जेन जी पुस्ताको आन्दोलन र अबको निकास

–प्रेम सुवेदी

– वनमा कुखुराको शिकार गर्न जादा चितुवा परेर न ल्याउनु न छोड्नु जस्तो अवस्थामा जेन जीहरु देखिन्छन् ।

– सानो झिल्कोले जङ्गल डढाउछ भन्ने कुरा जेन जीको आन्दोलनले फेरि एकपटक पुष्टि गरेको छ ।

– नेपालको राजनैनिक संकटको समाधान तथा नेपालको अधुरो क्रान्तिलाई पूरा गर्ने ऐतिहासिक कार्यभारलाई आत्मवोध गर्दै, निर्माण गरिने रोडम्यापले मात्र अहिलेको राजनीतिक समस्या हल हुनेछ ।

       ………………………………………………………………….

 

जेन जी पुस्ताको आन्दोलनले देशको राजनीतिलाई एउटा अकल्पनीय ठाउँमा पु¥यादिएको छ । जुन कुरा स्वयं जेन जी पुस्ताले समेत अनुमान गरेको थिएनन र उनीहरुको आन्दोलनको एजेन्डा समेत थिएन । कहिले काहीँ यस्तो पनि हुन्छ वनमा कुखुराको शिकार गर्न जादा चितुवा परेर न ल्याउनु न छोड्नु जस्तो अवस्थामा जेन जीहरु देखिन्छन् । त्यसैले जेन जी पुस्ताको आन्दोलनको परिणामलाई स्वीकार गर्न धेरैलाई सकस परेको छ र त्यो स्वयं जेन जीको हकमा समेत साचो हो । भनिन्छ राजनीतिमा “ वर्षौं नहुने काम एकै दिनमा पनि हुन्छ र केही दिनमा हुने काम वर्षौ सम्म पनि हुदैन “ भन्ने भनाइलाई जेन जी आन्दोलनले राम्रोसँग शिक्षा दिएको छ । एकातिर जसले आन्दोलनको घोषणा गरेको हो उनीहरुले समेत आकलन गर्न नसकेको परिणाम आउनु र अर्कोतिर यो आन्दोलन केही होइन, त्यसले सरकारलाई कुनै फरक पार्दैन भनेर अंहकार र दम्भ गर्ने के. पी. वली र उनको फासीवादी सरकारका लागि पनि यो परिणाम स्वभाविक र सहज पक्कै भएन । त्यति मात्र होइन , अन्य राजनीतिक पार्टी , नागरिक समाज र देशको बौद्धिक समुदायले पनि यो परिस्थिति आउछ भन्ने कुनै अनुमान गरेका थिएनन । तसर्थ यो अन्यौलता आउनु स्वभाविककै हो ।अब , आएको परिणामलाई स्वीकार गर्दै त्यसलाई उपयुक्त र अग्रगामी निकास खोज्नु अहिलेको मुख्य कार्यभार हो ।

जेन जी पुस्ताले आन्दोलन घोषणा गर्दा उठाएका एजेन्डा मुख्यत.ः भ्रष्टाचार , अनियमितता , बेथिति सामाजिक सन्जाल माथिको प्रतिबन्धको विरोध तथा शिक्षा, स्वास्थ, रोजगार र सुशासनको प्रत्याभूति दिनु पर्ने लगायत थिए । ती मागलाई सम्बोधन गर्नुको बदला राज्य अत्यन्त क्रुर भएर जसरी देशका होनहार युवामाथि बर्वर दमन र हत्या ग¥र्यो ,त्यसले नै यो परिस्थिति निम्त्याएको कुरामा कुनै शंका छैन र,अहिलेको संकटको मूल कारक भनेको के .पी. ओली नेतृत्वको गठबन्धन सरकार नै हो । जसले आफ्नो सरकार मात्रै समाप्त पारेन ,मुलुकको अस्तित्व माथि नै गम्भीर समस्या पैदा गरायो । त्यसमा अरु को–को सहयोगी थिए , भए त्यो खुल्दै जाला । तर मुलुकले धेरै ठूलो क्षति भोग्नु पर्यो । यो क्षतिलाई पूरा गर्न नेपालीले धेरै पसिना र मेहनत गर्नु पर्ने हुन्छ । जहाँ सम्म  पुस्ताको आन्दोलनको कुरा छ त्यो कुनै बैचारिक राजनैतिक उद्देश्यद्वारा भन्दा पनि सरकारका गलत नीति र त्यसले समाजमा पारेको नकारात्मक प्रभावको प्रतिरोध थियो। सानो झिल्कोले जङ्गल डढाउछ भन्ने कुरा जेन जीको आन्दोलनले फेरि एकपटक पुष्टि गरेको छ । तर ,त्यसले देशलाई अरु गम्भीर संकटमा धकेल्यो र यो संकटको समाधान ठीक ढङ्गले गर्न सकिएन भने देश असफल राष्ट्रमा चिन्हित हुने खतरा त्यतिकै छ । तसर्थ, यतिबेला देशको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण राख्नु सम्पुर्ण नेपालीको साझा दायित्व र कर्तव्य हो ।

देश लामो समय देखि विदेशीहरुरुको चक्रब्युहमा प्रताडित हुँदै आएको छ । अहिले जेन जीको आन्दोलनबाट त्यो अरु जटिल बन्दै गएको छ । एकातिर नेपाली जनताले लामो समय देखि देशका भ्रष्ट शासकहरुको शोषण, दमन , अत्याचार र उत्पीडनको सामना गर्दै आउनु परेको छ भने अर्कोतिर विदेशी शक्तिहरु मुख्यत भारतीय विस्तारवाद ,अमेरिकी साम्राज्यवाद र अन्य शक्ति केन्द्रको समेत पासोमा पर्दै आएकोमा अहिले त्यसैको पुनराबृति मात्र भएको छैन ,यहाँ कस्तो सरकार बनाउने र कसलाई ल्याउने जस्ता काम समेत शक्ति केन्द्रहरुले नै गर्न थाले । पक्कै पनि सानो झिल्कोले जङ्गल डढाउछ भन्ने कुरा जेन जीको आन्दोलनले फेरि एकपटक पुष्टि गरेको छ । जेन जीको चाहना त्यो थिएन होला। तर , बिना वैचारिकीमा चलेको आन्दोलनमा विभिन्न शक्ति केन्द्र देखि देश भित्रका प्रतिगामी ,र औसरवादीहरुले त्यो आन्दोलनलाई हाइज्याक गरे र देशको अवस्था अरु भयावह बन्न पुग्यो । राज्यको गलत नीति तथा भ्रस्टाचार विरुद्ध पबित्र मनसायले शुरु गरेको आन्दोलन अन्ततः तीनै विदेशी शक्तिकेन्द्र र प्रतिगामीकोहरुको चङ्गुलमा कैद हुन पुग्यो । र , देश थप अन्योलको भुमरीमा पर्दै गयो ।

यस्तो अवस्थामा कम्युनिस्ट क्रान्तिकारीहरु ,वामपन्थी प्रगतिशील तथा देशभक्तहरुले समयमै यो आन्दोलनको आकलन गर्न नसक्नु र त्यसलाई सही दिशा दिन प्रयत्न नगर्नु जस्ता सीमा र कमजोरीको पनि गम्भीर समीक्षा गर्नु पर्ने हुन्छ । सत्तधारीहरुको गलत नीति र दमनलाइ प्रतिरोध गर्ने , नयापुस्तासङ्ग सम्बन्ध बिस्तार र सहकार्य गर्ने र आन्दोलनलाई बृहत बनाउने विषयमा पनि ध्यान पुगेन । त्यति मात्र होइन, स्वयं सरकारका गलत नीति तथा भ्रष्टाचार विरुद्ध घोषित आन्दोलनलाई समेत विभिन्न वामपन्थी तथा कम्युनिस्ट समुहले समन्वय गरेर त्यसलाई संयुक्त आन्दोलनको रुपमा बिकास गर्ने प्रश्नमा पनि उदासीनता , आग्रह र पुर्वाग्रहले ती आन्दोलनहरु प्रभावकारी बन्न सकेनन् ।

