२६ औं अन्तर्राष्ट्रिय युवा दिवस–२०२५

विगतमा जस्तै यो वर्ष पनि अगस्ट १२ (श्रावण २७ ) मा संयुक्त राष्ट्र संघको आह्वानमा संसारभरी युवा दिवस मनाइएको छ । नेपालमा पनि सरकारी तथा गैर सरकारी तहबाट विभिन्न कार्यक्रम गरी युवा दिवस मनाइएको छ ।
सन् १९९८ अगस्ट ८ देखि १२ तारिकसम्म संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको राजधानी लिसवनमा विश्वभरीका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको जमघट सहित विश्व युवा सम्मेलन भएको थियो । त्यस सम्मेलनले ८८ बुंदे युवा सशक्तिकरणका लागि लिसवन घोषणापत्र जारी गरेको थियो । लिसवन युवा सम्मेलन सम्पन्न भएको अगस्ट १२ को दिन पारेर प्रत्येक वर्ष युवा सशक्तिकरण, युवा जागरण र युवाको अधिकार र दायित्वबारे छलफल गर्ने गरी संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष युवा दिवस मनाउन थालिएको हो ।

२६ औं युवा दिवसका लागि संयुक्त राष्ट्रसंघले नारा तय गरेको थियोः “दिगो विकास र सुनौलो भविष्यको सार ः स्थानीय युवाको सहभागिता समृद्धिको आधार” । नेपाल सरकारले पनि संयुक्त राष्ट्रसंघको उपरोक्त नारालाई अनुशरण गर्दै श्रावण २१ देखि २७ गतेसम्म साताव्यापी युवा दिवस कार्यक्रम सम्पन्न ग¥यो ।

फरक फरक देशमा युवाको उमेर समूह फरक फरक मानिएको छ । नेपालमा राष्ट्रिय युवा परिषद् ऐन–२०७२ र राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहलाई युवा मानेको छ । २०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत हिस्सा अर्थात् १ करोड २४ लाख १२ हजार १ सय ७३ युवाहरु छन् । बंगलादेश र फिलिपिन्समा १५–३० वर्ष, भारतमा १६–२९ वर्ष, चीनमा १८–३५, जर्मनीमा १४–२६, दक्षिण अफ्रिकामा १५–२९ वर्षको उमेर समूहलाई युवा मानिएको छ ।

नेपालमा २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय स्थापना भएको थियो । नेपालमा राष्ट्रिय युवा परिषद् बनाएर त्यसमार्फत् युवाहरुलाई जागरुक र सशक्तिकरण गर्ने भनिएको छ । युवालाई सशक्तिकरण गर्दै उनीहरुलाई देश विकासको मेरुदण्ड बनाउने भने पनि त्यो कार्य विलकुलै हुन सकेको छैन । नेपाल सरकार युवा तथा खेलकुंद मन्त्रालयले अहिले “युथ भिजन–२०२५” तथा घोषणा गरेको छ । नेपाल युवा विकास सूचकांकमा १४५ औं स्थानमा छ । दक्षिण एसियाका मुलुकहरुसँग तुलना गर्दा नेपालको युवा विकास सुचकांक सबैभन्दा कमजोर छ ।

नेपालमा युवा नीति, युवा मन्त्रालय, युवाको काम गर्ने गरी राष्ट्रिय युवा परिषद् छन् । “भिजन–२०२५” घोषणा गरियो तर अहिले पनि युवाको अवस्थामा उल्लेखनीय परिवर्तन आएको छैन । युवाका लागि सस्तो, गुणस्तरीय शिक्षा पहिलो आवश्यकता हो । तर नेपालमा शिक्षा विभेदकारी छ । केही पैसा खर्च गर्न सक्ने युवाहरु सबै विदेशतिर हिंडेका छन् । निजीस्तरमा चलाएका कलेजहरुमा तथा सरकारी कलेजमा समेत विद्यार्थी न्यून हुदै गएका छन् । युवाहरुको लागि अर्को आवश्यकता रोजगारी हो । कृषिमा युवाहरु परिचालन गरी रोजगारी सिर्जना गर्ने सरकारको कुनै योजना छैन । नेपालमा उद्योग, कलकारखाना नभएको हुँदा उद्यमशिलताको वातावरण पनि नभएको हुँदा नेपाली युवाहरु विश्वको श्रम बजारमा पसिना, क्षमता, उमेर खर्च गर्न पुगेका छन् ।

देशको विकासका लागि स्वस्थ कला, साहित्य र मनोरञ्जन र खेलकुद युवाहरुलाई आवश्यकता पर्दछ । खेलकुँद क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेकाले खेलाडीहरुले आफ्नो क्षमताको विकास गर्ने अवसर पाएका छैनन् । लागु पदार्थ, दुव्र्यसनी र मानव तस्करीमा समेत युवाहरु लागेर भ्रष्ट भएका छन् । कुलतबाट हटाउने प्रचार गरेर मात्र हुँदैन, युवाहरुलाई क्रियाशील बन्ने सीपमूलक, जीवन उपयोगी शिक्षा र उचित प्रकारले रोजगारीको व्यवस्था गर्न सक्ने हो भने मात्र उनीहरुलाई कुलतमा जानबाट रोक्न सकिन्छ ।

देशमा दलाल–नोकरशाही पुँजीवादको शासन छ । यदि युवाहरुमा प्रगतिशील सोंचको विकास भयो भने शोषणमूलक शासनको अन्त्य हुने छ । शासकहरुलाई सबैभन्दा बढी युवा शक्तिबाट डर छ । प्रगतिशील युवा संगठनहरुले युवाहरुमा प्रगतिशील चिन्तनको विकास गर्न, अध्ययन, प्रशिक्षण, संगठन र आन्दोलनमा ध्यान दिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित