सानाबा तारा कुमार पाठकको अभिभावकत्वमा मोरङ बेलबारीका योगेन्द्र ढकालजीसित २०४४ साल मंसिर ९ गते मेरो विवाह भएको थियो । हाम्रा एक छोरा विप्लव र दुई छोरी जानुका र यल्जिना छन् ।
मेरो प्रारम्भिक शिक्षा माइलो एम. बि. विद्यालय, जिरिवास, कार्विआङलाङ आसाम, भारतमा शुरु भएको हो । आसामबाट हाम्रो परिवार २०३८ सालमा नेपालको दमक झापामा बसाई स¥यो । आसामबाट आएपछि झापाको तोपगाछीस्थित समयगढ हाइस्कूलमा म भर्ना भइ पढ्न थालें । साथीहरुको संगतले २०४० सालतिर म अनेरास्ववियु (एकताको पाँचौं) को सदस्यता लिएँ । ढिकुरपानी प्रस्तावित माध्यमिक विद्यालय दमक, झापाबाट मैले कक्षा ९– १० मा आफ्नो अध्ययनलाई निरन्तरता दिएँ । आसाममा सरहरुले सर्टिफिकेट दिन मान्नु भएको थिएन । नेपाल गएपछि पढाई बिग्रन्छ भनेर सरहरुले मलाई सर्टिफिकेट दिन मानिरहनु भएको थिएन । मेरो अंकलले के कसो गरेर सर्टिफिकेट मिलाइदिनु भयो र म नेपाल आई स्कूलमा भर्ना भएँ ।
तोपगाछीमा पढ्ने बेला अनेरास्ववियु (एकताको पाँचौं) को भेला भई कार्यक्रम गरिरहेका बेला अचानक प्रहरी आइ लाठी चार्ज ग¥यो । यो २०४० साल तिरको कुरा हो । मैले पनि त्यतिबेला प्रहरीको लाठी खाएँ । तर त्यस्तो गम्भीर चोट लागेन । त्यतिबेलाका हाम्रा केही साथीहरलाई प्रहरीले पक्रिएर लग्यो । उनीहरुलाई केही दिन पछि प्रहरीले रिहाइ ग¥यो । लाठी खाएको थाहा पाएर घरमा बुबाआमाले गाली गर्नुभयो । तँलाई स्कूल पढ्न पठाएको हो कि राजनीति गर्न भनेर गाली गर्नुभयो । त्यो ८ कक्षामा पढ्दाको घटना थियो । ९÷१० कक्षा ढुकुरपानी प्रस्तावित माविमा पढ्ने बेला पनि म विद्यार्थी संगठन एकताको पाँचौंमा नै आबद्ध भई काम गरें । जिल्लास्तरका विद्यार्थी नेताहरु आएर हामीलाई प्रशिक्षित गर्दथे । उनीहरुले प्रशिक्षणमा विद्यार्थीहरुले राजतन्त्रको विरोध गर्नुपर्ने र स्वतन्त्रताको लागि लड्नु पर्ने विचार राख्दथे ।
मैले दमकमा बस्दा टाइपिङ र शिल्पकला सम्बन्धी तालिम लिएकी थिएँ । यता मोरङको बेलवारीमा योगेन्द्र ढकालजीले कञ्चन टाइपिङ एण्ड शिल्पकला केन्द्र स्थापना गरी संचालन गर्नु भएको रहेछ । २०४३ सालतिर म त्यस कञ्चन टाइपिङ एण्ड शिल्पकला केन्द्रमा शिक्षिका भएर पढाउन आएँ । करिव १ वर्षसम्म त्यस संस्थामा पढाएपछि मैले योगेन्द्र ढकालजीसित नै विवाह गरें । पञ्चावबाट होजेरी सम्बन्धी मेसिन लिएर बेलवारीमा उनी कपडा उद्योग चलाइयो । होजेरी र टाइपिङ ईन्स्टिच्युट २०५० साल सम्म चल्यो ।
बेलबारीको नक्सलवारीस्थित जनता विद्यालय (हाल जनतामावि) मा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पढाउनु हुन्थ्यो । उहाँ अखिल नेपाल महिला संघ मोरङको अध्यक्ष हुनुहुन्थ्यो । बहुदल आउनु भन्दा पहिले उहाँले नेकपा(माले) को कुरा गर्नु हुन्थ्यो र उहाँसित कतिपय कार्यक्रममा हिंडेको थिएँ । मदन भण्डारी भूमिगत रुपमा प्रशिक्षण गर्न आउनुहुन्थ्यो । मैले मदन भण्डारीको भूमिगतकालको प्रशिक्षण पनि सुनेकी थिएँ । २०४६ मा बहुदल आउँदा बेलवारी लालभित्तीमा जुलुश निस्कियो हामी पनि जुलुशमा सहभागी भइयो । आन्दोलनकारीहरुले ठाउँठाउँमा सडक अवरुद्ध गर्न रुख पनि ढालेका थिए ।
०४७ पछि हाम्रो घरमा मसालका मान्छेहरु आउन थाले । सुरुमा अरुण बराल, बासु बराल आउनुभयो । त्यसपछि केशव नेपाल, दीनानाथ शर्मा, कमल चौधरी आउनु भयो । विद्यार्थी नेता नरेन्द्रमान के.सी र अलिपछि कृष्ण अधिकारी आउनुभयो ।
दीनानाथजीले थिन आरारुट विस्कुट लिएर आउनुहुन्थ्यो । हाम्रा केटाकेटी अंकले विस्कुट दिनुभयो भनेर रमाउँथे । केशव नेपालजी र दीनानाथजी छिटो जनतामा घुलमिल भइ संगठन बनाउने गर्नुहुन्थ्यो । एकपटक दीनानाथजीले टोलभरीका केटाकेटी जम्मा गरेर नुहाउने कार्यक्रम राख्नुभयो र बाल संगठन पनि बनाउनुभयो । हाम्रो घर बेलवारीमा मसालको चहलपहल भइरहने केन्द्र बन्यो ।
संगठनको काममा हिँड्दाका थुप्रै रमाईला क्षणहरू छन् । अरुण बराल रमाइलो मान्छे हुनुहुन्थ्यो । एक पटक विद्यार्थीको कामको सिलसिलामा मोरङमा एक जना कामरेडको घरमा विहान १० बजे तिर गएका थियौँ । घरकी महिलाले भन्नू भयो, “हामीले खाना खायौं । तपाईहरूले खाएर आउनु भयो होला ।” अरुणले भन्नू भयो, “हामीले खाएका पनि छैनौं ,खान आएका पनि होइनौँ ।” तर पछि हामी आफै पकाएर खायौं । क्रमशः