नेपालको राजनीतिक इतिहासमा ०८२÷भाद्रा २३ र २४ गते को करिब २७– २८ घण्टाको आन्दोलनले जे जस्तो परिस्थिति देखियो सायद यस्ता घटना बिस्व इतिहासमा समेत बिरलै पान्छ्न होला । जेन जी पुस्ताको आन्दोलनको क्रममा राज्य जसरी दमन र हत्यामा उत्रियो त्यसले आम जनतालाई नै आक्रोश र घृणा पैदा गराएको थियो र आन्दोलनप्रती सद्भाव र समर्थन पनि बढ्दै गएको थियो । तर २४ गते जेन्जीको नाममा जे जस्ता घटना भए र देशको सार्वजनिक सम्पत्ति, सरकारी भवनको तोडफोड आगजनी तथा निजी भवन र ब्यक्तीमाथी जसरी हमला गरियो त्यो आन्दोलनको मर्म भावना र उद्देश्य भन्दा बाहिरका अपराधिक गतिविधि नै थिए । पक्कै पनि जेन जीहरु स्वयं त्यसप्रकारका अपराधमा नजोडिए पनि ती अपराधबाट उनीहरुको आन्दोलन अलग थियो भन्ने आधार देखिदैन । त्यसैले जेन्जीको आन्दोलनमा ठुलो चलखेल र घुसपैठ रहेको कुरामा भने कुनै शंका छैन । भाद्र २४ गते करिव १ बजेसम्मको आन्दोलन एक प्रकारले अघिल्लो दिनको हत्याको बिरोधमा नै बढी केन्द्रित थियो र त्यो स्वभाविक नै देखिन्छ । तर, २ बजे तिर तत्कालीन प्रधानमन्त्री के पी शर्मा वलीले राजीनामा दिए पछि आफ्नो उपलब्धिको रुपमा ग्रहण गर्दै आन्दोलनलाई मर्यादित र अग्रगामी दिशामा लैजानुको सट्टा लुटपाट , तोडफोड ,आगजनी र अपराधजन्य कार्यमा सक्रिय भयो । ती सबै घटनामा सुरक्षा निकाय मुख्यत नेपाली सेनाको भुमिका रमिते र अपराधजन्य कार्यमा सहयोगी जस्तै देखियो। नेपालको संसद भवन, सिंहदरवार , सर्वोच्च अदालत लगायतका सरकारी भवनहरु त्यसपछि नै बढी क्षति भएका थिए। त्यो आन्दोलनमा जुन प्रकारको कहालीलाग्दो स्थिति देखियो सायद इतिहासमा यस्तो कहिले भएको थिएन ।आन्दोलनको नेतृत्वकर्ताले ती सबै घटनाको नैतिक जिम्मेवारीबाट पक्कै पनि पन्छिन मिल्दैन । त्यसैले यो आन्दोलन जेन जी पुस्ताका लागि वनको कुखुराको शिकार गर्दा चितुवा परेर भागे जस्तै भएको छ ।अघिल्लो दिनको शान्तिपूर्ण जुलुसमा नरसंहार गर्ने सुरक्षा निकाय त्यो दिन रमिते मात्र बनेन राज्यका महत्वपूर्ण ठाउँमा तोडफोड र आगजनी हुँदा एकप्रकारले सहयोगी जस्तै बन्यो । त्यति मात्र होइन ,जब २४ गते साझ बाट आन्दोलन रोकियो , त्यस पछि सेनाले देखाएको सक्रियताले देशको राजनीति उनीहरुको कब्जामा पुगेको र राजनीतिक पार्टी नागरिक समाज स्वयं जेन्जी पुस्ता समेतलाई दिशा निर्देश सेनाले गर्न थाल्यो । यसरी जेन जी पुस्ताको आन्दोलनको निष्कर्ष एकदमै रहस्यमय र शंकाको घेरामा प¥र्यो । जेन जीहरुको आन्दोलनले जुन गति र रफ्तार लियो त्यसले ससबैलाई नयाँ शिक्षा अवस्य दिएको छ, त्यो केवल हाम्रा लागि मात्रै होइन ,संसारकै लागि उल्लेखनीय घटनाका रूपमा स्थापित भएको छ । त्यो आन्दोलनले के पी शर्मा वली नेतृत्वको सरकार अपदस्त मात्रै गरेन कि यसले यथास्थितिबादी पार्टीहरुको शक्ति सन्तुलनमा समेत फेरबदल ल्याएको छ ।

