दूग्ध विकास संस्थानलाई डुब्नबाट बचाउ

दूग्ध विकास संस्थान अर्थान डिडिसी निकै समस्याबाट गुज्रेको छ । दूग्ध विकास संस्थान २०२६ साल श्रावण १ गते स्थापना भएको हो ,त्यसयता निरन्तर रुपमा चलिरहेको छ । डिडिसीमा लाखौं किसानहरुले दूध बिक्री गर्छन् । डिडिसीले देशभर १ हजार २ सय सहकारी संस्था मार्फत दूध संकलन गर्छ । दूध उत्पादक किसानहरुको रोजगारीको आधार पनि डिडिसी हो । संगठित रुपमा दूग्ध व्यवसायलाई बढी प्रभावकारी बनाई ग्रामीण कृषकहरुलाई आत्म निर्भर गराउने डिडिसीको स्थापना गर्नुको उद्देश्य रहेको थियो ।
डिडिसी सरकारी संस्थान सरकारले राम्रोसँग चलाउनु पर्ने हो । तर आफै धरासायी हुने दिशामा पुगेको छ । डिडिसीमा किसानहरुलाई दूधको रकम तिर्न समेत धौ हुँदै आएको छ । अहिलेसम्म किसानहरुको १ अर्ब बराबर बक्यौता तिर्न बाँकी नै छ । किसानहरुले रात दिन नभनेर मेहनत गरी उत्पादन गरेको दूधको रकम नपाउनु निकै दुःखदायी कुरा छ । किसानहरु भुक्तानीको माग गर्दै आन्दोलित छन् । किसानहरुले ७ महिनादेखि भुक्तानी पाइरहेका छैनन् ।
दूग्ध विकास संस्थान निरन्तर घाटामा छ । आर्थिक वर्ष २०८०÷ ८१ मा डिडिसीको खुद नोक्सान २३ करोड २२ लाख र सञ्चित नोक्सान २ अर्ब ७ करोड ८३ लाख रुपैया रहेको छ । निरन्तर रुपमा दूध बिक्री गर्दै आएको डिडिसी किन अरबौंको घाटामा गइरहेको छ त ? यसबारेमा गम्भीर अध्ययनको आवश्यकता छ ।
डिडिसीले उत्पादित वस्तुहरु बिक्री नभएको भनेको हुन्छ , उत्पादित बस्तुहरु बिक्री नभएको कारण किसानहरुको बक्यौता समेत तिर्न नसकेको बताउँछ । कर्मचारीको तलब र उपादानमा समेत किसानहरुको दूध बेचेको रकम बाट हुन्छ ।डिडिसीमा ८सय ५० कर्मचारी छन् । कर्मचारीको सेवा सुविधामा मासिक ३ करोड खर्च हुन्छ । वार्षिक रुपमा ३०देखि ४० कर्मचारी अवकास हुँदा १५–२० करोड उपादानमा खर्च हुन्छ ।
कुनै पनि संस्थान,व्यवसाय वा कम्पनीहरु चुस्त दुरुस्त रुपमा सञ्चालन हुनको लागि व्यवस्थापन देखि लिएर उपभोक्ताको अवस्था,बजारको प्रतिस्पर्धा सबै कुरालाई राम्रोसँग अध्ययन गर्नु आवश्यक छ र सोही अध्ययन अनुसार सञ्चालन गरेमा तिनीहरु दिगो र प्रभावकारी रुपमा अगाडि बढ्ने गर्छन्।
अहिले बजार प्रतिस्पर्धामा चलिरहेको छ निजी दूग्ध उद्योग तथा डेरीहरु राम्रोसँग चलिरहेका छन् । निजीले उपभोक्ताको मनोविज्ञानलाई बुझेर बजार बनाइरहेका छन् । डिडिसीको बजार गुम्दैछ । बजार गुम्नुमा व्यवस्थापनदेखि लिएर गुणस्तरको भूमिका रहन्छ । डिडिसीको दूध बिक्री नहुनुमा बाहिरबाट वैध या अवैध बाटो हुँदै दूध वा पाउडरहरुको आयात हुनु पनि हो । लुकिछिपी आउने पाउडरहरुले पनि दूध बिक्री हुने बजार खाइरहेका छन् ।
अहिले डिडिसी मात्रै होइन सरकारी संस्थान तथा सरकारी लगानीमा सञ्चालन भएको कम्पनीहरु डुबिरहेका छन् । सरकार निजीकरणमा लागिरहेको छ निजी डेरी तथा दूध कम्पनीहरु मौलाईरहेका छन् । सरकारी उद्योग धन्दा कलकारखानाहरु निजीकरण भइरहेका छन् । सरकारी स्वामित्वमा रहेका कम्पनी संस्थानहरु निजीकरण भइरहेका छन् । सरकार नै निरन्तर घाटामा रहेको बताउँदै वा चलाउन नसकिने बताउँदै निजीकरण गर्दै आएको छ । निजीकरणलाई प्रोत्साहन गर्नको लागि पनि डिडिसीलाई निरन्तर घाटामा लगिएको आशंका गर्न सकिन्छ ।
राजनीतिक हस्तक्षेप,कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कार डिडिसीलाई ओरालो लगाउने तत्वहरु हुन् । डिडिसीमा राजनीतिक हस्तक्षेप गर्ने चलनको अन्त्य हुनु पर्दछ । बजार व्यवस्थापनको विषयलाई प्रमुखताका साथ ध्यान दिन जरुरी छ ।
उपभोक्ताको मनोविज्ञान र आवश्यकतालाई मध्यनजर गरेर उत्पादन ,वितरण र व्यवस्थापनमा लाग्नु पर्दछ । वैध वा अवैधबाट आएका दूध, ,पाउडरलाई नियन्त्रण गर्न सरकारी संयन्त्रले ध्यान दिनु पर्दछ । उत्पादित सामानहरुको गुणस्तर खस्किन दिनु हुँदैन । डिडिसी जस्तो सरकारी संस्थानलाई जोगाउन सरकार, कार्यरत कर्मचारी,व्यवस्थापन देखि लिएर किसानहरु सबैले ध्यान दिनु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित