काठमाडौ ।ग्याल्वो ल्होसार मुख्यतः शेर्पा जातिले मनाउने साँस्कृतिक पर्व हो । ल्होसार मनाउने समुदायले ल्हो अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्षलाई बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
नेपालमा तीन वटा ल्होसार मनाइन्छ । गुरुङहरूको तमु ल्होसार, तामाङहरूको सोनाम ल्होसार र शेर्पाहरूको ग्याल्बो ल्होसार ।तीन वटा ल्होछारबारे तामाङ जातिको इतिहासका लेखक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता सिताराम तामाङ भन्नु हुन्छ, नेपालमा २०४६ पछि ल्होछार गुरुङ, तामाङ ,शेर्पा सबैले एकै दिन संयुक्तरूपमा मनाएका थियौँ । तर सुरुमा गुरुङले र त्यस पछि शेर्पाले ल्होछार छुट्टाए । गुरुङले मितिका आधारमा ,तामाङले तिथिका आधारमा र शेर्पाले इतिहासका आधारमा ल्होछार मनाउँदछन । गुरुङ्ले पौष १५ मितिका आधारमा ल्होछार मनाउँदछन । तामाङले तिथि अर्थात चन्द्र पात्रो अनुसार नयाँ वर्षलाई यो पर्व मनाउँदछन। चीन ,भियतनाम , जापान, मङ्गोलिया ,कोरिया,रूस लगायतका देशहरूमा यही चन्द्र पात्रो अनुसार नयाँ वर्ष अर्थात ल्होसार पर्व मनाउँदछन । दलाई लामाबाट प्रभावित शेर्पाहरूले सोनाम ल्होसारको ठीक एक महिना पछि ग्याल्बो ल्होसार मनाउँदछन । तर दलाई लामाको संस्कृतिबाट प्रभावित नभएका शेर्पाहरूले सोनाम ल्होसार नै मनाउँदछन । ग्याल्बो ल्होसारको ईतिहास के छ भने १४ औं शताब्दीमा मङ्गोलियाले तिब्बत माथि आक्रमण गर्यो र त्यहाँका जनताले नयां वर्ष मनाउन पाएनन् । दलाई लामाले जनतालाई मेरा कारणले ल्होसार मनाउन पाएनौ । एक महिना पछि भए पनि मनाउ भनेकाले त्यस पछि चन्द्र पात्रोको नयाँ वर्ष सुरु भएको एक महिना पछि ल्होसार मनाउन सुरु भएको त्यो प्रचलनकै रूपमा विकास भयो ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउन लागेका हुन् ।ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समयक्रममा ग्याल्बो ल्होसार नामकरण भएको हो ।