नेपालमा राजनीतिक आन्दोलनको औचित्य सकियो अब आर्थिक बिकासमा मात्र जोड दिए पुग्छ भन्नेहरु पनि यतिबेला पुनः राजनीतिक आन्दोलन तथा पार्टीलाई नयाँ आधारमा निर्माण गर्नु पर्ने माग गरिरहेका छन त्यसले पनि यी जेन्जी आन्दोलनले पक्कै पनि नयाँ जागरण र परिस्थिति निर्माण गरेको कुरामा कुनै शंका छैन ।तर ,देशको अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु भन्दा पनि मुलुकको स्वाधीनतालाई अरु कमजोर र पराधिन बनाएको तथ्यप्रती सबैको ध्यान जान जरुरी छ । तसर्थ , अहिलेको राष्ट्रिय आवस्यकता सबै क्रान्तिकारी शक्तिहरु , देशभक्त जनवादी र परिवर्तन कारीहरु अत्यन्त गम्भीर र जिम्मेवार भएर नयाँ मोर्चाबन्दी गर्नु पर्ने आवस्यकता छ ।आ आफ्ना दृष्टिकोण र मान्यताका आधारमा सिमित भएर होइन , देशको आवश्यकतालाई केन्द्रमा राखेर न्युनतम साझा कार्यक्रमका आधारमा संयुक्त मोर्चा निर्माणमा जुट्नु पर्दछ । त्यसप्रकारको संयुक्त मोर्चा मार्फत अहिले रहेका तमाम समस्याहरुको समाधान दिने उद्देश्य सहित देशको राष्ट्रिय स्वाधीनता, जनाधिकार र जनजीबिका लगायतका बिषयमा साझा अवधारणा तयार गर्दै संयुक्त आन्दोलनमा जुट्नु अहिलेको प्राथमिकता हो ।

जेन जी पुस्ताको आन्दोलन कुनै वैचारिक ,राजनैनिक धरातलमा थिएन । त्यो मुख्यत ः सरकारले सामाजिक सन्जालमा लगाएको प्रतिबन्धका विरुद्धको आक्रोश घृणा र असन्तोषको प्रतिफल नै थियो । जसले युवापुस्ता मात्रै होइन , गाउँ घर देखि शहर बजारमा रहने सबै नागरिकहरुमा समेत सरकार प्रती एक प्रकारको घृणा र बिद्रोहको भावना पैदा गराएको थियो । तर त्यसलाई हामीले समयमै बुज्न र नेतृत्व गर्न सकेनौं जसले सही परिणाम दिन सकेन र स्वयं युवा पुस्तामा ठुलो क्षति भयो, त्यो समग्रमा देशको क्षति हो । जेन्जी आन्दोलनले सृर्जना गरेका सकारात्मक र नकारात्मक पक्षको वस्तुनिष्ट समिक्षा गर्दै, देशको संकटको निकास खोज्न बृहत योजना , कार्यक्रम र सघर्षको साझा अवधारणा निर्माण गर्नु अहिलेको मुख्य काम हो । त्यसका लागि मुख्यत कथित मुलधार भनिने पार्टी र प्रतिगामी बाहेक सबै कम्युनिस्ट क्रान्तिकारीहरु, वामपन्थी प्रगतिशील शक्तिहरु, देशभक्तहरु तथा उत्पीडित बर्ग, समुदाय, लिङ्ग र उपेक्षित क्षेत्रका जनताको बृहत मोर्चा निर्माण गर्नु अहिलेको आवश्यकता हो । त्यो आवश्यकतालाई पूरा गर्दै, राष्ट्रिय स्वाधीनता तथा मुलुकको अग्रगामी परिवर्तन, जसले नेपालको राजनैनिक संकटको समाधान तथा नेपालको अधुरो क्रान्तिलाई पूरा गर्ने ऐतिहासिक कार्यभारलाई आत्मवोध गर्दै, निर्माण गरिने रोडम्यापले मात्र अहिलेको राजनीतिक समस्या हल हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित