काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिले पार्टीले ल्याएको भ्रष्टाचार विरोधी अभियानमा सकृय हुने निर्णय गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिको बैठकले आज सो निर्णय गरेको हो । बैठक समन्वय समितिका संयोजक असल वाईवाको अध्यक्षतामा बसेको थियो । बैठकमा शहीदहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिनाले संगठनले लिएका निर्णय र कार्यक्रमबारे र आन्दोलनका विषयमा मन्तव्य राख्नुभएको थियो। त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा नौ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले युवा आन्दोलन र संगठनको महत्वका बारेमा मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेल र क्रान्तिकारी युवा संघ नेपालका सह संयोजक दोर्जी शेर्पाले युवा संघको जिम्मेवारी र आगामी कार्यक्रमबारे भनाई राख्नुभएको थियो। बैठकले भ्रष्टाचार विरोधी अभियानलाई सशक्त प्रकारले अगाडि बढाउन संगठनलाई व्यवस्थित गर्न काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका भेलाहरू सम्पन्न गर्ने,सदस्यता वितरण गर्ने र संगठन निर्माण गर्ने लगायतका योजना बनाएको छ ।